ललितपुर । कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा वरदान भन्ने नाराका मंगलबार ललितपुरमा चौथो कोदो दिवस मनाइएको छ । ललितपुरको खोकनामा कोदो रोपण गरी कोदो दिवस मनाइएको हो । सो अवसरमा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले आगामी वर्ष साउन १५ लाई सरकारले राष्ट्रिय रूपमै कोदो दिवस मनाउने घोषणा गर्नुभएको छ । विभिन्न संघ संस्थासँगको सहकार्यमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एग्रिकल्चर जर्नालिष्ट एसोसिएसन नेपाल (अनाज)द्वारा संयुक्त रूपमा आयोजित कोदो दिवसमा मन्त्री अधिकारीले यस्तो घोषणा गर्नुभएको हो ।
कृषिमन्त्री अधिकारीले आगामी वर्षदेखि साउन १५ लाई सरकारले राष्ट्रिय रूपमै कोदो दिवस मनाउने बताउनुभएको छ ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘गैरसरकारी क्षेत्रबाट तपाईंहरूले साउन १५ लाई कोदो दिवसका रूपमा मनाउँदै आउनुभएको छ । यसलाई राष्ट्रिय रूपमै घोषणा गर्न म प्रयास गर्छु, यो प्रस्ताव म मन्त्रिपरिषद्मै लिएर जानेछु ।’ महासंघले जेठमै कोदोलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गर्न कृषि विभागलाई प्रस्ताव पेश गरेको थियो । सोही प्रस्तावअनुसार मन्त्रालयले सरोकारवालासँग छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको मन्त्री अधिकारीले जानकारी गराउनुभयो । उहाँले आफू पनि सानैदेखि कोदोकै परिकार खाएर हुर्किएको भन्दै बहुगुणी कोदोको प्रवद्र्धनमा जोड दिनुभएको थियो ।
राष्ट्रिय कृषक समूह महासंघका निवर्तमान अध्यक्ष नवराज बस्नेतले ‘कु’ अन्नका रूपमा चिनिने कोदो आज बहुगुणी खाद्यान्नका रूपमा परिचित रहेको भन्दै कोदोको संरक्षण र उत्पादन बढाउन सबै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महासंघ र अनाजले मात्र यसलाई प्रवद्र्धन गर्न सम्भव छैन । यसका लागि सरकारले पनि विशेष पहल गर्नुपर्छ ।’
कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेलले भविष्यमा खाद्य संकट हुने भन्दै समयमै कोदो संरक्षण गरेर आयात प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदो संरक्षण गर्नका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताउनुभयो । कोदोलाई सम्मान गर्न र स्थानीय तहहरूमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउनुपर्ने उहाँको भनाइ थियो ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्चक्रसँगै स्कुल पढ्ने बालबालिकाहरू कुपोषणजन्य रोगमा फसेको भन्दै कुपोषण र रोगहरूबाट बच्न कोदोजन्य बालीको उत्पादन प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
रैथाने बालीका रूपमा रहेको कोदो बालीको संरक्षण, सम्वद्र्धन तथा उत्पादनमा वृद्धिका लागि किसान समूह र सरोकारवाला निकायले कोदो दिवस मनाउन थालेका हुन् । संयुक्त राष्ट्र संघले २०२३ देखि अन्तर्राष्ट्रिय रूपमा दिवस मनाउने घोषणा गरेको थियो ।
यसैबीच कृषि तथा पशुपक्षी विकासमन्त्री अधिकारीले विषादी प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गर्नुभएको छ । मंगलबार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनीकरण गर्न आग्रह गर्नुभएको हो । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउन उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पु¥याउन आफूले सक्दो प्रयास गर्ने मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले रैथाने बालीलाई बेवास्ता गरेका छौँ । विकासे बालीमा रोग किरा लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन । मल प्रयोग नगरी सुख छैन । त्यसैले रैथाने बालीमा जोड दिँदै विषादी रसायन मललाई न्यूनीकरण गर्दै जानुपर्ने आवश्यकता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच