आज हिन्दु महिलाहरूको विशेष पर्व तीजअन्तर्गतको दर खाने दिन हो । भोलि व्रत बस्दछन् । ऋषिपञ्चमीमा ऋषिहरूको पूजा आराधानासँगै महिलाहरूको यो पर्व सकिएको उद्घोष गरिन्छ । यही महान् पर्वका सन्दर्भमा विगत एक डेढ दशक अघिदेखि प्रत्येक वर्ष तीज भड्किलो हुँदै गएको टिप्पणी सुनिँदै आइएको छ । प्रत्येक वर्ष तीज आउँछ र जान्छ । तीज आउँदै गर्दा त्यसको महत्ता, आधुनिक युगका मानिसहरूको चाडपर्व मनाउने तौरतरिकामा फेरिएको प्रवृत्ति र जानेर वा नजानेर प्रवेश हुँदै गरेका वा गराइएका विकृतिका सन्दर्भमा टीकाटिप्पणी चल्दै जान्छन् । तीज जति नजिकिन्छ, यसको चर्चा उति नै चुलिन पुग्दछ र तीज सकिएको भोलिपल्टदेखि सबै चर्चाहरू स्वतः सामसुम हुने गरेका छन् ।
यस वर्ष त काठमाडौँ जिल्ला प्रशासन कार्यालयलगायतका मुलुकका केही सरकारी निकायहरूले तीजलाई भड्किलो नबनाउन र संयमित तबरले मनाउन आग्रह गर्दै विज्ञप्ति नै जारी गरे । यतिसम्मको उर्दी जारी गरे कि प्रशासनलाई पचेन वा असहज व्यवहार देखियो भने कारबाही गर्नेसम्मको त्रास देखाए तर पनि विगतका वर्षमा तीज जसरी मनाइन्थ्यो त्यसमा एक अँगुल पनि तलमाथि भएको देखिएको छैन । उत्सव मनाउने क्रममा विकृतीजन्य व्यवहारमा भने केही थप भएको अनुभव गरिएको छ । परम्परागत शैलीभन्दा पर्व मनाउने सिलसिलामा नेपाली महिलाहरू केही माथि उठ्दै गरेको समेत देखिएको छ ।
गाउँघरमा अझै पनि त्यति धेरै परिवर्तन भएको पाइँदैन । शहरमा बढेको प्रवृत्तिलाई लिएर हुने टीकाटिप्पणीले मुलुकको समग्र प्रतिनिधित्व गर्दछ भन्न सकिँदैन तर सञ्चार सुविधा र प्रचार शैलीका कारण शहरका क्रियाकलापहरूले बढी स्थान ओगट्ने हुँदा मुलुकभरमै नयाँ चालचलन झ्याँगिएको हो कि भन्ने भान पर्दछ ।
समाज परिवर्तनसँगै समाजका सबै अंगहरू स्वाभाविक रूपले परिवर्तन हुँदै जान्छन् । विकासमा मारिएको फड्कोले मानिसहरूको आनीबानीमा फरक ल्याउँदै गएकै हुन्छ । प्रविधिहरूमा भएको विकासले सबैको जीवनशैलीमा परिवर्तन भएकै हुन्छ । आर्थिक समृद्धिका दृष्टिले आएको परिवर्तनले मानिसको आहार, व्यवहार, आचरण आदि सबैमा परिवर्तन स्वभावतः हुन्छ । तीस वर्षअघिको नेपाल र अहिलेको नेपालमा सबै दृष्टिकोणले निश्चित रूपमा धेरै परिवर्तन भएको छ भने चाडपर्वहरू उही परम्परागत तबरमै मनाइन्छ भनेर सोच्न कदापि सकिन्न । यतिमात्रै हो कि विकासका नाममा सकारात्मक परिवर्तन भइरहेको छ कि विकृतिलाई बढावा दिँदै गइएको छ भन्नेमा चाहिँ विमर्श हुने हो ।
माइत जाँदा जंगलको बाटो, तीन दिन लगाएर, खोलानाला तर्दै, झण्डै बाढीले बगाएको जस्ता गीतहरू अब नेपालका कुनै एका दुई ठाउँबाहेकका महिलाले गीतमा विरह पोख्ने विषय हुन सक्दैनन् । नेपाली जनमानसमा चेतना बढ्दै गएका कारण अत्यन्त पिछडिएका क्षेत्र र असाध्यै गरिबीमा फसेका केही परिवारका महिलाबाहेकका परिवारका महिलाहरूका निम्ति आजका दिनमा सासूले खान दिइनन्, पतिले कुट्छन्, ससुराले पिँढीमा सुताए जस्ता गीतहरूको सान्दर्भिकता पनि हराउँदै गएकोमा कुनै शंका छैन । कुनै परिवारहरू त्यस्ता भेटिए भने अपवाद मान्नु सिवाय केही होइन भन्न सकिन्छ ।
हरेक चिजका दुई पाटाहरू हुन्छन् । प्रत्येक वस्तु र क्रियाकलापले सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रिया व्यक्त गर्दछन् । कुनै पनि चिजबाट राम्रो मात्रै अपेक्षा गर्न सकिँदैन । त्यस्तै हो नेपालीहरूले चाडपर्व मनाउने शैलीमा आएको परिवर्तनले सकारात्मक मात्रै परिणाम दिने भन्ने आशा गर्न सकिँदैन । राम्रो र प्रगतिका लागि गरिएको परिवर्तनका साथमा नकारात्मक परिणामहरू पनि आइरहेका हुन्छन् तर त्यस्तो नकारात्मकतालाई न्यूनीकरण गर्नसक्ने कि नसक्ने भन्ने मात्रै हो । नकारात्मकता हावी भयो भने परिवर्तनको असर अस्वीकार्य हुँदै जान्छ भने सकारात्मक परिणामहरू बढ्दै गएमा परिवर्तनलाई समाजले स्वीकार गर्दै जान्छ ।
गाउँघरमा अझै पनि त्यति धेरै परिवर्तन भएको पाइँदैन । शहरमा बढेको प्रवृत्तिलाई लिएर हुने टीकाटिप्पणीहरूले मुलुकको समग्र प्रतिनिधित्व गर्दछ भन्न सकिँदैन तर सञ्चार सुविधा र प्रचार शैलीका कारण शहरका क्रियाकलापले बढी स्थान ओगट्ने हुँदा मुलुकभरमै नयाँ चालचलन झ्याँगिएको हो कि भन्ने भान पर्दछ । यद्यपि अहिलेको चुनौती भनेको पर्व मनाउने प्रवृत्तिमा आएको नयाँ परम्परालाई हाम्रा प्राचीन मान्यतासहितको बनाइ आफ्नो मौलिकता गुम्न नदिनु हो । कतिपयको आडम्बरले पुरानो प्रचलन कत्ति पनि नसमेट्ने गरेको हुँदा बारम्बार प्रश्न उठ्ने गरिरहेका छन् ।
शहरमा चल्ने चर्चा भनेका तारे होटलहरूमा तीज मनाइयो, पार्टी प्यालेसहरूमा कार्यक्रम आयोजना गरिए, महिना दिनअघिदेखि आडम्बर प्रदर्शन गरियो जस्ता सन्दर्भ हुन् । यसरी मनाइएका कार्यक्रमलाई हेर्ने दृष्टिकोण दुई थरि बनेका छन् । समाजशास्त्री र अर्थशास्त्रीहरूको हेराइ एकखाले रहने गरेको छ भने समाजवादी चिन्तकहरूका अर्कैखाले धारणा रहिआएको पाइन्छ । सरसर्ती हेर्दा दुवैखाले टिप्पणीहरू मननयोग्य देखिन्छन् र तिनको समन्वय नै आजको खाँचो बनेको छ । एकांगी नजरले हेरियो भने दुवै तर्कहरू गलत भन्ने पनि ठहर्न सक्दछ ।
समूहमा भोज भतेर गर्दा घरमा थुपारेर राखेका पैसाबाहिर निस्किएका छन् । झट्ट हेर्दा केही सम्भ्रान्त महिलाहरूले होटलमा भोज खाएको जस्तोमात्रै देखिए पनि अर्थतन्त्रमा यसले बहुआयामिक असर पारेको हुन्छ । खाली बसेको पार्टी प्यालेसले काम पाएको छ । त्यहाँका कामदारहरूले रोजगारी पाए । तरकारी पसले, मासु पसलेलगायतका खाद्यान्न बिक्रेताहरूको सामग्री बिक्री भएको छ । गरगहनाको खरिद बिक्री भएको छ । समग्र अर्थतन्त्रमा केही न केही सकारात्मक असर पार्न सक्दछ । खान पाउने र नपाउनेका बीचमा विभेद भयो भन्ने कुरा त प्राचीनकालदेखि नै कसैका घरमा मासुभात पाक्थ्यो, कसैका घरमा खीर आदि हुन्थ्यो भने कसैले खोले खाएर पर्व मनाउनु परेको त कसैका आँखाबाट छिपेको छैन ।
गुनासो बढ्ने भनेको तीजगीतका नाममा छिटोछिटो पैसा कमाउने उद्देश्यले रचिएका छाडा गीतहरूका कारणले भने पक्कै हो । पहिले पहिले विरहका गीत गाउँथे भनेर अहिले पनि विरहकै गीतमा तीज सीमित हुनुपर्दछ भन्ने मान्यता सर्वथा गलत हुन्छ । अब नारी उत्थानका गीत, उत्साहका गीत र मनोरञ्जनका गीतहरूले नारीहरूमा ऊर्जा थप्ने काम गर्न सक्दा राम्रै हुन्छ । उत्ताउला गीतहरूमा रक्सी र बियर पिउँदै अश्लील नृत्यहरू प्रस्तुत हुने गरेकाले त्यस्ता केही अपवादहरूले आफ्नो मनोरञ्जनका लागि भेला भई महिलाहरूले आयोजना गर्ने सबै कार्यक्रमहरू विवादित हुने गरेका छन् । तीजका गीतमा पुरुष महिला बराबरी देखिनु, चेलीबेटीको दरमा पुरुष उत्तिकै सहभागी हुनु जस्ता कुराहरूले केही आशंका बढाएको हुनसक्छ । सचेत हुनुपर्ने के हो भने तीज रत्यौली होइन ।
हरेक कार्यक्रमलाई फलदायी बनाउन सकिन्छ । उदाहरणका रूपमा भदौ १६ गते वाल्मीकि विद्यापीठमा आयोजित मोती जयन्तीको कार्यक्रमलाई लिन सकिन्छ । वाल्मीकि विद्यापीठको नेपाली विभागले आयोजना गरेको कार्यक्रममा प्रा.डा.देवी नेपालले मोतीराम भट्टका बारेमा खोज गरी प्रस्तुत गरेका सामग्री ज्ञानबद्र्धक थिए । समाजले मोतीरामलाई भानुभक्त आचार्य चिनाउने व्यक्तित्वका रूपमा मात्रै चिन्दै आएकोमा ३० वर्षको उमेरमै दिवंगत मोतीरामले कति कृति प्रकाशन गरेका थिए, कति भाषाका ज्ञाता थिए, कति उदाहरणीय कामहरू गरेका थिए भन्ने पूर्ण जानकारी लिन उनै देवी नेपालसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।
स्वतन्त्रता र पर्वका नाममा छाडापनलाई प्रश्रय दिने कार्यहरू हुँदै गए भने चाहिँ विभिन्न आरोपको सामना गर्नुपर्ने मात्रै होइन मौलिक पर्व तीजको अस्तित्व नै नामेट हुन पनि सक्दछ । तीजलाई रत्यौली बनाउने प्रयास किमार्थ गर्न हुँदैन । तीजलाई तीजकै रूपमा रहन दिनुपर्दछ ।
विभागका सदस्यहरूले आफ्नै खल्तीबाट पैसा हालेर आयोजना गरेको उक्त कार्यक्रममा विभागीय प्रमुख प्राडा.नारायण चालिसे, प्रमुख अतिथि प्राचार्य प्राडा.भागवत ढकाल, विभागका सदस्यहरू प्राडा.ध्रुवप्रसाद भट्टराई, डा.गणेश घिमिरे, विष्णुप्रभा सापकोटाहरूले मोतीरामका बारेमा प्रस्तुत गरेका जानकारीमूलक सामग्रीहरू साँच्चिकै नौला थिए । सोही उपलक्ष्यमा नेपाली विभागले विद्यार्थीहरूका बीचमा कविता लेखन प्रतियोगिता पनि सञ्चालन गरेको थियो । शास्त्री अर्थात् स्नातक तहका विद्यार्थीहरूले शास्त्रीय छन्दमा कविताहरू प्रस्तुत गरेर वाल्मीकि विद्यापीठको गुणस्तरीयताका बारेमा प्रकाश पारेका थिए । अन्त्यमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकुलसचिव प्रा.जगत नेपालले विद्यार्थीहरूलाई छन्दमा कविता लेख्दा ध्यान दिनुपर्ने विषयहरूका बारेमा ज्ञान दिएका थिए ।
तीजको प्रसंगमा विनाप्रसंग यो उदाहरण प्रस्तुत गर्नुका तात्पर्य के हो भने आयोजकले हरेक कार्यक्रमलाई रचनात्मक बनाउन सक्दछ । मानिसहरूको हरेक भेलालाई फलदायी बनाउन सकिन्छ । आजभोलि आयोजना हुने तीजका कार्यक्रमहरूमा नाच्न मिल्ने गीतहरूमा कम्मर मर्काउने मात्रै गर्दा समाजले औँलो ठड्याउने गरेको हो । घरमा छ महिनाको शिशु छाडेर बिहान सबेरैदेखि बेलुकी अबेरसम्म पार्टी प्यालेसमै दिन बिताउँदा प्रश्न उठ्ने हो । दुई तीन घण्टाको कार्यक्रम राखेर त्यसमध्येको आधा एकघण्टा तीजको महत्व, तीज मनाउने तरिका, व्रतको महिमा, व्रत बस्ने तरिका आदिका बारेको प्रवचन पनि हुने हो भने कसले कुरा काट्छ र ?
सभ्य तरिकाले नाचगान गर्ने, भेला भएका महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उत्थानका विषयहरूमा चर्चा परिचर्चा समेत राखेर महिला सशक्तीकरणका उपायहरू सोच्ने र छलफल चलाउने हो भने तीज भेलाहरूले नवीन ऊर्जा प्रदान गर्न सक्दछन् । हरेक क्षेत्रमा पछि परिरहेका महिलाहरूको उत्थान केन्द्रित बनाउन सकियो भने तीज भेलाहरूले प्रशंसा पाउन कत्ति बेर लाग्दैन । स्वतन्त्रता र पर्वका नाममा छाडापनलाई प्रश्रय दिने कार्यहरू हुँदै गए भने चाहिँ विभिन्न आरोपहरूको सामना गर्नुपर्ने मात्रै होइन मौलिक पर्व तीजको अस्तित्व नै नामेट हुन पनि सक्दछ । तीजलाई रत्यौली बनाउने प्रयास किमार्थ गर्न हुँदैन । तीजलाई तीजकै रूपमा रहन दिनुपर्दछ ।
श्रीमान्ले श्रीमतीका लागि व्रत बस्नु नपर्ने तर श्रीमान्का लागि हामी किन व्रत बस्ने जस्ता कुरा उत्तेजनाका लागि बाहिर ल्याउने काम पनि भइरहेका छन् । हिन्दु धर्मप्रति अनास्था बढाउने यस्ता काम प्रायोजित तबरले हुँदै आएका कुराहरू पनि महिला सचेत हुन जरुरी छ । आजसम्मको इतिहासमा पुरुषको त्यागले महिलाको शक्ति बढेको कुनै इतिहास छैन तर महिलाको सतीत्वका कारण पुरुषले विजय प्राप्त गरेका पर्याप्त इतिहास छन् । अर्काको लहैलहैमा लागेर आफ्नो धर्म, संस्कृति र परम्परामा आँच आउन नदिन पनि हरेक महिला त्यत्तिकै सचेत हुन जरुरी छ । तीज हो, सबै दिदीबहिनीहरूले खुलेर मनाउन पाउनुपर्दछ । खुल्नुको मतलब लुगा खोल्नु कदापि होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच