काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन महामन्त्री डा.शशांक कोइरालाले खुला केन्द्रीय सदस्यमा सर्वाधिक लोकप्रिय मत हासिल गर्नुभयो । सभापतिको दाबेदार भए पनि अन्तिम समयमा केन्द्रीय सदस्यमा मात्रै उम्मेदवार बन्नुभएका उहाँले सभापतिमा कसलाई समर्थन गर्ने भन्नेबारे औपचारिक संकेत गर्नुभएको थिएन । शशांक ‘मौन’ बसेकै कारण सभापतिमा शेरबहादुर देउवाको निरन्तरता हुन सकेको विश्लेषण कांग्रेस वृत्तमा हुँदै आएको छ । गत संसदीय निर्वाचनपछि कांग्रेस संसदीय दलको निर्वाचनमा शशांकले दलको नेतामा देउवालाई नै मत दिनुभयो । त्यतिबेला उहाँले संसदीय दलको नेतामा डा.शेखर कोइराला उम्मेदवार बने आफूले मत दिने बताउनुभएको थियो । शेखरले महामन्त्री गगन थापालाई दलको नेतामा उम्मेदवार बनाएपछि भने शशांकले देउवालाई मत दिनुभयो । दाजु शेखर उम्मेदवार भए संसदीय दलमा सघाउने बताएका शशांक अब भने आफैँ कांग्रेस सभापतिको उम्मेदवार बन्ने हुनुभएको छ ।
निवर्तमान महामन्त्री शशांकले सोमबार कांग्रेसको बागमती प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रममा आफू अब सभापतिको चुनाव लड्ने विचारमा रहेको बताउनुभयो । बिपी कोइरालाको छोरा भएका कारण पार्टीभित्र र बाहिर सबैले आफूलाई माया गरेको भन्दै शशांकले अब सभापतिको तयारी गर्ने संकेत गर्नुभएको हो । ‘म बिपीको छोरा भएकाले पनि सबैले सहयोग गर्नुहुन्छ । संसदीय चुनाव पनि धेरैपटक जितिसकेँ । अब सभापति लड्ने विचार गर्दै छु’, शशांकको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशन कोइराला परिवारको विरासत जोगाउने अन्तिम अवसरका रूपमा रहने निश्चित छ । केन्द्रीय राजनीतिमा सक्रिय शशांकभन्दा अगाडि नै दाजु शेखरले आफू सभापतिको स्वाभाविक दाबेदार रहेको बताइसक्नु भएको छ । शेखरको उम्मेदवारीलाई नेतृ सुजाता कोइरालाले समर्थनसमेत गरिसक्नु भएको छ । यस्तो अवस्थामा शेखर र शशांक दुवै उम्मेदवार बन्ने सम्भावना पनि यथावत रहेको छ ।
सार्वजनिक मञ्चहरूमा कोइराला परिवारका नेताहरूले आगामी निर्वाचनमा आफूहरू एकताबद्ध हुने उद्घोष गर्ने गरेका छन् । गत महाधिवेशनमा भने दाजु शेखर सभापतिको उम्मेदवार रहँदा शशांक ‘मौन’ बसेर सदस्यको उम्मेदवार बन्नुभयो भने सुजाता प्रकाशमान सिंहको टिमबाट उपसभापतिको प्रत्यासी रहनुभयो । कांग्रेस महाधिवेशनका लागि कम्तीमा डेढ वर्ष बाँकी छँदै भावी नेतृत्वको बहस सुरु भइसकेको छ । सभापति देउवा विधानअनुसार सभापतिको प्रत्यासी बन्न नमिल्ने भएकाले कांग्रेसका नेतृत्व हस्तान्तरण हुने निश्चित छ । यद्यपि, देउवाले कसलाई समर्थन गर्नुहुने छ भन्ने विषय अझै खुलिसकेको छैन । धेरैले श्रीमती आरजु देउवालाई नै सभापतिको उम्मेदवार बनाउने सम्भावना देखेका छन् । कतिपयले भने विगतदेखिकै सुमधुर सम्बन्धका कारण देउवाको समर्थन शशांकलाई हुनसक्ने पनि उल्लेख गर्छन् । देउवाको निर्णयले कांग्रेस महाधिवेशनमा प्रभाव पर्ने भने निश्चित छ ।
अहिले कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का पनि सभापतिको दाबेदार हुनुहुन्छ । विगतमा सभापतिमा प्रतिस्पर्धा गर्नुभएका प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि यो दौडबाट अलग हुनुहुन्न । यस्तो अवस्थामा बिपीपुत्र शशांकले पनि आफूलाई उम्मेदवारको रूपमा अघि सार्दा कांग्रेस वृत्तमा नयाँ समीकरण बन्ने र पुराना समीकरणहरू भत्कने सम्भावना देखिन्छ । ‘शशांक कोइरालाको छुट्टै गुट छैन तर सबै गुटका नेताले उहाँलाई माया गर्नुहुन्छ । सबै गुटका साझा बन्नसक्ने खुबी भएका कारण शशांकदाको उम्मेदवारीले विशेष अर्थ राख्नेछ’, शशांकनिकट नेताको भनाइ छ । विगतमा महामन्त्री हुँदा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र सभापति देउवासँग मिलेको आरोप शशांकलाई लाग्ने गरेको थियो । अब भने विगतका आरोपको अर्थ नहुने शशांकका समर्थकहरूको दाबी छ । सभापतिमा उम्मेदवार बन्नेबारे सार्वजनिक अभिव्यक्ति दिए पनि कोइराला परिवारबाट एकैजना उम्मेदवार बन्नुपर्ने भनी पार्टीभित्र सुरु हुने दबाबलाई शशांक र शेखर दुवैले झेल्नुपर्ने हुन्छ । ‘हिजोजस्तो कोइराला परिवार तीनतिर हुने हो भने कांग्रेसमा उहाँहरूको भविष्य सकिन्छ । अन्तिमसम्म कोइरालाहरू मिलेर जाने सम्भावना टुंगिसकेको छैन’, दुवै कोइरालासँग संगतमा रहेका एक नेताको भनाइ छ ।
सभापति देउवाको दोस्रो कार्यकाल विधानतः २०८२ मंसिरमा सकिन्छ । विधानले एक वर्ष विशेष परिस्थितिमा कार्यकाल थप्ने अधिकार दिएको छ । संविधानले राजनीतिक दलहरूको आवधिक निर्वाचन बढीमा साढे पाँच वर्षसम्म हुनसक्ने व्यवस्था गरेको छ । यही संवैधानिक प्रावधान देखाएर २०८४ वैशाखसम्म आफ्नो कार्यकाल लम्ब्याउने सभापति देउवाको सोच छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच