काठमाडौं । नियमित ओलम्पिक खेलमा तामझाम धेरै भए पनि नेपालमा पदक भने पारालम्पिकबाट प्राप्त भएको छ । पारालम्पिक अपांगता भएका खेलाडीहरूको विश्वस्तरीय खेलकुद प्रतियोगिता हो । यही खेलबाट पलेसा गोवर्धनले नेपाललाई तेक्वान्दोमा कांस्य पदक दिलाएपछि उहाँको भव्य स्वागत गरिएको छ । पेरिसमा पारालम्पिक्स, २०२४ अन्तर्गत भएको पारा तेक्वान्दोको महिला ५७ केजीमुनिको प्रतियोगितमा पलेसाले कांस्य पदक प्राप्त गर्नुभएको हो । पलेसालाई युवा तथा खेलकुदमन्त्री लगायतले विमानस्थलमै स्वागत गर्नुभएको थियो । उहाँलाई स-सम्मान नगर परिक्रमा गराइएको छ । नेपालका खेलाडी जुन वर्गमा भए पनि सम्भावनायुक्त छन् भन्ने यसबाट पुनः पुष्टि भएको छ । नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
ओलम्पिक यात्राको ६० वर्षपछि नेपाललाई पदक
ओलम्पिक यात्राको ६० वर्षपछि नेपालले पदक प्राप्त गरेको छ । ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्ष अगाडिदेखि खेल्न थालेको पारा–ओलिम्पिक्समा नेपालले पदक जित्न सकेको थिएन । ओलिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडीको रूपमा कहिल्यै नमेटिने इतिहास पलेशाको नाममा रचिएको छ ।
सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले कांस्य जित्नुभएको थियो । तर, प्रदर्शनी खेल भएकाले पदक तालिका र नेपालको ओलम्पिक इतिहासमा उक्त पदकले आधिकारिकता पाउँदैन ।
पलेशा यसअघि सन् २०२४ मा उहाँ एशिया छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारलिम्पिक्समा छनोट हुनुभएको थियो । पलेशाले कांस्य पदक जित्न कुल तीन खेल जित्नुभएको हो । गत वर्ष चीनको पारा एसियाली खेलकुदमा उहाँले कांस्य जित्नुभएको थियो । जुन नेपालको एसियाडमा पहिलो कांस्य थियो । त्यस्तै, पेरिस पारलम्पिकको एसियाली छनोटमा उहाँले स्वर्ण पदक जितेर ओलम्पिक पुग्नुभएको थियो । छनोट चरण पार गरेर ओलम्पिक पुग्ने उहाँ पहिलो पारा खेलाडी हो ।
अब भन्न सक्छौँ, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेशा
पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वका साथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताउनुभएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उहाँले सबैको आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । ‘एकदमै खुसी छु म आज किनकि मैले आशा गरेको थिइनँ कि आज गोल्ड मेडल हात पार्न सक्छु भनेर, सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर मैले त्यो पूरा गरेर फर्किएकी छु । यो मेडल मेरो मात्र होइन सबैको हो । अब हामी गर्वको साथ भन्न सक्छौँ कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ,’ उहाँले भन्नुभयो ।
पारातेक्वान्दोमा ६ अन्तर्राष्ट्रिय पदक
पेरिस पारालम्पिकको पदक पलेशाको करिअरको छैटौँ अन्तर्राष्ट्रिय पदक हो । यसक्रममा उहाँले तीन स्वर्ण र तीन कांस्य जित्नुभएको छ । पलेशाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता-२०१८, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स-२०२१ तथा चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोट-२०२४ मा स्वर्ण जित्नुभएको थियो । ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेशाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गर्नुभएको थियो ।
उहाँले सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद-२०२२ मा कांस्य जित्नुभएको थियो ।
राष्ट्रपतिसहित विभिन्न संघ संस्थाबाट सम्मान
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन सहितको टोलीलाई सम्मान गर्नुभएको छ । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमका बीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियोे । राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उँचो पार्ने काम भएको र अर्कोपटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताउनुभयो ।
सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबुआमा र खेल संघका पदाधिकारीहरूको सहभागिता थियो ।
यस्तै, पलेशालाई काठमाडौं महानगरपालिकाले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ । पारालम्पिकमा सहभागिता जनाएर बुधबार बिहान नेपाल फर्कनुभएकी पलेशालाई महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपैयाँबाट सम्मान गरेको छ । पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी लगायतले सम्मान गर्नुभएको थियो ।
त्यस्तै, गौरवमय इतिहास रच्दै नेपाललाई अहिलेसम्मकै ठूलो पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेशा सहितका खेलाडीलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशको प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकलाई एनसेलले नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
पलेशालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा एनसेलले गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरूप यो सम्मान तथा सहयोग गर्न लागिएको जनाएको छ ।
सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्ने
नेपाललाई पहिलोपटक ऐतिहासिक पदक दिलाउने पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नुुहुने छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई एक करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच