लण्डन । इंग्लिस प्रिमियर लिग (इपिएल) मा गत सिजनको विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ । नर्वेली फरवार्ड एर्लिङ हालान्डको हृयाट्रिकको मद्दतमा सिटीले लगातार तेस्रो जित हात पारेको हो । वेस्ट हृयामको घरेलु मैदानमा भएको खेलमा सिटीले वेस्ट हृयामलाई ३-१ गोल अन्तरले पराजित गर्यो । सिटीको जितमा हालान्डले हृयाट्रिक गर्नुभयो । वेस्ट हृयामले आत्मघाती रूपमा एक गोल उपहार स्वरूप पाएको थियो ।
सिटीका लागि १०औँ मिनेटमा हालान्डले गोल गर्दै अग्रता दिलाउनुभएको थियो । सिटीका रुवेन डायसले १९औँ मिनेटमा आत्मघाती गोल गर्दै वेस्ट हृयामलाई बराबरीमा पुर्याउनुभयो । हालान्डले ३०औँ मिनेटमा सिटीका लागि व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । हालान्डले ८३औँ मिनेटमा हृयाट्रिक पूरा गर्दै सिटीलाई सहज जित दिलाउनुभयो । यो सिजनको तेस्रो खेलमा हालान्डको यो दोस्रो हृयाट्रिक हो । लगातार तेस्रो जितसँगै सिटीले नौ अंक जोडेको छ । सिटी अंक तालिकाको पहिलो स्थानमा छ । पराजित वेस्ट हृयाम तीन अंकका साथ चौथो स्थानमा छ ।
लिगकै अर्को खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ । इमिरेट्स रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली ब्राइटनसँग १–१ को बराबरीमा रोकिएको हो । बराबरीसँगै तीन खेलमा सात अंक जोडेको ब्राइटन शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट सात अंक नै रहेको आर्सनल दोस्रो स्थानमा छ । आर्सनलका लागि काइ हाभर्टज र ब्राइटनका लागि जोआओ पेड्रोले गोल गर्नुभयो । हाभर्टजले ३८औँ मिनेटमा आर्सनललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, त्यसको ११ मिनेटपछि डेक्लान राइसले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउँदै पेड्रोले ५८औँ मिनेटमा ब्राइटनलाई बराबरीमा ल्याउनुभयो ।
यस्तै, लिगकै अर्को खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बर्नमाउथले घरेलु टोली एभर्टनविरुद्ध ३-२ को पुनरागमन जित निकालेको छ । गुडिसन पार्कमा बर्नमाउथलाई जित दिलाउन एन्टोइन सेमेन्यो, लुइस कुक, लुइस सिनिस्टेराले गोल गर्नुभयो । माइकल केन र डोमिनिक केलभर्ट लेविनले गरेको गोल सान्त्वना बन्यो । जितसँगै तीन खेलमा पाँच अंक जोडेको बर्नमाउथ सातौँ स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित एभर्टन अंकविहीन हुँदै पुछारमा छ । शनिबारै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ र ब्रेन्टफोर्डले साउथ हृयाम्पटनलाई ३-१ ले पराजित गर्यो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच