धानको न्यूनतम समर्थन मूल्य निर्धारण

Read Time = 2 mins

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को कात्तिक १६ गतेको बैठकले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । मोटा धान प्रतिक्विण्टल २९ सय ६७ र मध्यम धान प्रतिक्विण्टल ३१ सय २८ रुपैयाँ तोकिएको छ । गत आर्थिक वर्षमा २०७८/०७९ मा मोटा धानको मूल्य २७ सय ५२ रुपैयाँ तथा मध्यम धान २९ सय दुई रुपैयाँ थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्ने व्यवस्था रहेको छ ।

साथै न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशित गरिने पनि मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न कृषि सहकारीलाई प्रतिक्विण्टल एक सय १२ रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । गत वर्ष करिब नौ हजार मेट्रिकटन धान खरिद भएकोमा यस वर्ष तीन लाख मेटिकटन खरिदका लागि ३३ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?