चङ्खेली दुर्घटना अपडेट : घाइते एकको मृत्यु, तीनजनाको उपचार हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।

मुगुको छायाँनाथरारा नगरपालिका-१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिनुभयो ।

बुधबार बिहान चङ्खेली गाउँपालिका-२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त जीप धनी मल्ल आफैँ हुनुहुन्थ्यो ।

मल्लका दाई नाता पर्ने रोशन शाहीले भन्नुभयो, “रमेशले जीप किनेको चार/पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।”

दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?