झापा । निर्माणाधीन एशियन हाइवे अन्तर्गत पूर्वपश्चिम राजमार्गको झापा काँकरभिट्टा -लौकही सडकखण्डमा १० स्थानमा ओभरपास बन्ने भएको छ । झापा, मोरङ र सुनसरीमा गरी १० वटा ओभरपासको नक्सा तयार भएको छ ।
झापाको चारआली , बिर्तामोड, दमक, मोरङको दुलारी बाँसबारी तथा सुनसरीको इटहरी र कंलकीमा ओभरपासको डिजाइन तयार भएको छ । साविक सतहभन्दा माथिबाट सवारी साधन गुड्ने ओभरहेड, ५२ वटा पुल र २८९ कल्भर्टको एकैसाथ निर्माण हुनेछन् ।
आयोजना प्रमुख जगत प्रजापतिका अनुसार झापाको चारआली, बिर्तामोड र चारपानेमा एकएकवटा ओभरपास राखिएको छ । दमकको पशुहाट, मुख्यचोक र भाटभटेनी आसपास तीनवटा ओभरपास निर्माण हुनेछन् । दमक र इटहरीमा तीनवटा ओभरपास डिजाइन तयार भइसकेको छ । सहरी क्षेत्रको व्यस्ततालाई ध्यानमा राखेर त्यस्तो डिजाइन गरिएको हो।
मोरङको बाँसबारीमा क्रसिङ हाइवेको अवधारणा अन्तरगत माथिबाट र माइनररोड तलबाट हुनेगरी डिजाइन प्रमुख प्रजापतिले बताउनुभयो । कल्भर्ट र पुल निर्माण सुरु भएपनि ओभरपास निर्माण भने सुरु भएको छैन।
इटहरीको जुटविकास क्षेत्र , मुख्यचोक र कलंकीमा तीनवटा ओभरपास निर्माण हुनेछ । चारआली, बिर्तामोड र दमकमा ओभरपास निर्माण हुनेछ। चारआलीमा मेची राजमार्ग र इटहरीमा कोशी राजमार्ग तल र एशियन माथि हुनेछ ।
यसबाहेक बीचबीचमा सानासाना क्रसिङ–वे बन्ने छ। दमक, उर्लाबारी र विराटचोकमा छुट्टै ओभरहेड क्रसिङको व्यवस्था अनुसार नक्सा तयार भएको छ । पैदलयात्रुको लागि १८ वटा अन्डरपास र १२ वटा पशु क्रसिङसहितको सडक निर्माण हुने आयोजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
हाइवे निर्माण गर्दा पर्यावरणलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भएको आयोजना प्रमुख प्रजापतिले चारआली र बुट्टाबारी बीचको जंगलमा हात्ती आवागमनको लागि क्रसिङ राखिएको जानकारी दिनुभयो ।
वन्यजन्तुको कारण राजमार्गमा अवरोध नहोस् भन्ने ध्येयले क्रसिङको प्रबन्ध गरिएको उहाँको भनाइ छ । राजमार्ग निर्माणसँगै वन्यजन्तुको वासस्थानसमेत सुरक्षित गर्न खोजिएको उहाँले जानकारी दिनुभयो।
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा निर्माणाधीन आयोजनाको ५७ किलोमिटरमा चार लेनसहित २४ मिटर चौडाइको सडक निर्माण हुनेछ । बिर्तामोड, दमक, उर्लाबारी, इटहरीलगायत सहरी क्षेत्रमा दायाँबायाँ ६.५ मिटरको फुटपाथ निर्माण हुनेछ ।
हाइवे निर्माण हुने सहरी क्षेत्रमा २८.४ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नति हुनेछ । ३ मिटर चौडाइको डिभाइडर र दुवैतर्फ फुटपाथ अनिवार्य निर्माण गरिनेछ।
एशियाली विकास बैंक (एडीबी) को ८४ दशमलव १० प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव ९० प्रतिशत लगानीमा हाइवे निर्माणको काम सुरु भएको करिब एक वर्ष बित्न लागेको छ । सडकको दुबै तर्फका रुख हटाउने र किनारा सफा गर्ने काम लगभग सकिएको छ ।
कुल ३४ अर्ब ९१ करोड लागतमा सम्पन्न हुने आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक किनारका मठमन्दिर, सडक बीचका स्तम्भ तथा शालिक हटाउन सकिएको छैन। कामको गति भने धिमा देखिएको छ । बर्खाका कारण पनि कामको गति सुस्त भएको हो।
म्यानमार, बंगलादेश, भारत, पाकिस्तान र इरानसम्म फैलिएको यो विशाल सडक सञ्जालले यी देशका प्रमुख सहर तथा सांस्कृतिक केन्द्रलाई समेट्ने बताइएको छ । एकसय किलोमिटर प्रतिघण्टाको स्पिडको लक्ष्य सहित निर्माण भएको हाइवेले नेपाललाई दक्षिण एसियाली मुलुकका प्रमुख सहरहरुसँग जोड्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच