स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

हिमालय टाइम्स
Read Time = 3 mins

धनकुटा । पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका-६ मा ११ रोपनी  क्षेत्रफलमा रु २० कारोड लगानीमा स्काइ वाक टावरको शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।

टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्नेमा यहाँका पर्यटन व्यवसायीहरु आशावादी बनेका छन् । होटल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले टावर सञ्चालनपछि पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । “टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ, अब यहाँका होटलको व्यापार सुधार हुने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो ।

लामो समयदेखि होटल व्यवसायमा संलग्न होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले होटलको व्यापारसँगै यस क्षेत्रको कृषि उपज बेचबिखनमा समेत सहयोग पुग्ने बताउनुभयो ।

होटल सङ्घका भेडेटारका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले पनि यहाँ सञ्चालित एक सयभन्दा बढी ठूला होटललाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

गर्मीमा तराईबाट यहाँ आउने पर्यटकहरुको धेरै हुने गरेको छ । चुरे पहाडमा अवस्थित यस भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृष्य एकैसाथ हेर्न पाइन्छ । होटल सङ्घका अनुसार दृश्यावलोकनका लागि भेडेटारमा दैनिक पूर्वी भारत र नेपालका विभिन्न स्थानबाट दुई हजारभन्दा बढी पर्यटकहरु आउने गरेका छन् ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले टावर सञ्चालनमा आएपछि यहाँको पर्यटन विकासमो टेवा पुग्ने बताउनुभयो । हाल भेडेटारमा साना र ठूला गरी दुई सयभन्दा बढी होटल सञ्चालनमा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?