म्याग्दी । मार्ग ‘ट्र्याक’ खुलेको १७ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको यात्रा सधैंभरी सकसपूर्ण बन्ने गरेको छ ।
कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको उक्त सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नाका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको दानाका व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडक हिउँद वा वर्षा जहिले पनि जोखिम पूर्ण रहने गरेको शेरचनले बताउनुभयो । ठाउँ ठाउँमा गएको पहिरोका कारण गत शुक्रवार देखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि सोमबार (हिजों) साँझदेखि सञ्चालन भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । केही दिनअघि घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले वर्षा रोकिएपछि पहिरो पन्छाएर यातायात सञ्चालन गरिने जानकारी दिनुभयो ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको बेनी–जोमसोम सडकमा सवारी चालक मेखबहादुर विकले बताउनुभयो ।
रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिराले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध हुने गरेको उहाँले बताउनुभयो । बैसरीमा दैनिकजसो खस्ने पहिराले उक्त सडकको यातायात सेवा बन्द हुने गरेको छ ।
सडक माथिबाट पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समयसम्म सडकमै बस्नुपरेकाले समयमै गन्तव्यमा पुग्न पाएका छैनन् ।
सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ ।
तीन वर्षअघिदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो । वैकल्पिकरुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ भने जिप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग आएका छन् । वैकल्पिक सडक पनि जीर्ण, साँघुरो र जोखिमयुक्त छ ।
बाढीपहिराका कारण सो सडकखण्डको तीन ठाउँमा लेदो माटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् ।
उक्त सडकखण्डअन्र्तगत रघुगङ्गा गाउँपालिका–३ को बैसरी, अन्नपूर्ण गाउँपालिका–३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङ्गे भीरमा सडकको अवस्था दयनीय र डरलाग्दो रहेको दानमा होटल व्यवसाय गर्दै आउनुभएका व्यवसायी सुवर्ण खत्रीले बता उनुभयो ।
यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नाका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने गाडी चालक टेकबहादुर विकले बताउनुभयो ।
उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत ७ वर्षदेखि स्तरोन्नति र चार वर्षदेखि कालोपत्रको काम सुरु भएको छ तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रतिनिधि समेत रहनुभएको इन्द्रसिंह शेरचनले बताउनुभयो ।
भीरकोट र बाँदरजुङ्गे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताउनुभयो ।
बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि योगदान पुग्ने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्वीर) ले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच