
काठमाडौं । मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि आफ्नो तेस्रो विदेशी खेलाडीका रूपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ । योसँगै मधेश युनाइटेडले इडब्लुभिएलका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यमजिनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरेको थियो । जिनीको कप्तानीमा भारतले गत महिना काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको थियो । ‘अनुभवी सेटर जिनीलाई मधेश युनाइटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुसी छौँ । जिनीको आगमनले मधेश युनाइटेडको टिम अझ राम्रो र मजबुत हुने विश्वास छ,’ मधेश युनाइटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ ।’
जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलिसक्नुभएको छ । जिनीले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताउनुभएको छ । ‘मैले यसअघि नेपाल आएर चारपटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाइटेडबाट खेल्न आउँदैछु । म लिगलाई लिएर एकदमै उत्साहित छु । सबैलाई नेपालमै भेट्नेछु,’ उहाँले भन्नुभयो ।
मधेशले हालसम्म आठ नेपाली र तीन विदेशी गरी ११ खेलाडी सार्वजनिक गरिसकेको छ । मधेश युनाइटेडको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीकी सदस्य निरुता ठगुन्ना हुनुहुन्छ । यस्तै राष्ट्रिय टोलीका संगम महतो र शान्तिकला तामाङ तथा यू-२० टोलीका आशिका क्षेत्री र एलिसा मानन्धर पनि मधेशमै हुनुहुन्छ ।
मधेशले पूजा थारु, जसना महतो र हिरा केसीलाई अनुबन्ध गरेको छ । यसैगरी भरत यादव मुख्य प्रशिक्षक रहेको टोलीले ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासै पहिलोपटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा मधेश युनाइटेड, टिम काठमाडौं, टिम चितवन, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले सहभागिता जनाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच