सुरु भयो मधेशमा आन्दोलन, राष्ट्रपतिको कदमले चुनाव प्रभावित हुने संशय

हिमालय टाइम्स
Read Time = 5 mins

पुरन साह/हिटा
जनकपुरधाम । दुई सदनबाट पारित नागरिकता विधयेक आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः प्रतिनिधिसभामा फिर्ता पठाइदिएपछि मधेशमा विरोध हुन थालेको छ । मधेशमा मधेश केन्द्रित दल मात्र नभई सत्तारूढ दलहरू समेत विरोधमा उत्रेका छन् । संघीय सरकारविरुद्व मधेश सरकार आफैँ आन्दोलन र धर्नामा रहेको बेला मधेशमा अर्को आन्दोलन र प्रदर्शन सुरु भएको छ ।

पुनर्विचार गर्न आवयश्क रहेको भन्दै राष्ट्रपति कार्यालयले दुईवटै सदनबाट पारित नागरिकता विधेयकलाई पुनः संसद्मै फिर्ता गरेपछि शान्त रहेको मधेशमा आन्दोलन र प्रदर्शनको वातावरणको सृजना भएको छ । आगामी मंसिर ४ मा प्रदेश र संघको आम निर्वाचन घोषणा भइसकेको बेला राष्ट्रपतिको कदमले मधेशमा आन्दोलनको अशान्तिको सृजना गर्ने देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
नागरिकताको मुद्दा उठाउँदै आएका मधेश केन्द्रित दलका साथै मधेशमा मतको अपेक्षा गरिरहेको कांग्रेस र माओवादी केन्द्रले समेत भोटका लागि भए पनि राष्ट्रपतिको कदमको विरोध गर्ने मनस्थिति बनाएको पाइन्छ । सोमबार बिहानै कांग्रेसले पूर्व-पश्चिम राजमार्ग जोड्ने धनुषाको ढल्केबरमा केहीबेर चक्काजाम गर्दै राष्ट्रपतिविरुद्व प्रदर्शन गरेका थिए ।

सोमबार जनकपुरधाम आइपुग्नुभएका जसपाका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक फिर्ता गरेर चुनावका बेला देशलाई द्वन्द्वमा धकेल्ने काम भएको बताउनुभयो । विधेयकमा नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने कुरा मात्र उल्लेख रहे पनि राष्ट्रपतिले यो कदम चाल्नु शंकास्पद रहेको उहाँको भनाइ थियो ।

अझै पनि कांग्रेस र कम्युनिष्टको वर्चस्व रहेको यो देशमा अनेकन संघर्षपछि नागरिकता कानुन पास भए पनि एमालेको अध्ययनबिना हतारमा अध्यादेश जारी गर्ने राष्ट्रपति सोही अध्यादेशलाई अहिलेको कानुनको रूपमा पारित गर्दा फिर्ता पठाउनु धरै ठूलो षड्यन्त्र रहेको र नागरिकलाई नागरिकताविहीन बनाउने खेल रहेको जिकिर गर्नुभयो ।

राष्ट्रपतिको कदमविरुद्व लोसपाले विरोध ¥याली गर्दैछ भने जसपाले सोमबार जनकपुरधाममा साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । नागरिकता विहीनहरूको राष्ट्रिय अभियानले पनि सोमबार जनकपुरधाममा राष्ट्रपतिको विरोधमा प्रदर्शन गरेको छ । सिरहाको गोलबजारमा डा. सिके राउतको जनमत पार्टीले राजमार्गमा आन्दोलन तताएको छ । तमलोपाले आइतबार नै राष्ट्रपतिको कदमको विरोध गर्दै विज्ञप्ति निकालिसकेको छ भने लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि सोमबार विज्ञप्ति जारी गर्दै विरोध जनाउनुभएको छ ।

एकातर्फ मधेश सरकार प्रहरीको सुरक्षा घेराभित्र धर्नामा छ भने अर्कोतर्फ मधेशका जनता सडकमा उत्रन थालेका छन् । यसले मधेशमा पुनः अशान्ति र द्वन्द्वलाई संकेत गरिरहेको छ । उक्त विधेयकमा संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरेको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४औँ दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएपछि मधेशमा आन्दोलन सुरु भएको हो । यस्तै, तराई मधेशका अन्य ठाउँमा प्रदर्शन सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?