पोखरा । गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको तयारी र व्यवस्थापनका सम्बन्धमा उच्चस्तरीय बैठकको आयोजना गरी प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी लिँदै प्रतियोगितालाई भव्य बनाउने गरी तयारीमा जुट्न निर्देशन दिनुभयो ।
मुख्यमन्त्री पोखरेलले राष्ट्रिय खेलकुद संघीय सरकारको कार्यक्रम भए पनि गण्डकीमा हुन लागेकाले प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्ने जानकारी दिँदै भन्नुभयो, ‘राष्ट्रिय खेलकुदमा खेलाडी छनोटका लागि आवश्यक बजेटको प्रबन्ध गर्न सरकार तयार छ ।’
भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा शहरी विकासमन्त्री कुमार खड्काले संघ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषद्बाट निर्णय गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने जानकारी दिनुभयो ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराउनुभयो । प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापनलगायत कामका लागि पाँच करोड २० लाख आवश्यक पर्ने उहाँको भनाइ थियो ।
यसैबीच नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशले ३६ खेलमा सहभागी हुने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेल संख्याको टुंगोे लगाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय खेलकुदका सबै खेल स्पर्धामा सहभागी हुने निर्णय गरेको हो ।
यसअघि कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । कर्णालीले प्रतियोगितामा आफ्नो प्रदेशमा ५६० जनाको सहभागिता रहने उल्लेख गरेको छ ।
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य-सचिव टंकलाल घिसिङले ३८ खेलमा ६८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने जनाउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुनेछ । आठौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा भएका ३५ खेललाई निरन्तरता दिँदै रग्बी सेभेन ए साइड थपिएको छ । प्रदर्शनी खेलमा ठेलो र क्यानोइङ रहेका छन् ।
सदस्य-सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८०० खेलाडीसहित एक हजार प्रशिक्षक, ५०० व्यवस्थापक, ११४ संघका प्रतिनिधि र एक हजार निर्णायक सहभागी हुने जानकारी दिनुभयो ।
नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।
नवौँ खेलकुदमा भाग लिनका लागि जेठ १० गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने मिति राखेपले तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यसमा केही बजेट गण्डकी प्रदेशले पनि थप्नेछ । अपुग रकमका लागि सरकारसँग माग गरिने सदस्य-सचिव टंकलाल घिसिङले बताउनुभयो ।
नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच