सरकार आफैँले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ : ओली

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले देशमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ । तेजाब आक्रमणविरुद्ध सचेतना दिवसका अवसरमा सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उहाँको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताउनुभएको हो ।

आतंककारीहरूलाई असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्नँ भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उहाँ र उहाँको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरूलाई सरकारले किन पक्राउ नगरेको ? भनी प्रश्नसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार आफैँले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ । कसैले सपरिवार मार्छु भनिराखेको छ तर सरकारले त्यस्ता मान्छेहरूलाई नियन्त्रणमा लिँदैन । अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त । पहिले नै, दुई÷चार दिन अगाडि नै खुकुरी हान्छु भनेको थियो । मान्छेहरूको नाम लिएर काट्छु भन्दा सरकार कानमा तेल हालेर बसेको थियो । त्यो प्रवृत्ति उचित होइन । सामाजिक एकता, सामाजिक सद्भावमा आधारित एकता राष्ट्रिय एकता बनाउनुपर्ने हुन्छ ।’

कार्यक्रममा अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरूलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाब आक्रमणविरुद्ध कडा कानुन निर्माण गर्नुपरेको बताउनुभयो । उहाँले तेजाब आक्रमणविरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसाविरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरूलाई पनि आग्रह गर्नुभयो । नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै उहाँले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यमहरू लाग्नुपर्ने बताउनुभयो । ओलीले आफू नेतृत्वको सरकारले सामाजिक जागरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै त्यसलाई निरन्तरता दिन सरकारलाई दबाबसमेत दिनुभयो ।

पुँजीपतिलाई छानीछानी दुःख दिने काम भयो
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटिरहेको आरोप लगाउनुभएको छ । मीनबहादुर गुरुङ र यती होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरूमाथि सरकारले छानीछानी दुःख दिने काम गरेको ओलीको जिकिर थियो । यती होल्डिङ्सलाई खेद्नेहरू दलाल पुँजीवादीहरू भएको भन्दै ओलीले यस्ताहरूको विरोध गर्न पाउने अवस्थासमेत मुलुकमा नरहेको बताउनुभयो ।

सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरूले मुलुकमा तमासा देखाइरहेको बताउनुभयो । उहाँले धनीपुर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? भनी सरकारलाई प्रश्नसमेत गर्नुभयो । अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रलाई सहकारीको अर्थ नै थाहा नभएको टिप्पणीसमेत गर्नुभयो । कांग्रेस सहकारीको पक्षमा नरहेको र माओवादी केन्द्र सुनजस्तो मोटो रकम जम्मा गर्ने धन्दामा रहेकाले उसलाई त्यसबारे कुनै मतलव नै नभएको ओलीको भनाइ थियो ।

कानुन कार्यान्वयन नभएको तेजाब पीडितको गुनासो
तेजाब आक्रमणबाट पीडित भएकाहरूले सरकारले कानुन बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । ओलीसँगको साक्षात्कार कार्यक्रममा बोल्दै पीडित प्रतिनिधिले तेजाब आक्रमणविरुद्ध सरकारले कानुन बनाए पनि त्यसको कार्यान्वयन पक्षमा अझै कमजोर रहेको बताएका हुन् । ‘तेजाब आक्रमणविरुद्ध सरकारले ल्याएको कानुन पर्याप्त छ तर त्यो कानुन कार्यान्वयनमा आएको छैन । म प्रतिनिधिसभा सदस्यसमेत भएको नाताले त्यो कानुन कार्यान्वयन गर्न म आफ्नो व्यक्तिगत र आफू संलग्न पार्टी रास्वपाका तर्फबाट पनि पहल गर्छु’, प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी विन्दावासिनी कंशाकारले भन्नुभयो ।

त्यस्तै, अर्का पीडित मुस्कान खातुनले तेजाब आक्रमणविरुद्धको कानुन आए पनि त्यसविरुद्ध जनचेतनाको अझै कमी भएको गुनासो गर्नुभयो । ‘कानुन आएपछि तेजाब आक्रमणका घटना पनि कमै भएका छन् । तर, अहिले पनि गाउँघरमा तेजाब भनेको के हो भन्ने थाहा रहेनछ’, उहाँले भन्नुभयो, ‘कानुन ल्याएजसरी जागरण पनि चलाउन जरुरी छ ।’

अर्का पीडित जेनी खड्काले देखिने पीडा मात्रै पीडा नहुने भन्दै जलन हुँदा शरीरमा लाग्ने दाग कहिल्यै नमेटिने जिकिर गर्नुभयो ।
सो अवसरमा कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले तेजाव आक्रमण जस्ता जघन्य अपराध नियन्त्रणका लागि समाजमा जागरण ल्याउन र पीडितलाई सहयोग उपलब्ध गराउने कुरामा छलफल हुनु आवश्यक रहेकाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल र पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोले अध्यक्ष ओली नेतृत्वको सरकारका समयमा तेजाव आक्रमण विरुद्ध कानुन निर्माण र पीडितलाई न्याय दिने सन्दर्भ भएका कामको चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?