चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेता वार्ता गर्न सहमत

Read Time = 2 mins

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथाशक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो । सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्याशित रूपमा भएको बैठकपछि चीनले मंगलबार तीनवटै देशका नेताहरूबीच ‘यथाशीघ्र’ शिखर बैठक गर्न सहमति भएको बताएको हो ।

टोकियो, वासिंटन र सोलबीचको सुदृढ सुरक्षा सम्बन्धलाई दृष्टिगत गरी ती देशसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा चीनले बैठकका निम्ति सहमति जनाएको विश्लेषकले बताएका छन् । पछिल्लो समय अमेरिकासँगको बिग्रँदो सम्बन्धलाई लिएर चीन चिन्तित छ । ‘चीन, जापान र दक्षिण कोरियाबीचको सहकार्यलाई तीन पक्षको साझा हितमा निरन्तरता दिन सहमति भएको छ’, विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले नियमित पत्रकार सम्मेलनमा मंगलबार भन्नुभयो ।

प्रवक्ता वाङका अनुसार तीनवटै देशले आ-आफ्ना विदेश मन्त्रीको बैठक अर्को केही महिना आयोजना गरेर त्यसपछि उपयुक्त समयमा जति सक्दो चाँडो शीर्ष नेताहरूको बैठक गर्न बेइजिङ, सोल र टोकियो सहमत भएका छन् ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि तीनवटै देशका कूटनीतिज्ञहरू शीघ्र त्रिपक्षीय शिखर बैठक आयोजना गर्न तथा त्यसको तयारीमा विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न सहमत भएका बताएको छ । पछिल्लो पटक त्रिदेशीय शिखर सम्मेलन सन् २०१९ मा भएको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?