✍️ शंकर धिताल
गत भदौ २७ गतेको अंकबाट क्रमशः
किन किन आज हजुरआमासँग जति बोले पनि उसलाई धित मेरेको छैन । हजुरआमासँग यस्तो अन्तरंग कुराकानी नभएको सायद वर्षौं भएको थियो । हजुरआमा पनि नातिसँग बोल्न पाएर एकदमै खुशी हुनुहुन्छ । भावविभोर हुँदै हजुरआमा पुराना-पुराना कथा सुनाइरहनुभएको छ । हजुरआमालाई करेन्ट लाग्दा उसले लुगा चुट्ने मुंग्रोले जिउमा हानेको थियो । करेन्टले भन्दा त्यो मुंग्रोले लागेको ठाउँमा दुखेर हजुरआमा निकै दिन थला पर्नुभएको थियो । पुराना यस्ता घटना जुन दुवैजनाको स्मृतिबाट हराउन थालिसकेका थिए, आज फेरि ताजा हुँदै आए । हजुरआमा र नाति जीवनमा पहिलोपटक बात मारेझैं दिनभर बात मारिरहे । केटाकेटी दौतरी झैं एकअर्कालाई जिस्काउँदै हाँसिरहे ।
फोन राख्ने बेलामा फेरि हजुरआमाले आँखाभरी आँशु पारेर ‘आइज न मेरो छोरा’ भनेर याचना गर्नुभयो । हजुरआमालाई आफ्ना आँखाका रस देखाउन नचाहेर उसले हतार–हतार फोन काटीदियो । भावनामा बगेर त्यसरात उसले घर फर्किएको सपना देख्न भ्यायो तर, बिहानै फेरि सोच्यो, यो अवस्थामा घर फर्किनु असम्भव छ ।
आकाशमा बादल र घामको युद्ध चलिरहेको छ । ‘गो एन्ड गेट हर (जाउ, उनलाई लिएर आउ )’ वार्डकी क्याप्टेन नर्सले भनिन् । सबैलाई थाहा छ, उसको र स्टेलाको सम्बन्ध अरू-अरूको भन्दा अलिक नजिक छ । आज झन् त्यसमाथि स्टेलाको सयौं जन्मदिन । बाहिर डाइनिङ हलमा सबै वृद्धवृद्धासँगै जन्मोत्सव मनाउने योजना बनाइएको छ । उसलाई पनि यो समयको प्रतिक्षा निकै पहिलेदेखि थियो । सबैभन्दा धेरै प्रतिक्षा गरेकी स्टेला स्वयम् भने कतिको उत्साहित छिन्, कसैले अनुमान लगाउन सक्दैन । उनी सधैँ झै शान्त, मौन लडिरहेकी छिन् । ऊ गयो स्टेलाको कोठामा र विस्तारै कानमा ‘हृयाप्पी वर्थ डे हजुरआमा’ भन्यो । स्टेलाका आँखा केही चलमलाए ।
ऊ मुस्कुरायो । गुड्ने खाटमा राखेर उसले स्टेलालाई डाइनिङ हलसम्म पुर्यायो । त्यहाँ उपस्थित सबैले ताली बजाएर स्टेलालाई जन्मदिनको शुभकामना व्यक्त गरे । स्टेलाले सधैँ झैं मौन, शान्त भएरै उनीहरूको शुभेक्षा ग्रहण गरिन् । स्टेलाका वृद्ध नातिले केक काटेर सबैलाई बाँडे । स्टेलाका आँखा एक्कासि खुले, त्यहीबेला आकाशमा एउटा सुन्दर इन्द्रेणी पनि लाग्यो । यी दुई घटनाहरूबीच कुनै सम्बन्ध नहुन सक्छ, तर पनि घटना एकै समयमा भएर दुवैले सबैलाई खुसी बनाए ।
जीवनको तीव्रतम इच्छा पूरा भएका मानिसको वरपर एउटा सन्तुष्टिको आभा बन्छ र त्यहाँ पुग्ने जो पनि त्यही सन्तुष्टिको रंगमा रंगमगिन्छन् । घटना हेर्दा जसरी उसले स्टेलालाई डाइनिङ हल लगेको थियो, त्यसरी नै फिर्ता ल्याउँदैछ तर, दुवैको मनलाई छाम्ने हो भने जानु र फर्किनुमा चन्द्रमा र सूर्य जतिकै फरक छ ।
‘हु इज स्टेला म्यारिन् (स्टेला म्यारिन को हुनुहुन्छ) ?’ सेतो हृयाट लगाएको अग्लो गोरेको प्रश्नको जवाफमा स्टेलाले हात उठाउन सक्ने थिइन् भने कति राम्रो हुने थियो । स्टेलाको वृद्ध नातिले नै त्यो गोरेसँग एकछिन गफ गर्यो र गोरेले दिएको चिठ्ठी आफ्नो हातमा लियो । नातिले वरिपरि भइरहेको हल्लालाई शान्त हुन आग्रह गर्यो र सबैका सामू ठूलो स्वरमा त्यसपत्रलाई पढ्यो, जुन पत्रका लागि स्टेलाले आफ्नो श्वास अड्याएर राखेकी थिइन् । पत्र पढ्दै जाँदा उसले देख्यो स्टेलाका आँखाका कुनाबाट आँशु चुहिँदै जान थाले । उसले स्टेलाको अनुहार देखेर आफ्ना आँखालाई पनि थाम्न सकेन । एकैछिनमा त्यहाँ उपस्थित सबैका आँखा रसाए, जसका रसाएनन्, उसको पनि मन भक्कानियो शायद ।
भर्खरै जीवनको तीव्रतम इच्छा पूरा भएका मानिसको वरपर एउटा सन्तुष्टिको आभा बन्छ र त्यहाँ पुग्ने जो पनि त्यही सन्तुष्टिको रंगमा रंगमगिन्छन् । घटना हेर्दा जसरी उसले स्टेलालाई डाइनिङ हल लगेको थियो, त्यसरी नै फिर्ता ल्याउँदैछ तर, दुवैको मनलाई छाम्ने हो भने जानु र फर्किनुमा चन्द्रमा र सूर्य जतिकै फरक छ । जाँदा अतृप्त स्टेला गएकी थिइन् भने फर्कँदा जीवनको तीव्रतम् इच्छा पूरा गरिसकेकी एक सन्तुष्ट महिला । रानी एलिजावेथको हस्ताक्षर भएको चिठ्ठी स्टेलाको हातमा च्यापिएको छ । आज उसलाई पनि निकै सन्तुष्टि महशुस भइरहेको छ । यो दिनको प्रतिक्षा उसले पनि लामो समयदेखि गरिरहेको थियो ।
कोठामा लगेर आफ्नी स्टेला हजुरआमासँग बिदा मागेर उठ्न लागेका बेला एउटा अचम्मको घटना भयो । अचेत स्टेलाको हत्केलाले उसको हातको नाडी समात्यो । उसले छक्क परेर स्टेलातिर हेर्यो । स्टेलाको आँखाका कापबाट अविरल आँशुका धारा बगिरहेका छन् । ऊ स्टेलाको छेउमा फेरि बस्यो र स्टेलाको निधार छाम्यो । ऊ झसंग भयो । स्टेलाको निदार चिसो हुने क्रममा छ । हतारहतार उसले आपत्कालीन घण्टी बजायो । केही नर्स हतारहतार कोठामा प्रवेश गरे । एउटा हातले उसको नाडी, अर्को हातले रानी एलिजावेथको चिठ्ठी च्यापेकी स्टेलाका नाडी चिसा र दह्रा हुँदै गए ।
मर्दै गरेको मान्छेका हत्केला झन्भन्दा झन् दह्रा हुँदै जाने रहेछन् । उसको बुद्धिमा के सुझ्यो कोनी, उसले सास जान नसकेर प्याकप्याक भएकी स्टेलाको मुखमा छेवैमा भएको पानीको बोतलबाट पानी हाली दियो । वरिपरिका नर्सले बोतल खोसेर पानी सर्किन सक्छ भन्दै उसलाई हप्काए । स्टेलाले पानी निल्न त सकिनन्, बरू ठूलो मुख बाउँदै चिसा बन्दै गएका हत्केलाले उसको हातलाई झन् दह्रो गरी समाउँदै खुट्टो तन्काइन् । नर्सहरूको टोलीले स्टेलालाई हस्पिटल लैजानका लागि स्टेलाको हत्केला उसको नाडीबाट छुटाउने प्रयास गर्दैथिए । उसले महशुस गरिसकेको थियो, स्टेलाको शरिर अब पूर्णतया चिसो भइसकेको छ ।
कति छोटो समयमा कति ठूलो घटना उसको जीवनमा घट्यो । अतृप्त स्टेलालाई बिहान भेटेको उसले एकैछिन पति तृप्त स्टेलालाई देख्यो, केहीबेर मै सन्तुष्ट स्टेला पार्थीव शरिर बन्दै गर्दा पनि ऊ नै छेउमा उभिएको छ । यत्रो ठूलो घटनाको साक्षी ऊ स्वयम् भने गाडिएको सिमेन्टको पिल्लर झैं ठिंग उभिरहृयो । उसका सम्मुखबाट हात छुटाएर स्टेलाको शरीरलाई लगियो । वरपरका मानिसले गरेको होहल्लाको आवाज उसको कानबाट पस्न सकेनन् । उसले देखेको स्टेलाको पार्थिव शरीर विस्तारै भिज्दै गल्दै जान थाल्यो । मैनको बत्ती झैं उसको दृश्यमा देखिएको स्टेलाको अन्तिम तस्वीर पग्लिएर चुहिन थाल्यो, तप्प तप्प ।
त्यही दिन राति भए पनि उसलाई आफ्नी हजुरआमासँग बोल्न मन लाग्यो । मन लाग्योभन्दा पनि ऊ केही अदृश्य शक्तिको प्रभावमा परेर हजुरआमालाई फोन गर्न बाध्य भयो । मनमा राखेको ढुंगो सायद हजुरआमासँग बोल्दा हलुंगो होला भन्ने उसको कल्पना पनि हुनसक्छ । ‘नाति म मर्ने बेलामा मेरा मुखमा पानी हाली दिन आउँछस् ? म तेरै हात समातेर मर्न चाहन्छु ।’ फोन उठाउने बित्तिकै हजुरआमाले एक्कासि भन्नुभयो । हतार–हतार उसले फोन काटिदियो । ऊ त्यही बेला भक्कानिएर कंकाल शब्द गरी एउटा निर्दो बालक रोए झैं रून पुग्यो । उसको मनको ढुंगो नुनिलो आँसुमा परिणत भई आँखाको बाटो हुँदै ब्रिजवेन नदी झैं अविरल बग्न थाल्यो । वरिपरीका साथीहरू भेला भए ।
ऊ अचेत हुँदै गयो । अर्धचेतनामा उसले आफ्नो साथीलाई नेपाल फर्किने टिकट मिलाइदिन याचना गर्न थाल्यो । साथीले प्रतिप्रश्न गर्नै सकेन केवल उसका लागि भोलिपल्टकै टिकट काटी दिनमात्र सक्यो । न त साथीहरूले उसलाई के भयो भनी सोध्न सके, न त उसले कसैलाई केही बताउन सक्यो । केवल परिस्थितिको दास भएर ऊ एउटा सानो झोला बोकी घर फर्किन बाध्य भयो । यो सबै घटनाक्रमको कारण पत्ता लगाउन नसके पनि त्यसको परिणाम स्वरूप ऊ फेरि प्लेन चढ्यो, तर यसपटक उसको मन हलुंगो भएको थियो र चमेली फूलको थुंगाझैं बास्नादार पनि । नातिका लागि जीवन समर्पित गर्ने, उसकी हजुरआमा,रानीको पत्रका लागि सास फेर्ने, उसकी हजुरआमा,सय वर्षसम्म बाँच्नेलाई जीवन प्रेरणा दिने, उसकी हजुरआमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच