म्याग्दी । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको फापरखेत पहिरो क्षेत्रमा वैकल्पिक सडक र बेलिब्रिज बनाउनको लागि संघीय सांसद खमबहादुर गर्बुजा (खम्वीर) लगाएतको जनप्रतिनिधिको टोलीले स्थलगत अनुगमन गरेको छ ।
जिल्लाका पश्चिमी भेगका मंगला,मालिका र धवलागिरि गाउँपालिकाका १९ वटा वडा र बागलुङ जिल्लाका सात गरी २६ वटा वडाका करिव ५१ हजार जनताले प्रयोग गर्ने यो सडक फापरखेतको पहिरोका कारण असुरक्षित र पटक पटक अवरुद्ध हुनेगरेको छ ।
बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्न उपयुक्त हुन्छ की वैकल्पिक सडक निर्माण गर्न सकिन्छ भन्ने उपायको खोजीका लागि अनुगमन गरिएको संघीय सांसद गर्बुजाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस म्याग्दीका नेता एवम् मंगला गाउँपालिकाका अगुवा युवा श्रीराम पौडेलका अनुसार जिल्लाको मंगला गाउँपालिका–३, पखेर र वडा नं २ स्थित सिमलचौर पुछार जोड्ने गरी म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि प्रस्ताव गरिएको छ ।
प्रतिनिधि सभा सदस्य गर्बुजा लगायत मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सडक डिभिजन बागलुङका प्राविधिक र स्थानीयवासीले प्रस्तावित स्थानको मंगलबार प्रारम्भिक अध्ययन गरेका हुन् ।
बेलिब्रिज निर्माणको लागि प्रस्तावित ठाउँका जग्गाधनीसँग सहमति जुटाउन गाउँपालिका र वडाका जनप्रतिनिधि, स्थानीय अगुवालाई आफूले सुझाव दिएको सांसद गर्बुजाले बताउनुभयो ।
सहमतिलगत्तै बेलिब्रिज र सडक निर्माणको पक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । “पहिरोमा वैकल्पिक सडक र म्याग्दी नदीमाथि बेलिब्रिज निर्माण गर्न प्रारम्भिक अध्ययन भएको छ । जग्गाधनीसँग सहमति भएपश्चात् विस्तृत अध्ययन गरेर सडक र पुल निर्माणको प्रक्रिया अघि बढ्छ” उहाँले भन्नुभयो ।
बेलिब्रिज बनाउने संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय तथा मातहत महाशाखा र विभागसँग छलफल र समन्वय भैरहेको सांसद गर्बुजाले बताउनुभयो । उहाँले गएको साउनमा पनि गृहमन्त्री रमेश लेखकलाई भेटेर वैकल्पिक सडक र बेलिब्रिज निर्माणको आग्रह गर्नुभएको थियो ।
१९ वर्षअघि २०६२ सालमा सडकको मार्ग खोल्नु अघिदेखिकै पहिरो नरोकिँदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरबाङ सडकमा वर्षायाममा सीधा यातायात सेवा प्रभावित हुने गरेको छ ।
सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवतजावत बन्द हुने र ढुङ्गा, माटोसहितको पहिरो खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ । सडक माथिबाट खस्ने पहिरोले यात्रा जोखिमपूर्ण बनिरहेको छ ।
फापरखेतको पहिरोमा करोडौं लगानी भए पनि सफल नभएपछि सिमलचौर पुछार र पखेर जोड्ने म्याग्दी नदिमाथि बेलिब्रिज बनाएर सडक सञ्चालन गर्न प्रस्ताव गरिएको मंगला–२, बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षत्रीले बताउनुभयो ।
वैकल्पिक सडक र बेलिब्रिज निर्माणको लागि पखेरका जग्गाधनीसँग छलफल गरेर सहमति जुटाउन गाउँपालिका र वडाले पहल थाल्ने गाउँपालिका उपाध्यक्ष क्षत्रीले बताउनुभयो । “फापरखेत पहिरोले सबैलाई सास्ती भएको छ, यसको विकल्पमा वैकल्पिक सडक र पुल बनाउन जग्गाधनीसँग सहमति जुटाउनको लागि गाउँपालिका र वडाले आवश्यक समन्वय तथा छलफल गर्छौं” उहाँले भन्नुभयो ।
सडक डिभिजन बागलुङका सव–इन्जिनियर सुरेश भण्डारीले सम्बन्धित जग्गाधनीसँग सहमति जुटेपछि विस्तृत अध्ययनको काम अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मोटरेवल पुलभन्दा करिब दुईसय मिटरमाथि पखेर र सिमलचौर जोड्ने करिब ५५ मिटर लामो बेलिब्रिज र डेढसय मिटर पहुँचमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययन गर्दा निष्कर्ष निकालेका छौं ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच