पाल्पा । पाल्पामा एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । विवाह गरेको ३ वर्षपछि उक्त जोडीले कानुुनी मान्यता पाएको हो ।
पाल्पाका ३१ वर्षीया चिना कुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योति सार्कीको समलिङ्गी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
रामपुर नगरपालिका –९ जब्गादीकी निवासी चिना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योतिको गत आइतबार वडा कार्यालयले विवाह दर्ता गरेको वडा अध्यक्ष डिलबहादुर रानाले बताउनुभयो ।
विवाह दर्तामा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको उहाँको भनाई छ । रामपुर–९ का स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव मो युनुस खानले विवाह दर्ताका लागि चिनाकुमारी र ज्योतिले निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रका आधारमा विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बताउनुभयो ।
समलिङ्गी विवाह दर्ता पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर गत आइतबार विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडा सचिव खानले जानकारी दिनुभयो ।
चिनाकुमारी रामपुर–९ जब्गादी निवासी र ज्योति नवलपुर (नवलपरासी सुस्तापूर्व) बौदिकाली गाउँपालिका–१ मिथुकरम निवासी हुनुहुन्छ । चिनाकुमारी र ज्योतिले २०७८ असोज २९ गते परम्पराअनुसार पाल्पाको सिद्धबाबा मन्दिरमा विवाह गर्नुभएको थियो ।
२०७१ मा वैदेशिक रोजगारबाट नेपाल आएका ज्योति र चिनाबिच चिनजान भएको थियो । चिना पनि वैदेशिक रोजगारमा जाने तयारी गर्नुभएको थियो । सोही समयमा उहाँहरुबिच चिनजान बढ्दै गयो । दुवै जना वैदेशिक रोजगारका लागि कतार पुग्नुभयो । त्यहाँ रहँदा दुवै जनाको सम्बन्ध बढ्दै गएको थियो । अन्ततः दुवै जना विवाह गर्ने निर्णयमा पुग्नुभयाे । लामो समय प्रेम सम्बन्धमा रहनुभएका उहाँहरूको २०७८ असोज २९ मा विवाह भएको थियो ।
२०८० असार १२ गतेको सर्वोच्च अदालतको उत्प्रेषणयुक्त अन्तरिम आदेशसँगै गृह मन्त्रालयको निर्णय अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच