चान्द्र महिनाको एघारौं तिथि वा दिनलाई एकादशी भनिन्छ । एक चान्द्रमासमा दुई एकादशी पर्ने गर्दछन् । एकादशीलाई सबैभन्दा पवित्र दिनमा रूपमा लिइन्छ र व्रत उपवास गर्ने शास्त्रीय मान्यता पनि रहेको छ । एकादशीको व्रत धारण गर्नाले इह लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ । यसैले एकादशीमा विधिविधानपूर्वक व्रतधारण गर्ने सनातन परम्परा रहेको छ । यसरी एकादशीको व्रत उपवासका निम्ति कुन दिन उपयुक्त हो भन्ने निर्णयार्थ भने भिन्न भिन्न मत पाइन्छन् । सोही मतका कारण कहिलेकही स्मार्त र वैष्णव एकादशीव्रत पात्रामा भिन्न भिन्न दिन लेखिएको हुन्छ ।
वृञ् वरणे धातुमा अतच् प्रत्यय लागेर व्रत शब्दको निर्माण हुन्छ (शब्दकल्पद्रुम) । जसको अर्थ उपवासादि पुण्यकर्म भन्ने हुन्छ । ‘केचित्स्वकर्तव्यविषयो नियतः संकल्पो व्रतमिति’ (व्रतराज, पृ.२) अर्थात् कुनै कर्तव्य विशेषका निम्ति संकल्पपूर्वक गरिने कार्य नै व्रत हो भनी व्रतराजमा परिभाषा गरिएको छ । पूजा आदिको कर्म विशेष नै व्रत हो भनी धर्मसिन्धुमा बताइएको छः ‘पूजाद्यात्कमः कर्मविशेषो व्रतम् ।’ (धर्मसिन्धु) यसैगरी प्रातःकालीन आहार नखाई स्नानपूर्वक शुद्ध भई भगवद् भक्तिमा लाग्ने कार्यलाई निर्णयसिन्धुले व्रत भनी परिभाषित गरेको छ । यसरी भगवद् भक्तिमा लागी व्रतबस्ने मध्येको एक उत्तम दिन एकादशी हो ।
स्मार्तको अर्थ स्मृतिलाई अनुसरण गर्ने भन्ने हुन्छ । वेदोक्तकर्मलाई अपनाउने नै स्मार्त हुन् । देवता वा ऋषिहरूले रचना गरिएको श्रुतिको आशय भएका सनातन हिन्दुका धर्मग्रन्थ स्मृति हुन् जसमा आश्रम, व्यवहार, कानुन आदिको वर्णन गरिएको हुन्छ ।
हरेक तिथिमा एक देवताको व्रत उपासना गर्न सकिन्छ । प्रत्येक तिथिका स्वामी देवता बताइएको छ : प्रतिपदादि तिथिका स्वामी क्रमशः प्रतिपदाका अग्नि, द्वितीयाका ब्रहृमा, तृतीयाका गौरी, चतुर्थीका गणेशजी, पञ्चमीका सर्प, षष्ठीका स्कन्द (कार्तिकेय), सप्तमी तिथिका सूर्य, अष्टमी तिथिका शिव, नवमी तिथिकी दुर्गादेवी, दशमीका यमराज, एकादशीका विश्वेदेव (पितृका देवता), द्वादशी तिथिका हरि (विष्णु भगवान्), त्रयोदशीका कामदेव, चतुर्दशी तिथिका शिवजी, पूर्णिमा तिथिका चन्द्रमा र औँसी तिथिका पितृ स्वामी हुन् ।
‘तिथीशा वहिृनकौ गौरी गणेशोद्रहिर्गुहो रविः ।
शिवो दुर्गान्तको विश्वे हरिः कामः शिवः शशी ।।’ (मुहूत्र्तचिन्तामणि, १।३) एकादशीमा उपासना गरी द्वादशी (विष्णु भगवान्को तिथि) मा पारायण गर्ने एकादशी व्रतका विधि विधान पाइन्छन् । एकादशी व्रत सबैलाई अनिवार्य गरिएको छ :
‘गृहस्थो ब्रह्मचारी च अहिताग्निस्तथैव च ।
एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि ।।’ (लिङ्गपुराण) गृहस्थी, ब्रहृमाचारी एवं सात्विकीले दुबै पक्षका एकादशीको व्रत धारण गर्नुपर्दछ भन्ने लिङ्पुराण्को वचन छ । यसरी व्रत धारण गर्नाले वैकुण्ठलोक प्राप्त हुने मान्यता रहेको छ : ‘दशम्येकादशी यत्र तत्र नोपवसेद्बुधः । अपत्यानि विनश्यन्ति विष्णुलोकं न गच्छति ।।’ (वसिष्ठस्मृति) यसरी एकादशीमा व्रत कुन दिन लिने भन्ने बारेमा भने स्मार्त र वैष्णव मत भिन्न भिन्न पाइन्छन् ।
स्मार्त परिचय
स्मार्तको अर्थ स्मृतिलाई अनुसरण गर्ने भन्ने हुन्छ । वेदोक्तकर्मलाई अपनाउने नै स्मार्त हुन् । देवता वा ऋषिहरूले रचना गरिएको श्रुतिको आशय भएका सनातन हिन्दुका धर्मग्रन्थ स्मृति हुन् जसमा आश्रम, व्यवहार, कानुन आदिको वर्णन गरिएको हुन्छ । (संस्कृत-नेपाली शब्दकोष, पृ.१४७६) । वेदको अर्थलाई विस्तापूर्वक बताउने ऋषिले स्मृतिग्रन्थ प्रदान गरेका छन् : मनुस्मृति, याज्ञवल्क्यस्मृति, अत्रि स्मृति, हारीत, कात्यायन, पराशर, व्यास, नारद, भृगु, वसिष्ठ, आपस्तम्ब, भृगु, पाराशरस्मृति आदि । गणेश, देवी दुर्गा, शिव, विष्णु तथा आकाशमा विचरण गर्नेवाला सूर्यादि नवग्रह देवताके नित्य पूजा गर्ने गौमाता, ब्राहृमण, सन्त, देवता तथा शास्त्रप्रति भक्ति राख्ने, वेदविरोधी मतलाई खण्डन गर्नसक्ने स्मार्त हुन् ।
वेदान्तका अनुयायी स्मार्त हुन् भनी यसरी परिभाषित गरिएको छ : ‘अद्वैते हि मतिर्येषां गतिश्चाद्वयब्रहृमणि ।
रतिश्चाखिलवेदान्ते ते वै स्मार्त्तधुरन्धराः ।।’ अर्थात् जसको अद्वैत मति छ, जसको अद्वैत ब्रहृम नै एक गति छ, समस्त वेदान्त (उपनिषद्, ब्रहृमसूत्र, गीता आदि) जो अनुक्त छन् ती निश्चय नै स्मार्त हुन् । यसैगरी स्कन्दपुराणमा वेद वेदाङ्ग, पुराणअनुसार चल्नेलाई स्मार्तको संज्ञा दिइएको पाइन्छ :
‘केद्रपि चाग्निसमाधानाः केद्रपि स्मार्ता निरन्तरम् ।।
पुराणन्यायवेत्तारो वेदवेदाङ्गवादिनः ।।३।।
सुखेन स्वान्सदाचारान्कुर्वन्तो ब्रहृमवादिनः ।।
एवं धर्मसमाचारान्कुर्वतां कुशलात्मनाम् ।।४।।’ (स्कन्दपुराण, ३।४०।४)
यसैगरी वेदले बताएका विरुद्ध कर्मको विरोध गर्ने वैदिक नै स्मर्त हुन् भनी श्राद्धतत्त्वम्मा बताइएको छ : ‘श्रुतिस्मृतिविरोधे तु श्रुतिरेव गरीयसी । अविरोधे सदा काøर्यं स्मात्र्तं वैदिकवत् सता ।।’ (श्राद्धतत्त्वम्) वेदोक्त कर्म गर्ने नै स्मार्त हुन् भनी मनुले पनि बताएका छन् : ‘आचारः परमो धम्र्मः श्रुत्युक्तः स्मात्र्त एव च । तस्मादस्मिन् सदा युक्तो नित्यं स्यादात्मवान् द्विजः ।।’ (मनुस्मृति)
वैष्णव परिचय
विष्णुलाई इष्टदेव मानेर उपासना गर्ने अनुयायी वैष्णव हुन् । वैष्णवमा केवल एक देवताको मात्र उपासना हुने गर्दछ । वैष्णवका पनि दश भेद पाइन्छन् : वैखानस, राधावल्लव, गोकुलेश, वृन्दावनी, पञ्चरात्र, वीरवैष्णव, रामानन्दी, हरिव्यासी, निम्बार्क र भागवतसंयोगी । (संस्कृत-शब्दकोश) भविष्यपुराणमा दानवीय यन्त्रलाई परास्त गरी वैष्णव सम्प्रदायका विभिन्न मार्ग भएको चर्चा पाइन्छ । वैष्णवको लक्षणका बारेमा निर्णयसिन्धुमा यसरी बताइएको छ : ‘विष्ण्वर्पिताखिलाचारः स हि वैष्णव उच्यते ।।’ (निर्णयसिन्धु, प्रथमपरिच्छेद, पृ.७१) अर्थात् आफ्नो सम्पूर्ण आचार विचार विष्णु भगवान्लाई समर्पण गर्ने र वैष्णवी दीक्षा लिएको मानिसलाई वैष्णव भनिन्छ । यसरी एक विष्णुभगवान्लाई मात्र मान्ने वैष्णव हुन् भने सबै देवताको उपासना गर्ने वेदोक्त कर्मगर्ने स्मार्त हुन् ।
स्मार्त र वैष्णव एकादशीव्रतमा मतान्तर
स्मार्तले एकादशीको व्रत सूर्योदयकालिक तिथिलाई आधार मानी निर्धारण गर्दछन् । हरेक व्रत उपवासमा उदयव्यापिनी तिथिलाई प्रधान मानिने पितृकार्यमा लाग्दो तिथिलाई ग्रहण गरिने स्मर्त हुन् ।
‘व्रतोपवासस्नानादौ घटिकैकापि या भवेत् ।
उदये सा तिथिग्र्राहृया विपरीता तु पैतृके ।।’ (निर्णयसिन्धु, पृ.३३)
अर्थात् व्रत उपवासका निम्ति जुन तिथिले सूर्योदयलाई छोएको छ त्यही तिथि लिनुपर्दछ भने पितृकार्यका निम्ति जुन तिथिले श्राद्धकाललाई छोएको छ त्यही लिनुपर्दछ । यसरी सूर्योदयकाललाई नै व्रतपर्वको निर्धारक बिन्दु मान्ने स्मार्त हुन् । यसैगरी एकादशी तिथिको निर्णय गर्दा उदयव्यापिनी नभई अरुणोदय व्यापिनीलाई लिने वैष्णमा हुन् । सूर्योदयभन्दा चारघडी पहिलेको समयलाई अरुणोदय मानिएको छ : ‘उदयात् प्राक् चतस्रस्तु घटिका अरुणोदयः ।।’ (निर्णयसिन्धु, चतुर्थप्रकरण पृ.६७) यसमा पनि विभिन्न मत मतान्तर छन्, कसैले तीन घडी कसैले दुई घडीपूर्वको पनि मानेको पाइन्छ ।
सूर्योदयकालिक तिथि लिने कि अरुणोदयकालिक तिथि लिने भन्नेमा मतभेद रहेकाले वैष्णव र स्मार्त एकादशीव्रतमा पनि भेद देखिएका हुन् । यदि सूर्योदयकालमा एकादशी तिथि छ तर सूर्योदय हुनुपूर्व ४ घडीभित्र दशमी तिथि रहेको छ भने यस्तो एकादशीलाई दशमीविद्धा मान्ने वैष्णवको मत रहेको छ ।
मूलतः यही सूर्योदयकालिक तिथि लिने कि अरुणोदयकालिक तिथि लिने भन्नेमा मतभेद रहेकाले वैष्णव र स्मार्त एकादशीव्रतमा पनि भेद देखिएका हुन् । यदि सूर्योदयकालमा एकादशी तिथि छ तर सूर्योदयहुनुपूर्व ४ घडीभित्र दशमी तिथि रहेको छ भने यस्तो एकादशीलाई दशमीविद्धा मान्ने वैष्णवको मत रहेको छ : ‘पूर्वविद्धास्तिथित्यागो वैष्णवस्य हि लक्षणम् ।।’ (नारदपञ्चरात्र) तर, स्मार्तमा यो विचार गरिँदैन । सूर्योदयकाल विचार गरिन्छ अरुणोदय होइन । यसैगरी वैष्णवअन्तर्गत पनि निम्बार्क समुदायमा स्पर्शवेद प्रमुख रहन्छ । जसअनुसार यदि सूर्योदयमा एकादशी छ तर पूर्वरात्रिमा दशमीले यदि आधारात कटेको छ भने अर्थात् दशमी यदि सूर्योदयपरान्त ४५ घडीभन्दा एक पल पनि अधिक छ भने एकादशी त्याग्नुपर्दछ र महाद्वादशीको व्रत धारण गर्नुपर्दछ : ‘अर्धरात्रमतिक्रम्य दशमी दृश्यते यदि । तदाहृयेकादशीं त्यक्त्वा द्वादशीं समुपोषयेत् ।।’ (कूर्मपुराण)
मूलभूत रूपमा द्वादशीमा पारायण गर्ने स्मार्तको मान्यता छ भने पारायण त्रयोदशी भए पनि हुन्छ तर एकादशीव्रत अरुणोदय दशमीविद्ध रहित हुनुपर्छ वरु द्वादशी बिद्ध भए राम्रो हुने मत वैष्णवको छ । यसैले यस्ता स्थितिको मेल हुँदा एकै दिन स्मार्त वैष्णव एकादशीव्रत रहन्छ भने अन्य अवस्थामा भिन्न हुने गर्दछ । द्वादशीमा पारायण गर्ने गरी एकादशीको व्रत लिने स्मार्त र पारायण त्रयोदशी भए पनि हुने तर अरुणोदयमा दशमी वेधरहित एकादशीमै व्रत धारण गर्ने वैष्णवको मत रहेको छ ।
मूलतः एकादशी तिथिका स्वामी पितृ हुन् द्वादशी तिथिका स्वामी विष्णु हुन् । यसैले व्रत बसी विष्णुभगवान्प्रति समर्पण गर्न द्वादशीलाई प्रधान मानी समार्पित हुने मत स्मार्तमा पाइन्छ भने द्वादशीका स्वामी विष्णु रहेकाले विष्णुको दिन विद्ध एकादशीमा व्रत बस्नुपर्छ पारायण त्रयोदशी भए पनि हुन्छ भन्ने मान्यता वैष्णवको हो । मूलरूपमा सूर्योदय र अरुणोदयमा भिन्नता रहनु र यी भिन्नतामा आधारित रही एकादशीव्रत मान्ने मत रहेकाले एकादशीव्रतमा बेला बेलमा भिन्न भिन्न दिन व्रत उपासना हुने गर्दछन् ।