काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४औँ महाधिवेशनमा मिलाउन नसक्नुभएको ‘कोइराला परिवार भित्रको राजनीति’ व्यवस्थापनको सुरुआत गर्नुभएको छ । गत महाधिवेशनमा कोइराला परिवारका शीर्ष तीन नेता तीनतिर हुँदा सभापति शेरबहादुर देउवालाई रणनीतिक लाभ मिलेको थियो । १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहने घोषणा गरिसक्नु भएका शेखरले शुक्रबार बहिनी सुजातालाई आफ्नो समूहमा स्वागत गर्नुभयो । सो क्रममा शेखर-सुजाताले कांग्रेस र देशलाई निकास दिन कोइराला परिवार एकै ठाउँमा उभिने बताउनुभयो ।
बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थितिबीच सुजातालाई स्वागत गर्दै नेता कोइरालाले बहिनीका रूपमा नभई नेताका रूपमा स्वागत गरेको उल्लेख गर्नुभयो । देश र कांग्रेसको भन्दा व्यक्तिगत स्वार्थको चिन्ता गर्ने क्रम बढेको भन्दै उहाँले कांग्रेसभित्र आन्तरिक एकता मजबुत पार्न जरुरी रहेको उल्लेख गर्नुभयो । ‘गिरिजाबाबुले सहमति, सहकार्य र एकता भन्नुहुन्थ्यो । त्यो पार्टीहरूका बीचको कुरा भयो । म यसैलाई बृहत रूपमा भन्न चाहन्छु । पहिले पार्टीभित्र सहमति, सहकार्य र एकता जरुरी छ । यो त्यसैको सुरुआत हो’, कोइरालाले भन्नुभयो । उहाँले पार्टीभित्र लामो समय योगदान गरेको पुराना सबै नेताहरूलाई आफूले समेटेर अघि बढ्ने बताउनुभयो । विगतमा कोइराला परिवारभित्रै एकमत नभए पनि आगामी दिनमा सहकार्य गरेर जाने उहाँको भनाइ छ । ‘राजनीतिमा कहिलेकाहीँ यस्तो हुन्छ । अघिल्लो महाधिवेशनमा सुजाता, शशांक र म मिल्न सकेनौँ । अब हामी मिल्छौँ । पार्टीलाई एकताबद्ध बनाउँछौँ । शशांकसँग पनि संवाद गर्छु’, शेखरले भन्नुभयो ।
सो क्रममा नेतृ कोइरालाले पार्टी संकटमा पर्दै गएकाले नयाँ ढंगले एकताको प्रयास गर्नुपरेको बताउनुभयो । पछिल्लो समय कांग्रेस सत्तापरस्त बन्दा कार्यकर्तामा निराशा छाएको भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजान परिपक्व नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘यो पार्टीमा अहिले शेखर दाइले धेरै मिहिनेत गरिरहनु भएको छ । पार्टीलाई एकताबद्ध बनाउने र बिपी, गिरिजाबाबुको बेलामा जस्तो कार्यकर्ता संरक्षण गर्ने दायित्व अब शेखर दाइको हो । यसमा म साथ दिन्छु’, सुजाताले भन्नुभयो । उहाँले भाई शशांक कोइरालासँग पनि संवाद गरेर छिट्टै घोषणा गर्ने पनि बताउनुभयो । ‘शेखर दाइकोमा आज म आएँ । शशांक पनि आउनुपर्छ । हामी उहाँसँग पनि कुरा गर्छौं । पार्टी बचाउन कोइरालाहरू मिल्नुपर्छ’, सुजाताको भनाइ छ ।
कांग्रेसको २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार हुनुहुन्थ्यो भने सुजाता प्रकाशमान सिंह नेतृत्वको समूहबाट उपसभापतिको उम्मेदवार रहनुभएको थियो । दोस्रो चरणको चुनावमा प्रकाशमानसुजाता समूहले देउवालाई सघाउने निर्णय गरेको थियो । पूर्व-महामन्त्री डा.शशांक कोइराला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित हुनुभएको थियो । सो क्रममा शशांकले देउवा वा शेखर कुनै पनि समूहमा आफू नरहेको सन्देश प्रवाह गर्नुभएको थियो । गतसाता एक पारिवारिक कार्यक्रमका सन्दर्भमा शशांकको महाराजगञ्जस्थित निवासमा कोइराला परिवारका सदस्यहरूको भेटघाट भएको थियो । सो क्रममा पनि अधिकांशले कोइरालाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए । शशांकले आगामी महाधिवेशनमा आफैँ सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ । यस्तोमा कोइराला परिवारका नेताहरूबीच निरन्तर संवाद भए मात्रै सहकार्य हुने देखिन्छ ।
नेपाली कांग्रेसका पूर्व-मुख्यसचिव शोभाकर पराजुली कोइराला परिवारको एकताले कांग्रेसमा नयाँ सन्देश सञ्चार हुने बताउनुहुन्छ । ‘कांग्रेसमा कोइराला परिवारको आफ्नै उचाइ र स्थान छ । जुनसुकै समूहमा भएका नेता कार्यकर्ताको पनि कोइराला परिवारप्रतिको सद्भाव सम्मानित छ । त्यसैले कोइराला परिवार राजनीतिक रूपमा एक हुँदा कांग्रेसमा नयाँ सन्देश जान्छ’, पराजुलीले भन्नुभयो । उहाँले शेखर-सुजाता सहकार्य अब शशांकलाई पनि समेट्ने दिशामा केन्द्रित हुने बताउनुभयो ।
यसैबीच कांग्रेस नेता शेखर कोइरालाले पार्टीको महाधिवेशन विधानले निर्दिष्ट गरेकै समयमा हुनेमा आशंका व्यक्त गर्नुभएको छ । पार्टीका महानगर सभापतिहरू सँगको छलफलका क्रममा उहाँले विधानले चार वर्षमा महाधिवेशन हुने भनेको र २०७८ मंसिरमा ४ वर्ष पूरा हुने भए पनि महाधिवेशन सुनिश्चित हुनेगरी गतिविधि हुन नसकेको उल्लेख गर्नुभएको हो । उहाँले निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच