भूमि आयोग जिल्ला समिति सिन्धुलीले बढायो सक्रियता, सात महिनामा उल्लेख्य प्रगति

Read Time = 4 mins

-राधिका बुढाथोकी
सिन्धुली । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले सक्रियता बढाएको छ । अघिल्लो समिति खारेज भएपछि पुर्न गठन भएको समितिले भूमिसम्बन्धि समस्या समाधान गर्न तिब्रता दिएको हो । रामकुमार पौडेलको अध्यक्षतामा गत माघ ५ गते बनेको समितिले विगतका आयोग, समिति र कार्यदलका बाँकी काम तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

समिति जिल्लाका भूमिहीन दलित, सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबास गरेकालाई व्यवस्थापन गर्ने प्रयोजनको लागि बनेको हो । सोहीअनुसार अहिले काम भइरहेको समितिले जनाइएको छ ।

आइतबार पत्रकार सम्मेलन गरि अध्यक्ष पौडेलले जिल्ला समितिबाट सात महिनामा भईगरेका कार्य प्रगतिको बारेमा जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘दुधौली नगरपालिका भित्रका १०६ घरधुरी भूमिहीन दलित, सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरियो । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकामा एक दिने जग्गा नाप जाँच तथा ऐन कानूनको विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गयौँ ।’
त्यस्तै, कमलामाई नगरपालिका–३ चपौलीका २६ घरधुरी र हरिहरपुरगढी गाउँपालिका–७ र ८ मा १ हजार २ सय ६७ घरधुरीलाई निस्का (प्रमाण) वितरण गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका, घ्याङलेख र गोलञ्जोर गाउँपालिकासँग प्रारम्भिक सम्झौता गरिएको छ । अघिल्लो समितिले कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकामा मात्र प्रारम्भिक सम्झौता गरेको थियो । ‘बाँकी पालिकाहरुमा प्रक्रिया नै सुरु भएको थिएन, हामिले जिरोबाट काम सुरु गयौँ,’ अध्यक्ष पौडेलले भन्नु भयो ।

हालसम्म जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका ३४ हजार ५ सय १३ निवेदन संकलन भएका छन् । त्यसमध्ये भूमिहीन दलित ८ सय ८६, भूमिहीन सुकुम्बासी १ हजार ६ सय ३१ परिवार र अव्यवस्थित बसोबास गरेका ३१ हजार ९ सय ९६ छन् । लगत संकलनका क्रममा दुधौली नगरपालिकामा सबैभन्दा बढी र घ्याङलेख गाउँपालिकामा सबैभन्दा कम आवेदन परेकोे छ । उक्त नगरपालिकामा ४ सय ६९ भूमिहीन दलित, ३ सय ९९ भूमिहीन सुकुम्बासी र १० हजार ९ सय ६६ अव्यवस्थित बसोबास गरेका छन् । त्यसैगरी, गाउँपालिकामा भूमिहीन दलित २, भूमिहीन सुकुम्बासी २३ र ४ सय ५० अव्यवस्थित बसोबास गरेकाको निवेदन संकलन भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?