साउन छ गते साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४२औं स्मृति दिवस हो । नेपाली राजनीति र साहित्यमा कोइरालाले पुर्याएको योगदानको आफ्नै विशिष्ट मूल्य छ । बी.पी.का नामका एकदर्जन जति संस्थाहरूले आफ्नो क्षेत्रबाट काम गरिरहेका छन् भनिन्छ तर ती धेरै संस्थाहरूमध्ये केहीले राम्रै काम गरिरहेका भए पनि कतिपय संस्थाहरू मूल धारसँग असन्तुष्ट भएर थापिएका आआफ्नै भोकका पसल जस्ता भएका छन् । त्यस्ता संस्थाहरूले बी.पी.को विचार र दर्शनका विषयमा के कति बुझेका छन् ? र के कस्ता गतिविधि गरिरहेका छन् ? त्यो कुरा आउने समयले बताउला । जेहोस् बी.पी.को योगदानको व्याख्या हुँदै जानुपर्छ भन्ने हेतुले बी.पी.को समन्वयवादी दृष्टिकोणका केही सारभूत कुराहरूलाई सङ्क्षेपमा चर्चा गरिएको छ ।
समन्वयवादको ज्यादै विराट् परिभाषाका आँखाबाट हेर्दा कुनै पनि तत्व विरोधी लाग्दैनन् बरू सहयोगी लाग्दछन् । यहाँ प्रसङ्ग साहित्यकार बी.पी. कोइरालाको वैचारिक चिन्तन र उनको व्यवहाररूप कृतिहरूमा अभिव्यक्त विचारको सार कतातिर लक्षित छ भन्ने विषयमा केन्द्रित छ । वास्तवमा बी.पी. कुनै एउटा पक्ष, विचार र वादका पक्षपोषक मात्र नभएर वैचारिक र व्यावहारिक समन्वयका पक्षधर हुन् । त्यो कुरा उनका साहित्यिक कृतिमा स्पष्ट परिलक्षित भएको पाइन्छ । बी.पी.को समन्वयवाद र भगवद्गीताको समन्वयवादी चिन्तनको सार मिलेको छ । यही समन्वयवादको विराट् आलोकमा बी.पी.को जीवन र साहित्यको निर्माण भएको छ ।
बी.पी.ले एकातिर कर्मवादमा विश्वास गरेका छन् भने अर्कोतिर उनको कर्मवाद नियतिवादसँग समन्वय गरेर अघि बढेको छ । कर्मवाद र नियतिवाद पनि विरोधी धर्म हुन् । कर्ममा विश्वास गरिन्छ भने नियति स्वतः निस्क्रिय हुनुपर्ने हो ।
मेरो जीवनको थालनीदेखि नै राजनीति र साहित्य यी दुई तत्वले मेरो मनमा पूरा प्रभाव पारेकाले यी दुई तत्व अलग अलग अन्तःप्रेरणाका उपज भए पनि मेरो हृदयमा दौंतरी जस्तै भएर बसेका हुँदा म एक अर्काको प्रभावमा एक अर्कालाई बिर्सन सक्ने अवस्थामा थिइन र चाहन्नथेँ पनि भन्ने भनाइबाट बी.पी.को समन्वयवादी विचार, व्यवहार र चिन्तनधाराको अध्ययन प्रारम्भ गर्न सकिन्छ । बी.पी.कै शब्दमा अलग–अलग धर्म र चरित्रका यी दुई तत्त्वहरूलाई दौंतरी बनाएर सँगै लिएर हिँड्नु समाज र जीवनमा प्रकट गर्नु र एक अर्कालाई हस्तक्षेप नगरीकन सँगसँगै हिँडाएर दुवैतिर अनालोच्य प्रतिष्ठा प्राप्त गर्नु बी.पी.को जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो ।
बी.पी.ले धर्म, दर्शन, जीवन र व्यवहारमा धेरै ठाउँ समन्वयको सङ्केत गरेका छन् । त्यहाँ उनको विचार, सिद्धान्त, दृष्टिकोण कमजोर भएर केवल सम्झौताको निम्ति मात्र समन्वय भनेका छैनन् बरु आवश्यकताले, औचित्यले समन्वयको खोजी गरेका छन् । तार्किक, व्यावहारिक र जीवन जगत् सापेक्ष समन्वयको खोजी गर्नु बी.पी.को समन्वयवादी विशेषता हो जुन हाम्रो हकमा ज्यादै मौलिक प्रयत्न पनि हो । साहित्य र राजनीतिमा समन्वय आवश्यक छ कि छैन ? भनी सोधिएको प्रश्नमा बी.पी.ले ‘यी दुई विरोधी तत्व हुन् ।
राजनीतिले नियम कानुन बनाउँछ र आफू पनि कानुनको दायराभित्र अडिएको हुन्छ तर साहित्यका पनि नियम त हुन्छन् नै तर साहित्यकार उन्मुक्त हुन्छ’ भन्दै आफू पनि राजनीतिमा नियम आबद्ध अनुशासित नागरिक र साहित्यमा स्वतन्त्र अनि नियम बाहिर बस्ने भएकाले एक अर्थमा अराजक हुन चाहेको कुरा गरेका छन् । भौतिकवादलाई अँगाल्दा अध्यात्मवादको अभाव खट्किएको अनि कोरा अध्यात्मवादले मात्र पनि जीवनबोध गर्न नसकेको अवस्थामा बी.पी.ले दुवैको विचार र व्यवहारलाई समन्वय गर्न चाहेका छन् । म मन्दिर जान्न, धर्मकर्म गर्दिन, ईश्वर छ वा छैन भन्ने विषयमा बहस गर्न पनि चाहन्न, कुनै अलौकिक तत्त्व, वा शक्तिमाथि भरोसा पनि गर्दिन तर यी सबैमा विश्वास गर्नेहरूलाई पनि म सम्मान गर्छु ।
कुनै न कुनै अन्तःप्रेरणाले तिनीहरूको प्रवृत्ति त्यता हुन गएको प्रति मेरो अन्यथा विचार छैन । मलाई एक प्रकारले अध्यात्मवादी र अर्को प्रकारले अनध्यात्मवादी ठान्न सकिन्छ भन्ने कोइरालाले आपूmमा सँगसँगै अध्यात्मवादी र अनध्यात्मवादी विचारलाई समन्वय गरेर राखेका छन् । त्यस्तै एउटै व्यक्ति माक्र्सवादी र प्रजातन्त्रवादी कसरी हुनसक्छ ? भनी सोधिएको प्रश्नमा बी.पी.ले माक्र्सवादको पनि अन्तिम लक्ष्य प्रजातन्त्र नै हो । अझ सारमा भन्दा अन्तत्वगत्वा सबै विचारहरूको लक्ष्य नै एउटै भएको देखिन्छ भनेर विचारको सार समन्वय नै सबैको लक्ष्य हुनुपर्ने कुरालाई स्वीकारेका छन् । मानिसले तर्क, बुद्धि, विचार र कर्मका अतिरिक्त यी सबैले भ्याउन नसकिने नियतिसँग पनि आफूलाई समन्वय गरेर जानु पर्ने अनौठो यथार्थलाई पनि त्यत्तिकै इमानदारीपूर्वक स्वीकार गर्न पुगेका छन् ।
साहित्यको आदर्शलाई राजनीतिले अनुसरण गर्न सम्भव छ भनी सोधिएको प्रश्नमा बी.पी.ले साहित्यकारको दक्षता हरेक पक्षमा सामान्य मानव समाजको भन्दा धेरै बढी हुन्छ । राजनीति मानव समाजसापेक्ष हुन्छ । कतिपय साहित्यिक आदर्शको पूर्ण परिपालन राजनीतिमा कठिन हुन्छ तैपनि आदर्शको अनुसरण गर्ने यथाशक्य प्रयास भने भइरहनुपर्छ भनेर बी.पी.ले साहित्यिक आदर्श र राजनीतिक यथार्थलाई पनि समन्वय गरेरै हिँड्नु पर्ने सन्देश दिएका छन् । साथै आफ्नो जीवन यिनै मूल्य र आदर्शको सारांश हो भनेर त्यसको व्यावहारिक प्रयोग आपूm नै भएको स्वीकारोक्ति पनि दिएका छन् । मेरो राजनीतिक जीवन त्यही साहित्य र राजनीतिका बीचमा रहने द्वन्द्व र त्यो द्वन्द्वबाट उत्पन्न सामाजिक प्रगतिको आदर्शको अनुसरण गर्ने प्रयास हुन सक्छ भन्ने बी.पी.को धारणा रहेको छ ।
बी.पी.ले एकातिर कर्मवादमा विश्वास गरेका छन् भने अर्कोतिर उनको कर्मवाद नियतिवादसँग समन्वय गरेर अघि बढेको छ । कर्मवाद र नियतिवाद पनि विरोधी धर्म हुन् । कर्ममा विश्वास गरिन्छ भने नियति स्वतः निस्क्रिय हुनुपर्ने हो । नियतिको सम्बन्ध प्रकारान्तरले प्रारब्ध वा भाग्यसँग जोडिन आउँछ । भाग्यको भरोसामा पर्नेहरूले कर्ममा विश्वास नगर्न सक्छन् तर बी.पी.को नियति र कर्मका बीचको सम्बन्ध भगवद्गीताको प्रारब्ध कर्मवादी मान्यता जस्तै छ । जसरी गीतामा एकातिर सबै कुरा प्रारब्धले भइरहेको छ भनिएको छ अनि अर्कोतिर लोकोद्रयं कर्मबन्धन भनिएको छ । त्यस्तै बी.पी.ले मानिस आफूले कर्म गर्न स्वतन्त्र छ तर उसको त्यो स्वतन्त्रता नियतिको कठोर बन्धनमा बाँधिएको छ ।
त्यसैले नियतिनिर्दिष्ट यथार्थलाई उछिनेर अघि बढ्न सक्ने कर्मस्वतन्त्रता मानिसमा छैन भनेर नियतिवाद र कर्म स्वतन्त्रतालाई पनि समन्वय गरेर हेर्न चाहेका छन् । जसलाई एकातिर गीताको प्रारब्ध कर्मवादी मान्यताका आधारमा हेर्न सकिन्छ भने अर्कोतिर यो मान्यता बी.पी.को समन्वयवादी चिन्तनको मौलिक अवधारणा हो ।
बी.पी. कोइराला स्वतन्त्रता र नैतिकताका पक्षपाती व्यक्ति हुन् । स्वतन्त्रतालाई अँगाल्दा सामाजिक सम्बन्ध र नैतिकता नखल्बलियोस् भन्नेमा उनी सचेत छन् । उनले आपूm फ्रायडवादी हुँदाहुँदै पनि नैतिकताको पक्षधर रहेको कुरा स्वीकार्दै ‘म फ्रायडवादलाई मान्छु, म अझ त्यसमाथि नैतिकतामा पुगेको छु’ भनेर कोइरालाले यौनस्वतन्त्रतामा नैतिकता समन्वय भएको फ्रायडवाद आफ्नो मान्यता भएको तर्क गरेका छन् । यो कुरा उनका यौनिक रूपले आलोच्य ठानिएका कथा, उपन्यासका पात्र र घटनाहरूमा पनि राम्ररी पालन भएको छ । यो कुराले बी.पी.ले पाश्चात्य चिन्तन, व्यवहारमा पूर्वीय चिन्तन र व्यवहारको समन्वय गर्न चाहेको बुझिन्छ ।
उनले आफूलाई साहित्यमा अराजकतावादी र राजनीतिमा समाजवादी हुँ भनेका छन् र यी दुई व्यक्तित्वलाई उनले कति राम्ररी समन्वय गरेर एउटै जीवनमा स्वतन्त्र हिँडाउन सकेका छन् । दुई विरोधी धर्मलाई सँगसँगै उनीहरूको अस्तित्व जोगाएर, उनीहरूको धर्म बचाएर हिँडाउन सक्नु बी.पी.को समन्वयवादी चिन्तनको गहकिलो विशेषता हो । त्यति मात्र होइन समाजवादी चिन्तनको आर्थिक पक्षमा उनी माक्र्सवादको नजिक छन् र उनले त्यसलाई सहज किसिमले व्याख्या गर्दै ‘साम्यवादमा प्रजातन्त्र (स्वतन्त्रता) थपिदिए समाजवाद बन्छ अनि समाजवादबाट प्रजातन्त्र (स्वतन्त्रता) झिकिदिए साम्यवाद बन्छ’ भनेर आफ्नो मौलिक धारणालाई स्पष्टसँग राखेर आर्थिक समानताको पनि जग राजनीतिक स्वतन्त्रता हो जुन लोकतान्त्रिक समाजवादमा मात्र सम्भव छ भन्ने मान्यतालाई स्पष्ट व्याख्या गरेर देखाएका छन् ।
त्यो समाजवादी चिन्तन कुनै छुट्टै मुलुकको आयातित दर्शनमात्र भएर पुग्दैन त्यसलाई आफ्नो माटो सुहाउँदो पार्नु त्यस मुलुकका विचारक वा योजनाकारको दायित्वको कुरा हो भन्दै बी.पी.ले समाजवाद आफ्नो देशको परिस्थितिमा आधारित हुन्छ भनेर त्यसलाई देश, कालसापेक्ष समन्वय गरेर लैजानुपर्छ भन्ने मौलिक चिन्तनलाई अघि सारेका छन् । बी.पी.ले विरोधी धर्मका तत्वहरूलाई आपूmभित्र राख्नुलाई हामीले झट्ट सुन्दा कतै समन्वय र सम्झौताको बाटो लिएर कुनै क्रान्तिकारी परिवर्तनलाई अँगाल्न नसक्नुको परिणाम त होइन भन्ने तार्किक प्रश्न पनि उठ्ने सम्भावना देखिन्छ ।
त्यसभन्दा पर गएर गरिने सम्झौता पनि घातक हो साथै समन्वयको भित्री धर्म चलायमान तत्वहरूको पनि वस्तुधर्म सापेक्ष समन्वयमात्र हितकर हुन्छ अन्यथा सर्वत्र समन्वयको अर्थ रहँदैन । यस अर्थमा साहित्य र राजनीति जस्ता पारस्परिक विरोधी तत्वहरूबाट प्रेरितविरोधी प्रेरणा-तत्त्वहरू मानिसमा विद्यमान रहन्छन् सहज वृत्तिका रूपमा भन्ने बी.पी.को चिन्तनमा दुवै तत्व सहज अटाउने थिएनन् । समयले, परिस्थितिले, आवश्यकताले माग गरेको अनि क्रान्तिको बीज धर्मलाई बचाएर अस्तित्ववान् बन्न सक्ने समन्वय नै वास्तवमा बी.पी.को समन्वयवादी चिन्तन हो ।
बी.पी.को वैचारिकता समन्वयवादमा परिलक्षित हुन्छ भन्ने कुरा उनका विभिन्न समीक्षा धारणाहरूबाट पनि स्पष्ट हुन्छ । कुनै पनि प्रकारको अतिवादका विपक्षी बी.पी.ले समाज र जीवनमा सधैं मिलनबिन्दुको खोजी गरेको पाइन्छ ।
बी.पी.को राजनीतिक जीवनमा पनि समन्वयवादले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । उनी सम्झौतावादी भएर होइन सधैं जिम्मेवारीपूर्वक देश, जनता र प्रजातन्त्रका पक्षमा बोल्दा के कसरी हुन्छ यिनै पक्षको हित र संरक्षणको मुद्दालाई केन्द्रमा राखेरै राणा र राजासँग अधिकारको खोजी गरिरहे । ‘प्रजातन्त्र, मानवअधिकार र नागरिक स्वतन्त्रतामा कहीँ पनि सम्झौता हुँदैन । त्यसबाहेक राजा वा अन्य शक्तिसँग सहकार्यको सम्भावना रहन्छ’ भन्ने बी.पी.को धारणा रहृयो । यहाँसम्म कि ‘राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी एकै ठाउँ जोडिएको छ’, भन्दा भएका आलोचनाहरूले बी.पी.लाई विचलित तुल्याएन । ‘बरू मेरो त नागरिकको हैसियतले विराटनगरमा जग्गा जमीन छ तर राजाको त त्यो पनि ठाउँ छैन’ भनेर ज्यादै गम्भीर अनि जिम्मेवार अभिव्यक्ति दिने सामथ्र्य बी.पी.मा रहेको थियो ।
उनी यो देशका जिम्मेवार राजनेता थिए जसले सम्पूर्ण रूपले देश र जनताकै पक्षमा सधैं संघर्ष गरिरहे । आपूmमाथि जीवनभर दरबारबाट विभिन्न प्रकारका षड्यन्त्रहरू भइरहँदा पनि बी.पी.ले दरबारलाई निमिट्यान्न पार्नुपर्ने शत्रुजस्तो देखेनन् । कुबेर शर्मालाई दिएको एउटा अन्तर्वार्तामा ‘म आफ्नो मान्यतालाई आफ्नो प्राणको बाजी राखेर राजाको देशभक्तिको संवेदनशीलतालाई जगाउन चाहन्छु ।... विचारको समान रूपता नै एकताको बलियो आधार हो’ भनेर बी.पी.ले राजासँग समन्वय र सहकार्यको तर्कसङ्गत, औचित्यपूर्ण प्रस्ताव अघि सारेको पाइन्छ । त्यस्तै मनमोहन भट्टराईलाई दिएको अन्तर्वार्तामा बी.पी.ले ‘आजको मूल राष्ट्रिय समस्या हो राष्ट्रिय एकता ।
राष्ट्रिय एकता भन्नाले राजापक्ष र जनपक्षको विचारको नितान्त विश्वासको सम्बन्धलाई जनाउँछ अर्थात् राजमुकुट र प्रजातान्त्रिक शक्तिहरूका बीचको स्थायी एवं आश्चर्यपूर्ण एकता’ भनेर बी.पी.ले समन्वय र सहकार्यको आफ्नो राजनीतिक अभियानको परिचय दिएको पाइन्छ । यतिसम्म कि बी.पी.ले ‘राष्ट्रको उत्थानको आधार राजनीतिक, आर्थिक विकासमात्र होइन कला, साहित्य र संस्कृतिको पनि समान किसिमको उत्थान हुन र कला र सांस्कृतिक पक्षको मजबुती आवश्यक छ’ भनेरसमेत समन्वयवादी चिन्तनलाई बल प्रदान गर्न चाहेको बुझिन्छ ।
भोला चटर्जीले बी.पी., नेपालको राष्ट्रियताका पनि संरक्षक थिए, उनको व्यक्तित्वको उचाइकै बलले दरबारसमेत सुरक्षित थियो भन्ने ज्यादै गहिरो कूटनीतिक विचार राखेका छन्, यसबाट बी.पी.को समन्वयकारी व्यक्तित्वको पनि परिचय पाउन सकिन्छ । कुनै एउटा चिन्तन, एउटा बाटो वा एउटामात्र काम गर्नेगरी निर्धारण गरिएको जीवन एक पक्षीयमात्रै हुन्छ तर मानिसको जीवनको प्रकृति बहुआयामिक छ । त्यसैले भिन्न भिन्न युग, धर्म, कर्म र व्यवहारमा आफूलाई बाँड्दै अनि समेट्दै लैजाने जीवन राम्रो हो । किनभने विभिन्न धरातलमा रहन नसक्ने व्यक्ति पूर्णरूपमा बाँच्न सक्दैन भन्ने बी.पी.को जीवन दर्शन बहुआयामिक लाग्छ र ती विविध आयामको संयोग जीवन भएकाले जीवन समन्वयात्मक छ भन्ने आशय नै बी.पी.को जीवन दर्शनको निष्कर्ष हो ।
बी.पी. एकैपटक भौतिकवादी, अध्यात्मवादी र अज्ञेयवादी भएर तिनै तहको अनुभूतिको समन्वयमा बाँचेका व्यक्ति हुन् । जुन कुरालाई उनले धेरै ठाउँमा पटक-पटक भनेका पनि छन् । एउटैमात्र विचारको पछि नदौडिएर धेरै विचारहरूबाट एउटा विचार निर्माण गर्ने सामथ्र्य बी.पी.को मौलिक जीवन दर्शन हो । बी.पी.ले यो कुराको निचोडमा भनेका छन् ‘मलाई के लाग्छ भने म सबैको अंश हुँ ।’ धेरै सम्भावनालाई मैले स्वीकार गरेझैँ धेरै विचारको अंश मिलेर म बनेको छु भन्ने बी.पी.को समन्वयात्मक विचार पाइन्छ । देशकै हितको निम्ति बी.पी.ले राष्ट्रिय मेलमिलापको समन्वयवादी प्रस्तावलाई राजाका सामु प्रस्तुत गरेका थिए जसले बी.पी.को जिम्मेवार दृष्टिकोणको परिचय दिन्छ ।
बी.पी.को वैचारिकता समन्वयवादमा परिलक्षित हुन्छ भन्ने कुरा यी समीक्षा धारणाहरूबाट पनि स्पष्ट हुन्छ । कुनै पनि प्रकारको अतिवादका विपक्षी बी.पी.ले समाज र जीवनमा सधैँ मिलनबिन्दुको खोजी गरेको पाइन्छ । सबै खाले अतिवादी हठले मानिसलाई कुनै पनि लक्ष्यमा पुर्याउँदैन । लक्ष्यमा पुग्न बीचको बाटो हिँड्न खोज्नुपर्छ भन्ने बी.पी.को चिन्तनको सार सन्देश हो । जसलाई बी.पी.को गहकिलो समन्यवादी चिन्तन मान्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच