लिस्बोन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करिअरमा ९०० गोल पूरा गर्नुभएको छ । अन्तर्राष्ट्रिय फिफा विन्डोमा भएको नेसन्स लिगअन्तर्गतको खेलमा क्रोएसियाविरुद्ध एक गोल गरेसँगै रोनाल्डोले यो कोसेढुंगा छुनुभएको हो । अन्तर्राष्ट्रिय करिअरमा भने रोनाल्डोको यो १३१औं गोल हो । क्रोएसियाविरुद्ध पोर्चुगलले २-१ को जित निकालेको थियो ।
पोर्चुगलले युइएफए नेसन्स लिगमा विजय हासिल गर्दै क्रोएसियालाई २-१ ले पाखा लगाएको हो । बिहीबार राति भएको खेलमा रोनाल्डोसँगै डियोगो डालोटले एक गोल गर्नुभयो ।
सातौं मिनेटमा डियोगोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाउनुभएको थियो । ३४औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २-० को अग्रता बनायो । तर, ४१औं मिनेटमा क्रोएसियाले उपहार गोल पाएको थियो । पोर्चुगलका डालोटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल २-१ को अवस्थामा सकिएको हो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेलमा पोर्चुगल २-१ ले विजयी भयो । जितसँगै पोर्चुगलले तीन अंक जोडेको छ ।
यससँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ । फुटबल करिअरमा क्लब र देशका लागि ९०० गोल गर्ने उहाँ पहिलो खेलाडीसमेत बन्नुभएको छ । रोनाल्डोको यो १३१औं अन्तर्राष्ट्रिय गोल हो । युरो कप २०२४ का पाँच खेल खेल्नुभएका उहाँ गोललविहीन बन्नुभएको थियो । पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उहाँले ९००औं गोल गर्ने क्रममा ४५० गोल स्पेनिस महारथी रियल मड्रिडबाट गर्नुभएको छ । पोर्चुगलको राष्ट्रिय टोलीबाट १३१, इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट १४५, इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सबाट १०१, अल-नासरबाट ६८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गर्नुभएको हो ।
रोनाल्डो आफ्नो फुटबल करियरको अन्त्यतिर हुनुहुन्छ । यद्यपि, उहाँले तत्कालै द्ध लिने मन बनाउनुभएको छैन । ‘यसले धेरै अर्थ राख्छ,’ खेलपछि रोनाल्डोले भन्नुभयो, ‘यो एक माइलस्टोन थियो, जुनमा म लामो समयसम्म पुग्न चाहन्थें । म यो नम्बरमा पुग्नेछु भन्ने मलाई थाहा थियो ।’ एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच