एक हजार ८५० रोपनी जग्गा चक्लाबन्दी गरि खेती

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङमा एक हजार ८५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको फलफूल खेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउनका लागि गरिएको चक्लबान्दी कार्यक्रम प्रभावकारी बनेको छ ।

तरकारी खेती बाहेक ओखर, कागती, किबी, सुन्तला, स्याउ र किबी खेती अधिकांश बाँझो जग्गा सदुपयोग गरी चक्लबान्दी कार्यक्रमअन्तर्गत विस्तार गरिएको छ । बागलुङमा बाँझो जग्गाको उपयाेगिता बढाउनका लागि ल्याइएको चक्लबन्दी कार्यक्रम सफल भएको छ ।

चक्लाबन्दी कार्यक्रमअन्तर्गत चार वर्ष यता सुन्तला १४० रोपनी, ओखर ४४० रोपनी, तरकारी ४०० रोपनी, कागती २५० रोपनी, स्याउ ५४० रोपनी र किबी ८० रोपनी क्षेत्रफलमा विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।

चक्लाबन्दीमा खेती गरेको तरकारी र सुन्तला बाहेक अन्य जग्गा खेती योग्य भएर समेत बाँझो भइसकेको जग्गा रहेको पौडेलको भनाई छ ।

“एउटा चक्लाबन्दी कार्यक्रमका लागि रु. १० लाख खर्च हुन्छ, १५ स्थानमा चक्लाबन्दी सम्पन्न भइसकेको छ, चालु आर्थिक वर्षमा तीन स्थानमा चक्लाबन्दीका लागि रु. ३० लाख बजेट बिनियोजन भइसकेको छ” पौडेलले भन्नुभयो “ओखरसहित फलफुल खेतीको अधिकांश खेतीयोग्य जग्गा पछिल्लो समय बाँझो रहेको थियो, अहिले त्यही बाँझो जग्गामा चक्लाबन्दीका कारण हराभरा कागती, स्याउ, तथा ओखरका विरुवा हुर्किरहेका छन् ।”

चक्लाबन्दीका कारण कृषिमा आधुनिकरण गर्न सकिने, यन्त्रको प्रयोगले खेती गर्न सकिने र धेरै उत्पादन गर्दा बजारको समस्या नहुँने भएकाले किसान चक्लबन्दीमा आकर्षित भएका हुन् । चक्लाबन्दी कार्यक्रमअन्तर्गत जैमिनी नगरपालिका-२ मा सुन्तला खेती, महाशिला गाउँपालिका-१, बागलुङ नगरपालिका-९ र जैमिनी नगरपालिका-३ मा ओखरखेती, बागलुङ नगरपालिका-८ सिगाना, जलजला गाउँपालिका-७ र कुश्मा नगरपालिका-११ मा तरकारी खेती, ढोरपाटन नगरपालिका-९ स्थित नवी, मसलगायतको गाउँमा स्याउखेती, बागलुङ नगरपालिका-१२ मा कागती खेती र निसीखोला गाउँपालिका-४ थापागाउँमा किबी खेती बिस्तार गरिएको छ ।

बाँझो जग्गालाई एउटै पलट बनाउने, जग्गाको खण्डिकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रुपमा लिने गरिन्छ । बाँझो जग्गामा एकिकृत खेती गर्नका लागि किसानलाई चक्लाबन्दी कार्यक्रमले आकर्षित गरेको ढोरपाटन नगरपालिका-९ का स्याउ किसान चिरन कुमार घर्तीले बताउनुभयो । बाँझिन थालेको १०० रोपनी जग्गा चक्लाबन्दी गरे एक हजार २०० स्याउका बिरुवा लगाएको बताउनुभयो ।

बसाइँसराइले क्रमशः गाउँका जग्गाहरु बाँझो पल्टिने, जग्गाको खण्डिकरणका कारण यन्त्रिकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना ल्याइएको छ । नगदेबालीको उत्पादन बढाउने, यान्त्रिकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नका लागि जग्गा चक्लाबन्दीको योजना अघि सारेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले जनाएको छ । चक्लाबन्दी कार्यक्रममा समावेश हुँनका लागि फर्मको ६० रोपनी र समूहको १०० रोपनी भन्दा माथी जग्गा हुन आवश्यक छ ।

चालु आर्थिक वर्षमा तीन स्थानको चक्लबान्दीका लागि रु. ३० लाख बजेट विनियोजन भएको र तिहारपछि चक्लाबन्दी कार्यक्रमको छनौट गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?