
काठमाडौं । एमसिए-नेपालले तनहुँ जिल्लाको दमौलीमा चार सय केभीको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको छ । सम्झौतासँगै एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै चार सय केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
निर्माण सम्पन्नपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पियरका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ । उक्त नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।
चार सय केभीको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङसँग ३.८८ करोड अमेरिकी डलरमा ठेक्का सम्झौता भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, एमसिए-नेपालका सञ्चालक समिति सदस्य, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसिसी र एमसिए-नेपालका अधिकारीहरूको उपस्थितिमा बुधबार एक समारोहबीच एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आयोजना समयमै सम्पन्न गर्न सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालालाई आहृवान गर्नुभयो ।
अर्थ मन्त्रालयका सचिव एवं एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भन्नुभयो, ‘यो प्रगति एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसिए-नेपालले गरेको निरन्तर प्रयासको राम्रो संकेत हो । नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछन् ।’
अमेरिकी राजदूत थम्पसनले भन्नुभयो, ‘आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसिए-नेपालसँग काँधमा काँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु, समावेशी एवं दिगो आर्थिक विकासमार्फत् नेपालको घर–घरमा ऊर्जा पु¥याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसिसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अंग बन्दैछ ।’
एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भन्नुभयो, ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोशेढुंगा हो । यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्वपूर्ण सरोकारवाला निकाय अर्थ मन्त्रालय, एमसिए-नेपाल सञ्चालक समिति, नेपाल विद्युत् प्राधिकरण तथा एमसिसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु ।’
एमसिसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल-भारत सीमासम्म तीन सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । हाल १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्र मूल्यांकन कार्य भइरहेको छ । एमसिए-नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै बाँकी दुई सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आहृवान गर्ने तयारी भइरहेको छ । एमसिए-नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आहृवान गर्ने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच