नेकपा एसको पोलिटव्यूरो बैठकको यस्ता छन् निर्णयहरु

Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले जाने÷नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ ।

मंगलबार सम्पन्न पार्टी पोलिटव्यूरो बैठकले सो निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रिय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।

बैठकमा धेरैजसो नेताहरुले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

प्रवक्ता खतिवडाले भन्नु भयो, ‘बैठकले दुई वटा मुख्य निर्णय गरेको छ ।

पहिलो निर्णय, हाम्रो पार्टी सदैव वामपन्थीहरुको बीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतहरुलाई एक ठाउँमा ल्याउने कुरामा केन्द्र भागमा रहेर काम गर्ने कुरामा सधैंभरी प्रतिवद्ध छ । विगतमा पनि थियो, आज पनि छ । र, भोली पनि यो जिम्मेवारीलाई हाम्रो पार्टीले पूरा गर्नेछ । त्यसकारण यसका लागि हाम्रो केन्द्रिय पोलिटव्यूरो बैठकले हाम्रो केन्द्रिय सचिवालयलाई यस सम्बन्धि गृहकार्य गर्नका निम्ति अनुमति प्रदान गरेको छ । र, अव यो काम केन्द्रिय सचिवालयले संयोजन गर्दै अगाडि बढाउनेछ ।'

यसैगरी अर्को निर्णयका विषयमा उहाँले भन्नुभयाे, ' आज भईरहेको नयाँ गठबन्धन सरकारको बारेमा हामीले व्यापक छलफल गरेका छौं । र, अन्त्यमा निर्णय गरिएको छ–यसबारेमा थप आवश्यक अध्ययन गर्नुपर्ने, छलफल गर्नुपर्ने, विचार विमर्श गर्नुपर्ने र यसले देश र जनताको हितमा के–कस्ता कार्यक्रमहरु ल्याउन सक्छ ? र, हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के–कस्तो रहनेछ ? भनेर अझ धेरै कुरा बुझ्नुपर्ने भएकाले यसको अन्तिम निर्णय गर्नका लागि पनि केन्द्रिय सचिवालयलाई पोलिटव्युरोले अधिकार प्रदान गरेको छ । यसबारे पार्टी संगठन सृदुढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, सदस्यता विस्तार, पार्टी भित्र आर्थिक आत्मनिर्भरताको अभियान संचालन गर्ने आदि विषयहरुमा पनि व्यापक छलफल गरेका छौं । र, यी सबै विषयहरुको कार्ययोजना बनाउन पनि पार्टीको केन्द्रिय सचिवालयलाई बैठकले अनुमति प्रदान गरेको छ ।’

त्यसैगरी बैठकले वामपन्थी पार्टीहरुबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रिय सचिवालयलाई नै प्रदान गरेको छ । केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताउनु भयो । पार्टी भित्र संगठन सुदृढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढने निर्णय पनि पोलिटव्यूरो बैठकले गरेको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?