म्याग्दी । सडक,ढल,जथाभावि गरिएको उत्खनन् र मानवीय अतिक्रमणका कारण धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी (कालीगंगा)को जल सभ्यता संकटमा पर्दै जान थालेको छ ।
पवित्र कालीगण्डकी नदीको प्राकृतिक रुप पछिल्ला केही वर्षयता नासिँदै गएको छ भने गंगाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएकोले नदीको निर्मल स्वरुप हराउदै गएको सरकोकारवालाहरुले बताएका छन् ।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा निर्मल गंगाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवि उपाध्यायले बताउनुभयो ।
बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसंगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा,माटो,गेगर र सडककै कारण वर्षेनी बाढी पहिरोले गर्दा पवित्र नदी कालीगण्डकीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएर सडक साघुरो भए पछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगरहरु कालीगण्डकीमा खसाल्दै आइएको छ ।
डोजर र स्काभेटरले जथाभावि उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिदै गएको छ । वालुवा,ढुंगाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्का कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणीहरु बसाइ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वातावरण संरक्षणकर्मी हरि सिग्देलले बताउनुभयो ।
सर्वोच्च अदालतले समेत गत नदी उत्खनन्, नदीमा फोहोर विर्सजन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । तर, यी कार्यहरु अझैसम्म पनि नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको भनाइरहेको छ ।
नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय संकट समेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोका कारण तटीय वस्तीहरु जेखिममा पर्दै जान थालेका छन् । नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्चरुपमा बढ्दै गएको छ ।
कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले दुई वर्षअघि २०७९ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको छ ।
तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अन्तरिम आदेश दिएको हो ।
यस्तो छ कालीगण्डकीको महत्व
कालीगण्डकी केवल पानीले निकास खोज्दै उंधोतिर बगेको नदीमात्र होइन, यो त सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहर हो भन्ने कुरा विर्सदा कालीगण्डकीको सभ्यता संकटमा पर्दै गएको सरोकारवालाहरुको बुझाइ छ ।
राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौं वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्वन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
विश्वकै एकमात्र शालिग्राम पाइने नदीको रुपमा यसको बेग्लै पहिचान बनेको छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि राम्रो हुने जनविश्वास अहिले पनि त्यतिकै व्याप्त रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
कालीगण्डकीको महिमा यतिमै मात्र सीमित रहदैन । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभएर पशु,पंक्षी,किट,पतंगदेखि लिएर मानव जातीलाई समेत सेवा पु¥याएको प्राकृतिक सेवक पनि भएको पं भीमनाथ पराजुलीले बताउनु भयाे । ‘कालीगण्डकीको धार्मिक महत्व त अवर्णनीय छ नै,यसको जैविक,सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन’, पं पराजुलीले भन्नभयाे ।
कालीगण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यसवाट हजारौं हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत ऊर्जा निकालिएको छ । नेपालकै सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ ।
‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गंगा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’
राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनि प्रश्न गरि लेखेको यो कवितांशमा नै कालीगण्डकीको महिमा झल्किएको छ ।
शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाउमा मानवीय प्रहार हुन थालेपछि पवित्र नदी कालीगण्डकीको सभ्यता र अस्तित्व दुवै संकटमा परेको म्याग्दीका सरोकारवालाहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच