काठमाडौं । देशभर हैजाको संक्रमण फैलिँदो क्रममा छ । वर्षायामसँगै हैजाको प्रकोप फैलिएको हो । देशका विभिन्न ठाउँमा हैजाका बिरामीहरू बढ्न थालेका हुन् । एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको हो । हालसम्म काठमाडौं उपत्यकाका दुई जिल्लासहित २५ जनामा हैजा पुष्टि भएको छ । यो तथ्यांक कल्चर गरेर आएको हो । यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशभर हैजा संक्रमितको संख्या २५ पुगेको छ । सबैभन्दा धेरै हैजाका बिरामी ललितपुरमा देखिएका छन् । शनिबारसम्म ललितपुरको गोदावरी नगरपालिकामा मात्रै १६ जना हैजा संक्रमित देखिएका हुन् । यस्तै, काठमाडौंको टोखा नगरपालिकाका आठ जनामा हैजा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाबाहेक कैलालीको धनगढी उपमहानगरपालिकामा एक जनामा हैजा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो । नेपालले बर्सेनि सुरक्षित खानेपानीको अपर्याप्त आपूर्ति र खुला दिसाको उच्च दरका कारण ग्रामीण तथा शहरी क्षेत्रमा हैजाको डर बढ्ने गर्छ । सन् २००९ मा मध्य पश्चिम क्षेत्रको जाजरकोटबाट सबैभन्दा ठूलो हैजाका प्रकोप रिपोर्ट गरिएको थियो । त्यसबाट सयौँले ज्यान गुमाएका थिए ।
हैजा चिकित्सकीय उपचारभन्दा रोकथाम र नियन्त्रण प्रभावकारी हुने चिकित्सा विज्ञानबाट प्रमाणित भइसकेको छ । हैजाका संक्रमित बिरामीको दिशामार्फत पानी वा अन्य खानेकुरा प्रदूषित हुँदा यो रोग एक अर्कोमा सर्छ । मानिसमा रोगको संक्रमण भइसकेपछि कडा प्रकारको पखाला लाग्ने, वाकवाकी र वान्ता हुने, ज्वरो आउने र शरीरबाट धेरै मात्रामा पानी निस्कनाले कडा किसिमको जलवियोजन हुन्छ । कडा जलवियोजनको कारणले बिरामीको समयमा उचित उपचार हुन नसकेमा मृत्यु हुन्छ । हैजालगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष १३ देखि ४० लाख मानिस हैजाबाट पीडित हुन्छन् र २१ हजारदेखि एक लाख ४३ हजार मानिसको मृत्यु हैजाबाट हुने गरेको छ ।
लक्षणहरू
–निरन्तर अधिक पातालो दिसा लाग्नु
–पटकपटक बान्ता आउनु
–पेट वा खुट्टाको मांसपेशी बाउँडिनु
–आँखा गढ्नु, छाला चाउरी पर्नु
–धेरै तिर्खा र थकान लाग्नु
–धेरै कमजोरीका कारण बेहोस हुनु
रोकथामका उपाय
–सरसफाइमा ध्यान दिने
–संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने
–फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
–खाना खानुअघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
–सकेसम्म उमालेको पानी पिउने
–फलफूल तथा तरकारीको प्रयोग गर्नुअघि सफा पानीले पखाल्ने
–पानीको मुहान सफा राख्ने
–शौचालयमा मात्र दिसापिसाब गर्ने
मुख्यतः तीनवटा कुरामा ध्यान दिन सके हैजा नियन्त्रणमा राख्न सकिन्छ : डा. पुन
संक्रमित खाना वा पानीको सेवनका कारण हैजा लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने गरेको उहाँले बताउनुभयो ।
‘हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ,’ उहाँले भन्नुभयो । हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखा पर्छन् । हैजा संक्रमण भयो र उपचार पाएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुनसक्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानीजस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ । डा. पुनले मुख्यतः तीनवटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउनुभयो । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने डा. पुन बताउनुहुन्छ ।
हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्ने विज्ञहरूको सुझाव छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच