काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढीले वितण्डा मच्चाएको थियो । बाढीले २० भन्दा बढी घरमा क्षति पुर्याएको छ । शनिबार रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा टोली उक्त ठाउँमा पुगेको थियो । यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
त्यसक्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये दुईवटा फुटेको पाइएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । ‘पाँचवटा हिमताल रहेकामा दुईवटा फुटेको र दुईवटा अझै जोखिममा रहेको छ’, पाण्डेले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष मिङ्मा छरी शेर्पाले भने अरू तालको जोखिम नदेखिएको बताउनुभयो । ‘तल्लो क्षेत्रमा अझै बाढी आउने हो कि भन्ने डर छ तर त्यस्तो देखिएन’, उहाँले भन्नुभयो ।
बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको छ । बाढीका कारण विस्थापित भएका थामेका घरधुरीलाई नगद १५ हजार र तीन वटाका दरले त्रिपाल वितरण गरिएको छ ।
नेपाली सेनाले हेलिकप्टरमार्फत खाद्यान्न पठाउने कार्य भइरहेको जनाएको छ । विस्थापित १४० जना आफन्तको घर र होटेलमा बसेका छन् । उनीहरूलाई तत्काल खान र बस्न समस्या नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँका अनुसार बाढीले एकजना बेपत्ता भएका छन् । २० वटा घर र होटेल पूर्णरूपमा क्षति भएको छ । एउटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको छ ।
बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । प्रभावित क्षेत्रमा जाने बाटो र पुलमा क्षति पुगेको छ । थामे खोलाको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ ।
दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा शुक्रबार दिउँसो एक्कासि बाढी आएको थियो । दिउँसोको घटना भएकाले ठूलो मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच