
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले उन्नत जातको बिउ आलुमा आत्मनिर्भर बनाउन कृषकलाई आलुको बिउमा १० लाख ७५ हजारभन्दा बढी अनुदान दिएको छ । आलु रोप्ने सिजनमा बिउ नपाएर चिन्तित हुने कृषकलाई लक्षित गरी गाउँपालिकाले आलुको मूल बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौताअनुसार प्रगतिशील बिउ उत्पादन समूह र नमुना कृषि तथा पशुपक्षी कृषक समूहलाई ३३ हजार दुई सय केजी बिउ आलुका लागि १० लाख ७५ हजार ४५० रुपैयाँ अनुदान वितरण गरिएको हो ।
प्रगतिशील बिउ उत्पादन समूहलाई प्रतिकेजी ३५ रुपैयाँका दरले २२ सय ७० केजी मूल बिउका लागि ७९ हजार ४५० रुपैयाँ र प्रगतिशील बिउ उत्पादक कृषक समूहलाई प्रमाणित प्रथम पुस्ताको बिउको प्रतिकेजी ३० का दरले नौ लाख ९६ हजार अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले बताउनुभयो । ‘कृषकको आलुको बिउ गाउँपालिकाले खरिद गर्ने सम्झौता छ, अनुदानसँगै प्रोत्साहनका कार्यक्रमबाट उहाँहरू उत्साहित हुनुहुन्छ,’ अधिकृत गौतमले भन्नुभयो । बिउ आलुका लागि गाउँपालिकाले मल तथा उत्पादन साम्रगीसमेत दिने गरेको छ ।
गाउँपालिकाले समूहमार्फत् खरिद गरेको बिउ आलु पोखराको कोल्डस्टोरमा भण्डारण गरी सिजनमा गाउँपालिकाभित्रका बिउ उत्पादक कृषक समूहलाई नै वितरण गर्ने अधिकृत गौतमको भनाइ छ । गाउँपालिकाले आलुको सिजनमा मल बिउ नपाएर निराश कृषकलाई लक्षित गरी राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग सामूहिक मूल बिउ रोप्ने अभियान सञ्चालन गरेको थियो । गाउँपालिकाभित्र वर्षेनी आलु बिक्री गर्ने ४० अगुवा कृषक छन् ।
गाउँपालिकाभित्र आलुको पकेट क्षेत्रमा एउटै बिउको प्रयोग हुँदा निर्वाहमुखी उत्पादन र बिक्री गर्ने क्रममा गुणस्तरमा देखिएको समस्या समाधान गर्ने गरी राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूल बिउ भित्र्याएर अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘आलु खेतीका लागि बिउमा अनुदान दिन सुरु गरेपछि कृषकको संख्या बढ्दै गएको छ, समूहमा आबद्ध भएर आलु खेतीमा सक्रिय हुनेको संख्या बढ्दो छ,’ आचार्यले भन्नुभयो । जलजला आलु उत्पादनका लागि उर्वर मानिए पनि विगतमा उन्नत जातको आलुको बिउ समयमै नपाउँदा निराश हुने कृषकको समस्या समाधान भएको प्रगतिशील बिउ उत्पादन समूहका तारानाथ भुषालले बताउनुभयो ।
‘गाउँपालिकाले सहयोग गरेपछि यहाँ कृषक आलु उत्पादनमा हौसिएका छन्, अनुदान दिने, खरिदमा पनि सघाउनु हाम्रा लागि ठूलो राहत हो,’ अगुवा कृषक भुषालले भन्नुभयो । आलुको गुणस्तर राम्रो भएकाले अन्य पालिकाबाट समेत बिउ लिन आउने गरेका छन् ।
यसैबीच गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा ६६ हजार ७० केजी उन्नत बिउ बिक्री गरी २९ लाख ७१ हजार ६४९ रुपैयाँ आन्तरिक आम्दानीतर्फ राजस्व संकलन गरेको छ । गाउँपालिकाले कृषकबाट खरिद गरेको आलुको बिउ ५० प्रतिशत अनुदानमा कृषक र कृषि ज्ञान केन्द्रमार्फत् सिफारिस भएका कृषक समूह तथा म्याग्दी, कास्कीलगायतका जिल्लाका कृषकलाई ३५ हजार ९७७ केजी बिउ बिक्री गरी २१ हजार ९८ हजार ६५९ आम्दानी गरेको हो ।
गाउँपालिकाभित्रका समूहलाई प्रतिकेजी ३० रुपैयाँ र पर्वत र अन्य जिल्लाका समूहलाई ६० रुपैयाँमा बिउ आलु बिक्री गरिएको छ । गाउँपालिकाले आलुको बिउ बिक्रीबाट कुल राजस्व संकलनको २२ प्रतिशत संकलन गरेको छ । ढुंगागिट्टी, बालुवा बिक्रीबाट हुने आम्दानीपछि सबैभन्दा धेरै राजस्व बिउ आलु बिक्रीबाट गाउँपालिकाले आम्दानी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच