‘बच्चा चोर’को हल्लामा कुनै सत्यता छैन: प्रहरी

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । बाराको निजगढ नगरपालिकामा ‘बच्चा चोर’ को हल्लामा कुनै सत्यता नरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा रौतहट, पर्सालगायत तराई मधेशमा भारतबाट आएका मानिसहरूको समूहले बच्चा चोर्ने गरेको र प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही गरेको भन्ने खाले भिडियो तथा तस्बिरहरू भाइरल भइरहेको छ ।

विशेषगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट देशका विभिन्न सहरहरूमा समूह नै बनाएर मानिसहरू आउने, कतिपय पुरुषहरू महिलाको भेषमा आउने र बच्चाहरूलाई खानेकुरा दिएर फकाउने गरेको भन्दै भिडियो र फोटोहरू पोष्ट गरिएका छन् । ती पोष्टहरु धेरै मात्रामा सेयर पनि भइरहेको छ ।

तर, निजगढ प्रहरीले भने ‘बच्चा चोर’ को बिगिबिगी केबल हल्ला मात्र भएको बताएको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक संजिव ओलीले  स्थानियले बच्चा चोरको आरोपमा समातेर प्रहरीलाई बुझाएकाहरूको अनुसन्धान गर्दा त्यस्तो केही नपाइएको बताउँनुभयाे ।

उहाँका अनुसार बिहीबार निजगढ नगरपालिका-८ बाट स्थानीयले बच्चा चोरी गर्न लागेको आरोपमा पक्राउ गरेपश्चात प्रहरीमा बुझाएका ब्यक्ति सोही क्षेत्र वरपर केही दिनदेखि मागेर हिँडिरहेका थिए ।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दा बच्चा चोरी गर्ने कुनै नियत नदेखिएको बताएको छ ।

‘यस्ता विषयमा नागरिक सचेत हुनु एकदमै राम्रो हो,’ निरीक्षक ओलीले भन्नुभयाे, ‘तर धेरै सशंकित भएर कसैलाई आक्रमण गर्दा अर्को दुर्घटना हुन सक्छ । त्यसैले शंकाको भरमा कसैलाई कुटपिट नगर्न र आवश्यक परे प्रहरीलाई खबर गर्न आग्रह गर्छु ।’

‘बच्चा चोर’ को आरोपमा प्रहरीमा बुझाइएका र स्थानीयले कुटपिट गरेका अधिका‌ंश व्यक्तिहरू मागेर खाने, मानसिक सन्तुलन ठिक नभएका रहेकाे प्रहरीले जनाएकाे छ ।

‘बच्चा चोर’ को आरोपमा नौलो मानिसहरूलाई समात्ने, कुटपिट तथा दुर्व्यवहार गर्ने प्रवृत्ति छिमेकी जिल्लामा बढेपछि त्यसतर्फ नागरिक सचेत हुनुपर्ने स्थानीयको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?