दुई वर्षमा सक्नुपर्ने खानेपानी योजना ६ वर्षमा पनि सकिएन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । दुई वर्षमा सक्ने गरी निर्माण थालिएको बागलुङ नगर लिफ्ट खानेपानी आयोजना अझै सम्पन्न भएको छैन । पाइपलाईनमा त्रुटी देखिएर सम्पन्नतामा ढिलाई भएको रु.३४ करोडको लिफ्ट खानेपानी आयोजना सम्पन्न नहुँदै पहिरोको जोखिममा परेको छ । आयोजनाको रु. चार करोड लागत बढेको छ । २०७७ साल असारमा सक्नेगरी ठेक्का सम्झौता भएको आयोजना छ वर्षमासमेत सम्पन्न भएको छैन ।

बागलुङ नगर बृहत लिफ्ट खानेपानी आयोजनाको पाइपलाइन छ पटक सम्म फुस्किएपछि परिक्षण असफल भएको थियो । त्यसयता आयोजनाको काम ठप्प छ । बागलुङ नगरखानेपानी तथा उपभोक्ता संस्थाले खानेपानी विभागसंगको सहकार्यमा पाइपलाईन परिवर्तनका लागि अहिले समन्वयको काम भइरहेको समयमा कैलामपोखरीको पहिरोले आयोजनालाई थप जोखिममा पुर्‍याएको छ ।

बागलुङ नगरपालिका-३ स्थित काठेखोलाको पानी कैलामपोखरीबाट २५० मिटर माथि रातामाटामा पुर्‍याउनेगरी आयोजना अन्तिम चरणमा पुगेपनि एक वर्ष ४ महिना देखि अस्थाई रुपमा उपभोक्ता संस्थाले थोरै मात्रामा पानी तान्दै आएको छ । आयोजनाको डिजाइनमै त्रुटी भएपछि आयोजना सम्पन्नतामा ढिलाई भएको सन्दर्भमा अबिरल वर्षाका कारण आयोजना मुनीबाट गएको पहिरोले आयोजनालाई उच्च जोखिममा पुर्‍याएको छ ।

क्रंकिटको पोलमा राखेर पाइपलाइन विस्तार गरेपनि खानेपानीको चाप धान्न नसकेर क्रंक्रिटको पोल सहित पाइप फुस्किदा आयोजनाको डिजाइनमै त्रुटी देखिएपछि अहिले डिआइ पाईप झिकेर सिम्लेस पाईप राख्ने गरी पाईप खरिदको काम भइरहेको सन्दर्भमा आयोजनालाई क्षति पुर्‍याउनेगरी पहिरो खसेको छ ।

पाइपलाईनमै त्रुटी देखिएका कारण आयोजना हस्तान्तरण हुन नसक्दा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नु परेको छ । रु. ३० करोडमा सम्झौता गरेको आयोजना कमजोर जमिनमा डिजाईन गरिएका कारण पहिरोबाट जोगाउन रु. चार करोड बढी रकम खर्च भइसक्दासमेत पुन कैलामपोखरीको पहिरो खसेर खानेपानी तान्ने पहिलो प्वाइन्टलाई क्षति समेत बनाएको छ । उक्त पहिरो दिनदिनै बढिरहेका कारण काठेखोला थुनेर खानेपानी आयोजनामा क्षति पुर्‍याउने उच्च जोखिम रहेको बागलुङ बजारवासी राजन कुमार शाक्यले बताउनुभयो ।

उहाँले उपभोक्ता संस्थालाई काठेखोलाको पहिरो पन्छाउनका लागि सुझाव दिएपनि अहिले रु.३४ करोडको खानेपानी आयोजना सम्पन्न नहुँदै पहिरोको जोखिममा पर्नु आम उपभोक्ताका लागि दुखद् भएको शाक्यको भनाई छ ।

“३४ करोड खर्चेर निर्माण गरिएको आयोजना डिजाईनमा त्रुटी हुँदा हस्तान्तरण भएको छैन, आयोजना बन्नै छ वर्ष लाग्यो, बागलुङ बजारमा खानेपानीको समस्या छ” स्थानीय उपभोक्ता शाक्यले भन्नुभयो “पाइपलाईन फेरेपछि पानी त आउला तर आयोजनानै काठेखोलाले बगाउने खतरा छ, पहिरोको जोखिम टार्नका लागि उपभोक्ता समिति जिम्मेवार बन्नुपर्दछ ।”

भौगोलिक अवस्थाका कारण परिक्षणका लागि काठेखोलाको पानी लिफ्ट मार्फत तान्दा विभिन्न छ स्थानमा पहिरो चलेर पाइप फुस्किएपछि नगरखानेपानी तथा उपभोक्ता संस्थाले दुई वटा जिआइ पाइप अस्थायी रुपमा बिच्छाएर पानीको अभाव टार्नेकाम भइरहेको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले जानकारी दिनुभयो ।

परीक्षण नै असफल भएपछि खानेपानीको पाइपलाईको विषयमा विज्ञ समूहले अध्ययन पश्चात सिमलेस पाईप विभागलेनै खरिद गरेर पठाइरहेको उहाँको भनाई छ । उक्त पाईप जडान पश्चात आयोजना सम्पन्न हुने र विद्युत महशुलमा समेत गण्डकी प्रदेशले छुट दिँदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई राहत हुनेमा आशावादी रहेको आचार्यको भनाई छ ।

“पहिरोको जोखिम भएका कारण आयोजनाको लागत बढेको थियो, पहिरो न्यूनिकरणका लागि ढलानसहितको पर्खाल लगाएर आयोजनालाई सुरक्षित बनाएका छौं” आचार्यले भन्नुभयो “अहिले खानेपानी तान्ने काठेखोलामै पहिरो गएको छ, हामीले उक्त पहिरोको अध्ययन गरेर रोकथामको प्रयास गर्छौं, करोडौको खानेपानी आयोजना सुरक्षित गर्ने हाम्रो जिम्मेवारी हो ।”

निरन्तर पहिरो खसिरहने भूगोलमा डिआई पाइप उपयुक्त नभएपछि सिमलेस पाइप खरिद गर्न खानेपानी तथा ढल विभागले नै तत्परता देखाएपछि अहिले पाईप आउने क्रम रहको आयोजनाको जिम्मा लिएको कन्काई जयमाता जेबीका निर्माण व्यवसायी कृष्णहरी चौलागाईले जानकारी दिनुभयो ।

‘हामीले विभागले दिएको डिजाईन अनुसार आयोजना सम्पन्न गरेका थियौ, तर डिजाईनमै त्रुटी भएपछि निर्माण व्यवसायीको गल्ती हुँदैन, परिमार्जन गरिएको सिमलेस पाईप बागलुङ पुग्न थालेको छ” निर्माण व्यवसायी चौलागाइले भन्नुभयो “पहिरो रोकथामका लागि रु. चार करोड आयोजनाको लागत थपिएको थियो, सामान्य पहिरो तथा आयोजनाको मर्मत संभार हामीले हस्तान्तरण नहुँदा सम्म गर्नेछौं, उपभोक्ता समितिले अस्थायी रुपमा एक वर्ष ४ महिनादेखि पानी तानेर उपभोक्तालाई वितरण गरिरहेको छ ।”

बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजनाको रुपमा रहेको बागलुङ नगर वृहत लिफ्ट आयोजनाको सम्पन्न हुने समयमा पाइपलाईनमा त्रुटी देखिएको र अहिले आयोजना स्थल क्षेत्रमा पहिरो समेत गएकाले आयोजनाको दीगोपनाको विषयमा आम नागरिक उपभोक्ताले प्रश्न गरिरहेका छन् ।

२०७५ असार ३१ गते कन्काई जयमाता जेबीले २०७७ सालमा निर्माण सक्नेगरी रु. ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले चार पटक म्याद थप्दा आयोजनाको परिक्षणको चरणमा पुगेको थियो । परिक्षण असफल भएपछि डिजाईनमै त्रुटी भएको आयोजनाको ठहर छ ।

पहिरो रोकथामका लागि लिफ्ट आयोजनाको लागत बढेर रु. ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायी चौलागाईले बताउनुभयो । तत्कालै आयोजनाको काम अगाढी नबढ्दा उपभोक्तालाई पानी पुर्‍याउन बैकल्पिक व्यवस्था खानेपानी तथा सरसफाई उपभोक्ताले गरेको पाइएको छ । लिफ्ट आयोजनाले बागलुङ बजारमुनी रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेगरी निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?