पोखरामा स्केट बोर्ड सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सोमबारदेखि सुरु भएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका करिब १५० खेलाडीले प्रतिस्पर्धा गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जनाउनुभएको छ ।

प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियरतर्फ छात्र/छात्राको पहिलो चरणको खेलहरू सम्पन्न भएका छन् । फाइनलका लागि सिनियर महिला तथा पुरुषबाट नौ–नौजना जुनियर छात्रबाट नौजना र जुनियर छात्राबाट तीन खेलाडी छनोट गरिनेछ ।

उनीहरूले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल चरणको प्रतियोगिताको निर्णायकका लागि भारत र मालदिभ्सबाट दुईजना निर्णायक पोखरा आउने अध्यक्ष खनालले जानकारी दिनुभयो ।

प्रतियोगितामा उपाधि विजेता खेलाडीले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले पाँच हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कोरोना भाइरस (कोभिड-१९) का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुनसकेको थिएन । पोखरामा तेस्रो पटक प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौंमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?