पाल्पा । दशकअघि पाल्पाका डाँडा र फाँटहरुमा देखिने जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने गिद्ध केही समययता लोप हुँदै गएका छन् । वासस्थान तथा शुद्ध आहाराको अभाव, अवैज्ञानिक ढङ्गले विस्तार गरिएको विद्युतीय तार लगायतका कारणले गिद्ध लोप हुँदै गएका हुन् ।
एकातर्फ मानवीय सचेतनासँगै जथाभाबी फालिने सिनो गाड्ने वा व्यवस्थित रूपमा राख्न थालेपछि गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले गिद्ध कम हुँदै गएका छन् । अर्कोतर्फ घरपालुवा जनावरमा डाइक्लो फिनेक जस्ता एन्टिबायोटिक औषधिको प्रयोगका कारणले पनि पाल्पासहित देशैभर गिद्ध लोप हुँदै गएको जानकारहरू बताउँछन् । केही वर्षअघिसम्म पाल्पाको माथागढी, तानसेन, बगनासकाली, रामपुर क्षेत्रमा गिद्धको बासस्थान रहेको थियो । तर सामुदायिक र निजी जग्गाका ठूला पीपल र सिमलका रुख काटिन थालेपछि गिद्ध बासस्थान छाडेर अन्तै जाने गरेको बगनासकालीका कृष्ण बस्याल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘केही वर्षअघिसम्म नजिकैको पीपलमा गिद्धले आफ्नो बच्चा हुर्काउँथ्यो अहिले यहाँका गिद्ध कहाँ गए । एक दशक भयो देखिन छाड्यो ।’ बासस्थान बनाउने ठूला पिपल, बर, सिमलका रुखको नास भएपछि गिद्धले बासस्थान छाड्दै गएका छन् । जिल्लामा गिद्ध लोप हुँदै जान थालेपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । जिल्लाको तानसेन नगरपालिका-९ मा रहेको अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति र पंक्षी संरक्षण संघले संयुक्त रुपमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले गिद्धको संरक्षण नहुँदा लोप हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले मानवकै कारण गिद्ध लोप हुन थालेकाले त्यसको संरक्षणमा समेत मानिस आफैले चासो देखाउनु पर्नेमा जोड दिए ।
कार्याक्रममा डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईले गिद्धको वासस्थान माथि नै वन्य जन्तुले नोक्सान गर्दा वनबाट गिद्ध लोप हुने अवस्थामा पुगेकोमा पुनः संरक्षणका लागि एक जुट हुनु पर्ने समय आएको बताउनुभयो । ‘गिद्ध वातावरणको अभिन्न अंग हो । यिनीहरु अहिले संकटमा छन् । सबै सरोकारवालाहरुले गिद्धको संरक्षणमा ध्यान दिन जरुरी छ,’ उहाँले भन्नुभयो ।
गिद्ध संरक्षणमा एक जनाले मात्र नभई समुदायस्तरको पनि उतिकै भूमिका रहने हुनाले यसतर्फ सबै सचेत हुनुपर्नै प्रमुख भट्टराईको भनाई छ । उहाँले गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएको बताउनुभयो । तानसेन नगरपालिका प्रवक्ता यादव सिंह कार्कीले गिद्ध पछिल्लो समयमा हराउँदै जाँदा वातावरण समेत प्रदुषित हुँदा मानव जातीमा रोग व्याधी बढ्दै गएको भन्दै गिद्ध संरक्षणतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले पर्यापर्यटन र जैविक विविधता अध्ययन गर्ने तथा गिद्ध अवलोकनका लागि पछिल्लो समय विदेशी तथा स्वदेशी पर्यटक बाक्लो रूपमा आउने गरेकाले पनि गिद्ध संरक्षणमा सबैले चासो राख्नुपर्ने जिकिर गर्नुभयो ।
वडा अध्यक्ष राजेश कुमार अर्यालले गिद्ध संरक्षणमा नयाँ सोच बनाएर अगाडि बढ्नु पर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक रहेको औल्याउनुभयो । अध्यक्ष अर्यालले भन्नुभयो ‘पर्यावरण जोगाउन गिद्धको ठूलो भूमिका छ,त्यसको संरक्षणका लागि तीनै तहका सरकार र नागरिकले समेत ध्यान दिनु अहिलेको आवश्यकता हो ।’
कार्यक्रममा वन समूहका पूर्व अध्यक्ष बुद्धराज बस्यालले वन्यजन्तु नियन्त्रणतर्फ सरकारले उचित निर्णय नलिए गाउँका सबै बस्ती खाली हुने बताउनुभयो । उहाँले तीनै तहका सरकारले वन्यजन्तु नियन्त्रण सम्बन्धी कानुन ल्याउनु पर्नेमा जोड दिनुभयो । माडव्य बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रुद्र बस्यालले पर्याप्त मात्रामा पाइने गिद्ध बाँदरका कारण यहाँबाट हराउन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बाँदरले गिद्धको गुड भत्काउने, पिट्ने गर्दा पनि यहाँबाट गिद्धहरु अन्यत्र गए ।’ बादर नै मुख्य समस्याका रुपमा देखा परेकाले सरकारले बाँदर नियन्त्रणतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
समूहका अध्यक्ष लोकनाथ घिमिरेले गिद्ध संक्षणमा वन उपभोक्ता समूहले चासो दिएको उल्लेख गर्नुभयो । केही वर्षअघिसम्म तानसेनको अँधेरी छरछरे सामुदायिक वनमा समेत गिद्धको बासस्थान थियो । तर, अहिले उक्त वनभित्र गिद्धको बासस्थान नरहेको घिमिरेले बताउनुभयो । गिद्धले आहाराका रूपमा खाने सिनो समेत प्रशस्त मात्रामा नपाउँदा बासस्थान छाडेर गिद्ध अन्तै गएको हुन सक्ने उहाँले बताउनुभयो ।
चुच्चो, नांगो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ ।
प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइए पनि गिद्ध संरक्षणमा चुनौती देखिएको छ । गाउँघरमा पशुचौपायालाई दुःख दिने कुकुर, स्याल, चितुवा जस्ता प्राणीलाई मार्न विष हाल्ने प्रचलनले पनि समस्या थपेको छ । विषादीको कारण मरेका पशुचौपाया खाँदा गिद्ध पनि मर्ने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच