करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ ।  अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङकाअनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो । २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका-९ लोखिम रहेको खुलेको छ ।

सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका-६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ भने घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ । छ सय ३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासि विद्युत् प्रवाह हुँदा एकैसाथ चारजनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताउनुभयो । आफूहरुलाई करेन्ट प्रवाह भएको जानकारी नहुँदा भर्‍याङले तारमा छुँदा करेन्ट लागेको उहाँको भनाइ छ ।

यद्यपि घटनाको विवरण दिन सोलुखुम्बु प्रहरीले आनाकानी गरेको छ । सदरमुकाममा भएको उक्त घटनामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक आफै खटिए पनि घाइते र मृतकको विवरण उपलब्ध गराउन प्रहरीले इन्कार गरेको छ । उक्त कम्पनीले जिल्ला सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा गरी करिब तीन हजार चार सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?