काठमाडौं । सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजनामा वित्तीय स्रोत व्यवस्थापन भएको छ । जिल्लाको जुगल गाउँपालिकामा निर्माण हुने आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइमा लगानी जुटेको हो ।
आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइमा कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । लगानी गर्ने बैंक र आयोजना प्रवद्र्धक अपर बलेफी हाइड्रोपावरबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनिषराज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिपकुमार दाहाल, नेपाल एसबिआई बैंकका प्रबन्धक प्रभिन भट्टराई र माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवद्र्धक विनितचन्द्र झा तथा प्रवद्र्धक अपर बलेफी हाइड्रोपावरका निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गरेका छन् ।
आयोजनाको कुल लागत नौ अर्ब ४३ करोड रुपैयाँ अनुमान गरिएकोमा बैंकहरूले गर्ने लगानी ७५ प्रतिशत हो । सम्झौताअनुसार अगुवाइ गरेको लक्ष्मी सनराइज बैंकले चार अर्ब सात करोड प्रोजेक्ट फाइनान्स (टर्म लोन) गर्नेछ । त्यस्तै कृषि विकास बैंकले एक अर्ब ५० करोड, नेपाल एसबिआई बैंकले एक अर्ब र माछापुच्छ्रे बैंकले ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । २५ प्रतिशत स्वपुँजी लगानी जुटाइने कम्पनीले जनाएको छ ।
आयोजनाको प्रमुख योजनाकार औद्योगिक घराना गोल्यान समूह हो । यो आयोजनामा गोल्यान समूह, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजुको लगानीमा निर्माण हुने आयोजनाका लागि २०७८ साल साउन ३२ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र लिनुका साथै २०८० साल मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भएको थियो । कम्पनीका अनुसार आयोजना सञ्चालनमा आउँदा वार्षिक करिब २७४.८९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । ऊर्जामा आक्रामक ढंगले लगानी गरिरहेको गोल्यान समूहले १४ आयोजना विकासको योजना बनाएको छ । जसमा सन् २०३० सम्म नौ सय मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त सूचीमा आठ जलविद्युत् आयोजना छन् । जसमा अपर बलेफी हाइड्रोपावरमार्फत् अघि बढेको माथिल्लो बलेफीका साथै छवटा सौर्य विद्युत् आयोजना पनि छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच