काठमाडौं । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत्, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतबाट उत्पादित विद्युत् निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ छ हजार पाँच सय सात सर्किट किलोमिटर पुगेको हो ।
कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार एक सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी पाँच सय १४ सर्किट किलोमिटर छ । ४०० केभी प्रसारण लाइन छ सय ४४ सर्किट किलोमिटर छ । आर्थिक वर्ष २०७२/७३ सम्ममा दुर्ई हजार नौ सय ११ सर्किट किलोमिटरमात्र प्रसारण लाइन थियो ।
आर्थिक वर्ष २०७३/७४ मा तीन हजार तीन सय ६४, आर्थिक वर्ष २०७४/७५ मा तीन हजार पाँच सय ३८, २०७५/७६ मा तीन हजार नौ सय ९० र आर्थिक वर्ष २०७६/७७ मा चार हजार दुई सय ६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो ।
त्यस्तै २०७७/७८ मा चार हजार आठ सय ७४, २०७८÷७९ मा पाँच हजार तीन सय २९ र २०७९/८० मा पाँच हजार सात सय ४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो । त्यसैगरी ग्रिड सबस्टेसन क्षमता १३ हजार ५० एमभिए पुगेको छ । आर्थिक वर्ष २०७२/७३ मा दुई हजार दुई सय २३ एमभिएमात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आर्थिक वर्षसम्ममा १३ हजार ५० पुगेको हो । जसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसन रहेका छन् ।
प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन् । प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायबाट सहुलियतपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्ष अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री, मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ । यो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ, १३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको छ ।’
घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टर भएर जाने दक्षिण करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायहरूबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढाइएको बताउनुभयो । देशका प्रमुख शहरलाई ११ क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको माग आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको उहाँको भनाइ थियो ।
भारतसँगको विद्युत् व्यापारका लागि करिब दुई हजार पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । यता नेपाल-भारतबीचको विद्युत् आयात निर्यातका लागि आठ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब दुई हजार मेगावाट पुगेको छ ।
इनरुवा-पूर्णिया र लम्की-बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयन चरणमा छन् भने नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माण सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बंगलादेशबीचको विद्युत् व्यापार थप सहज बनाउन इनरुवाबाट अनारमणिसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणका अनुसार सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे-केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ । विद्युत् आपूर्ति भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फ पनि ठूलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल दुई लाख नौ हजार सर्किट किलोमिटर पुगेको छ । आर्थिक वर्ष २०७२/७३ सम्ममा वितरण लाइन एक लाख २१ हजार सर्किट किलोमिटरमात्र थियो । त्यतिबेला ५८ प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन एक लाख ५० हजार सर्किट किलोमिटर रहेको छ ।
वितरणतर्फको सबस्टेसनको क्षमता दुई हजार पाँच सय एमभिए पुगेको छ । वितरण सबस्टेसनको संख्या एक सय ९६ छ । आठ वर्षअघि सबस्टेसनको संख्या ८० वटामात्र थियो भने क्षमता छ सय ४० एमभिएमात्र थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच