जीविकोपार्जनको माध्यम बन्दैछन् परम्परागत पानीघट्ट

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । परम्परागत रुपमा ग्रामीण क्षेत्रमा अन्न पिसानीका लागि प्रयोग हुँदै आएका पानीघट्ट म्याग्दीमा कतै लोप हुँदै गएका छन् भने कतै जीविकोपार्जनको माध्यम पनि बन्दै गएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङको बेँसी गाउँकी चित्रमायाँ पुर्जालाई पानीघट्टमा अन्न पिसानी गर्न भ्याइनभ्याई हुन्छ । गाउँभरी ठूला विद्युत आयोजना रहेको नारच्याङमा आधुनिक मिलभन्दा स्थानीयले चित्रमायाँको पानीघट्टमानै रोज्ने गरेका छन् ।

पानी घट्ट चलाउँदै आइरहेकी चित्रमायाँलाई विहानदेखि बेलुकीसम्म घट्ट चलाएर फुर्सद नै हुदैन । स्थानीयले उत्पादन भएका अन्नबालीलाई पिस्न अझै परम्परागत पानी घट्ट नै रोज्ने गरेको उहाँको भनाई छ ।

“दिनभर अन्न पिस्ने गर्छु, छिमेकी गाउँबाट पनि घट्टबाटनै पिस्ने भन्दै पठाउँछन्” उहाँले भन्नुभयो । नारच्याङ झरनाको पानी उपयोग गरी सञ्चालन गरेको मिलका लागि कुलो र अन्य संरचना बनाउन करिब १ लाख खर्च भएको पुर्जाले जानकारी दिनुभयो ।

उहाँको घट्टमा दैनिक १५ जनाभन्दा बढि अन्न पिस्न (पिसानी गर्न) का लागि आउने गरेको उहाँले बताउनुभयो । “घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुन्छ” चित्रमायाँले भन्नुभयो ।

मकै, गहु, कोदो लगायतका अन्न घट्टमा नै पिस्नेबाट प्रति पाथी १ माना र नगद २० रुपैयाँ लिने गरेको उहाँले बताउनुभयो । “पानी घट्ट प्रमुख आयस्रोत भएकाले घरखर्च घरखर्च चलेको छ । बेँशी गाउँदेखि नारच्याङ झरनाको भ्यू-पोइन्टमा प्रवेशद्धारमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्ने गरेका छन्” पुर्जाले बताउनुभयो । नारच्याङसँगै दानामा समेत पानीघट्ट सञ्चालमा रहेको छ । बिजुलीको सुविधासँंगै जिल्लाभित्रका सबैजसो पानीघट्ट विस्थापित भएपनि नारच्याङ र दानामा पानीघट्ट निरन्तर सञ्चालित छन् । ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानीका लागि पानी घट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो । अहिले पुरानो पानी घट्ट, जाँतो र ओखलको अस्तित्व हराउँदै गएको छ ।

आधुनिक प्रविधिको प्रयोगले लोप हुँदै रैथाने प्रविधि

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा र प्रयोगमा ल्याउन नचाहँदा म्याग्दीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानी घट्टलगायतका मौलिक सम्पदा लोप हुँदै गएका छन् ।

एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानी घट्ट,ढिकी,जाँतो,ओखल,कोल लगाएतका रैथाने प्रविधिहरु अहिले लोप हुँदै जान थालेका हुन् । पानी घट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको हो ।

गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रुपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिलनै यसको उचित विकल्प बनेको छ । खासगरी पानी घट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो ।

अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानी घट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ ।

मालिका गाउँपालिका-२ रुम गाउँका स्थानीयवासीले केही वर्ष अगाडिसम्म पानी घट्टमै आटोपिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई/तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन् । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन् भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् ।

मिलको बढ्दो प्रयोग हुन थालेपछि पानी घट्ट प्रयोग हुन छाडेको स्थानीयवासी रणबहादुर बुढाको भनाइ छ । उनले पहिले-पहिले पानी घट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानीपिसानीको लागि जाने गरेको उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानी पिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानी घट्ट हराउन थालेका हुन् । गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानी पिसानी मिलकै कारण पानी घट्टको माग कम हुँदै गएको दुई दशकदेखि पानी घट्ट सञ्चालन गर्दै आएका मालिका गाउँपालिका वडा नं २ रुमका पृथु विकले बताउनुभयो ।

त्यसका साथै एक दशक अघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अङ्गजस्तै बनेको पानी घट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेकाले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने म्याग्दीको इतिहास तथा संस्कृतिका अध्येता कृष्णबहादुर बानियाँले बताउनुभयो ।

पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जगेर्नाका लागि स्थानीय सरकार पनि चनाखो रहनुपर्ने बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा, रुम, ओखरबोट र उत्तरी क्षेत्रका नारच्याङ,दाना लगायतका गाउँमा फाटफुट पानी घट्ट चल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?