काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसको महिला भलिबल टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत संघ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको सुनाउनुभयो ।
उहाँले खेलकुदको क्षेत्रमा रुस अग्रपंक्तिमा रहेको बताउनुभयो । दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताउनुभयो ।
प्रधानमन्त्रीले रुसको प्रसिद्ध ‘ग्रेट मस्को सर्कस’ र नेपालको मौलिक नृत्य, ‘अर्केष्ट्रा’ संस्कृतिको आदानप्रदानमा निरन्तरता हुनुपर्नेमा जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा नेपालका लागि रुसी राजदूतावासका प्रथम सचिवले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र खेलकुदलगायत क्षेत्रको सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
भलिबल संघले आगामी २०८२ जेठ ८ मा पर्यटन वृद्धिमा समेत योगदान दिने लक्ष्यका साथ सगरमाथा आधार शिविरमा राष्ट्रिय भलिबल दिवस मनाउने तयारी गरेकाले त्यसमा नेपाल सरकारबाट सहयोगको अपेक्षा गरेको थियो । महासचिव श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रियस्तरको कभर्डहल निर्माणका लागि आग्रह गर्दा प्रधानमन्त्री ओलीले निर्माण गर्न पहल गर्ने बताउनुभएको थियो ।
सो अवसरमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समितिका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।
रुसी महिला भलिबल टिम दुई मैत्रीपूर्ण खेलका निम्ति नेपाल भ्रमणमा आएको हो । काभा महिला भलिबल नेसन्स लिगको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न नेपाल आएकोे रुसले दुवै खेल जितेको छ । पहिलो सेट २५-१४ ले सहजै गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा भने प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो । नेपालले दोस्रो सेट २५-२३ ले गुमायो ।
तेस्रो सेटमा रसियन टोलीविरुद्ध केही अग्रता बनाए पनि २५-२२ ले गुमाउन पुग्यो । नेपाल आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि सोझो सेटमा पराजित भएको थियो ।
रुसी टिमले नेपाली राष्ट्रिय महिला भलिबल टिमसँग आइतबार र सोमबार दुई खेल खेलेको थियो । नेपालस्थित रसियन दूतावासको सहयोगमा नेपालले मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको हो ।
काभा नेसन्स लिगको तयारीमा रहेको नेपालले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । काभा साउन १७ गतेदेखि घरेलु मैदानमा सुरु हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच