साल्पासिलिछोका अढाई सय घरलाई गाउँमै विद्युतको मिटर बितरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले स्थानिय नागरिकको सहजताका लागि दुर्गम गाउँमै पुगेर विद्युतको लागि मिटर बितरण गरेको छ । पालिकासँगको सहकार्यमा गाउँमै गएर विद्युत मिटर बितरण गरिएको हो ।

दुर्गम जिल्लाको सुदुर उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा पुगेर प्राधिकरणका कर्मचारीले नागरिकलाई राहत दिन घरघरमा राख्ने मिटर गाउँमै पुर्याएर बितरण गरेका हुन । दुर्गम गाउँवाट हजारौं रुपैयाँ खर्चेर मिटर लिन सदरमुकाममा रहेको प्राधिकरण कार्यालयसम्म धाउनु पर्थ्याे । गाउँमै मिटर पुर्याईदिदा उनीहरुको खर्च र समय दुबै जोगिने भएकाले कार्यालयले यो सुविधा उपभोक्ताहरुलाई दिएको नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका स्टोर प्रमुख रुजन कार्कीले बताउनुभयो ।

गाउँमै विद्युत मिटर पाएपछि स्थानीय नागरिकहरु पनि उत्सायी बनेका छन । साल्पासिलिछो गाउँपालिका वडा नम्वर ३, चौकीडाँडामा रहेको पालिकाको कार्यालयमा दुई सय ४० घरका लागि विद्युत मिटर बितरण गरिएको हो । साल्पासिलिछो गाउँपालिका वडा नम्वर तीन चौकीडाँडाका ६५ बर्षिय भुवन सिं राईले गाउँमै मिटर लिन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“मिटर लिन हामी सदरमुकामसम्म धाउनु पर्थ्याे । पैसा त्यतिकै खर्च हुन्थ्यो भने समय पनि उत्तिकै लाग्थ्यो, अहिले गाउँमै मिटर पाउँदै खुशी लागेको छ ।” प्राधिकरणले तीन हजार एक सय ४० रुपैयामा गाउँमै मिटर उपलब्ध गराएको छ ।

साल्पासिलिछो गाउँपालिकालाई उज्यालो बनाउने अभियान विद्युतीकरणसँगै पुरा हुँदै गएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताउनुभयो । उज्यालो साल्पासिलिछो बनाउने अभियानमा सहयोग पुर्याउने उपाध्यक्ष राईले सवैलाई आग्रह समेत गर्नुभयो । पालिका भित्र छ वटा वडाहरु छन । यो पूर्ण विद्युतीकरण हुन बाँकी गाउँपालिका हो ।

आवेदन सहितको फाइलहरु रुजु गरेर आवश्यक कागजात पुगेका उपभोक्तालाई मिटर बक्स बितरण गरेको प्राधिकरण भोजपुर बितरण केन्द्रका सहायक लेखापाल सुनिल निरौलाले बताउनुभयो । यस ठाउँमा आगामी दिनमा अरु पनि मिटर जाने निरौलाले जानकारी दिनुभयो । पूर्वजनप्रतिनिधी तथा स्थानीय शान्तिराम अधिकारीले विद्युत गाउँमा बल्ने भएपछि गाउँका सबै उपभोक्ता हर्षित भएको बताउनुभयो । “विद्युत आएपछि बत्ती वाल्न, घरेलु उद्योग र कुटानी पिसानी मिलहरु समेत संचालन गर्न सहज हुने छ ।” अधिकारीले भन्नुभयो ।

विद्युतको मिटर पाएका नागरिकहरुको घरमा अव प्राबिधिक कर्मचारीबाट मिटर जडानको काम गरिने नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले जनाएको छ । भोजपुर जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका छन् । जसमा साल्पासिलिछो र आमचोक गाउँपालिका क्षेत्रमा विद्युतीकरण कार्य भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?