
काठमाडौं । विकसित मुलुकको कार्बन उत्सर्जनबाट पारेको प्रभावबारे नेपालले विश्वको ध्यानाकर्षण गराएको छ । राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनबाट नेपाल नराम्ररी प्रभावित भएको जानकारी गराउँदै न्यायको लाभ नेपालले पाउनुपर्ने माग गर्नुभयो । जलवायु परिवर्तन पृथ्वी, मानिस र समृद्धिका लागि सबैभन्दा ठूलो खतराको रूपमा देखापरेको उहाँको भनाइ थियो । ‘जलवायु परिवर्तन पृथ्वी, मानिस र समृद्धिका लागि सबैभन्दा ठूलो खतराको रूपमा देखापरेको छ विशेषगरी नेपाल प्रभावित छ,’ महासभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रा पहाडहरूले समुद्रको जलवायु र इकोसिष्टमलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, तिनीहरूका हिउँले भरिएका नदीहरू समुद्रमा बग्छन् । नेपालका हिमालयको महत्वलाई ध्यानमा राख्दै, पर्वतीय एजेण्डाले जलवायु वार्तामा उचित ध्यान दिन आवश्यक छ ।’ जलवायु परिवर्तनका कारण हिमालले विशाल हिउँ भण्डारहरू गुमाउँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘अत्यन्त चिन्ताको विषय भनेको प्राचीन हिमालयले आफ्नो विशाल हिउँको भण्डार गुमाउँदै गएको छ, यो क्षतिले मेरो देशको सीमाभन्दा धेरै परसम्म फैलिएको डाउनस्ट्रिममा बस्ने अर्बौं मानिसका लागि पानीको उपलब्धतालाई खतरामा पार्छ,’ उहाँले भन्नुभयो । जलवायु परिवर्तन एक विश्वव्यापी चुनौती भएको भन्दै उहाँले विकासशील देशमा अनुकूलनका लागि जलवायु-उत्थानशील उपायहरू र पूर्वाधारहरूलाई समर्थन गर्न राहत कोष र पर्याप्त जलवायु वित्त पोषणसहित विश्वव्यापी कार्यका लागि आहृवान गर्नुभयो ।
‘विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ’
प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । महासभालाई सम्बोधन गर्दै उहाँले कसैलाई पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आहृवान गर्नुभयो । ‘भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको, सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको, आणविक युद्धको भय समाप्त भएको छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयोे, ‘हाम्रो अर्थतन्त्र कमजोर छ, कोभिड-१९ महामारीका दीर्घकालीन प्रभावहरूसँग जुधिरहेको छ, उदारीकरण र विश्वव्यापीकरणले ल्याउनुपर्ने लाभ हामीले प्राप्त गर्नुभन्दा पहिले नै राष्ट्रवाद र संरक्षणवाद पुनः देखापरेको छ ।’ विश्वमा बढ्दो विभाजन, शंका, घृणा र शत्रुताप्रति निराशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले युक्रेन र मध्यपूर्व लगायतका समस्या वार्ता र कूटनीतिको माध्यमबाट समाधान हुनुपर्ने बताउनुभयो । इजरायल-प्यालेस्टाइन द्वन्द्व दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रेम र करुणाद्वारा नै शत्रुता र घृणालाई परास्त गर्न सकिन्छ, दिगो शान्तिको मार्गप्रशस्त हुन्छ ।’ प्रधानमन्त्री ओलीले लिबिया, सिरिया, सुडान, दक्षिण सुडान, यमन र अन्य ठाउँमा मानवीय संकट बढ्दै गएको बताउनुभयो । शान्ति र स्थिरता सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको बडापत्रमा निहित सार्वभौम समानता, गैरहस्तक्षेपको सिद्धान्तलाई कायम राख्नु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सार्वभौम समानताको सिद्धान्तमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपाल कुनै पनि प्रकारको एकपक्षीय हस्तक्षेप वा प्रतिबन्धको कडा विरोधमा रहेको बताउनुभयो । राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताको रूपमा नेपाल उभिएको र थप सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालले सामूहिक विनाशका सबै हतियारहरूको सामान्य र पूर्ण निशस्त्रीकरणका लागि दृढतापूर्वक वकालत गर्ने बताउनुभयो ।
‘शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध’
सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट हालै पारित गराएको महासभालाई अवगत गराउनुभयो । ‘दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रूपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयोे, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एक-अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।’ प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताउनुभयो ।
‘मानव र पृथ्वीको रक्षाका लागि मिलेर काम गरौँ’
प्रधानमन्त्री ओलीले मानव समुदायको रक्षाका लागि विश्वले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा आयोजित एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै ओलीले मानव र पृथ्वीको स्वास्थ्यको रक्षा विश्वको साझा दायित्व भएको बताउनुभयो । ‘मानिस र पृथ्वीको भविष्य रक्षा गर्न हामी मिलेर काम गरौँ, कसैलाई नछोडी’, ओलीले भन्नुभयो । अहिले एन्टिमाइक्रोबियल प्रतिरोध एक महत्वपूर्ण विश्वव्यापी सार्वजनिक स्वास्थ्य मुद्दाको रूपमा देखापरेको ओलीले बताउनुभयो ।
नेपालको राष्ट्रिय स्वास्थ्य नीतिले पनि एन्टिबायोटिकको प्रयोगलाई प्रभावकारी रूपमा नियमन र नियन्त्रण गर्ने आवश्यकतालाई जोड दिँदै यसलाई प्रमुख जनस्वास्थ्य मुद्दाका रूपमा प्राथमिकता दिएको ओलीले जानकारी दिनुभयो । नेपालले एएमआरमा राष्ट्रिय कार्य योजना तयार गरेका र स्पष्ट दिशा प्रदान गर्न राष्ट्रिय एन्टिबायोटिक्स उपचार दिशानिर्देशहरू प्रस्तुत गरेको ओलीले बताउनुभयो । ‘यद्यपि, एएमआरद्वारा उत्पन्न खतराहरूसँग लड्नका लागि राष्ट्रिय प्रयासहरू मात्रै अपर्याप्त छन्, तसर्थ, नेपालले बलियो सहयोगी विश्वव्यापी प्रतिक्रियाको लागि आहृवान गर्दछ’, ओलीले भन्नुभयो । यसका लागि स्वास्थ्य पूर्वाधार, अनुसन्धान र विकासमा पर्याप्त लगानी गर्नुपर्ने उहाँको राय छ । साथै हामीले जैविक खेती जस्ता दिगो कृषि अभ्यासहरूलाई अगाडि बढाई स्वास्थ्य जीवनशैलीलाई बढावा दिनुपर्ने उहाँले बताउनुभयो । जसबाट खाद्य सुरक्षालाई सुरक्षित गर्नुका साथसाथै वातावरणको रक्षा गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।
विश्वव्यापी चुनौतीको सामना गर्न सहकार्यको खाँचो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुुभएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामीहरू अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ । एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिन प्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरू पग्लिने क्रम तीव्र बन्दै छ । हिमताल फुटेर कहाँ कति बेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदै छ ।’
यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरू, भूपरिवेष्टित राष्ट्रहरू तथा विश्वका अतिकम विकसित राष्ट्रहरू बढी मारमा परिरहेका मन्त्री डा. राणाको भनाइ थियो । त्यसैले यी देशहरूलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’ आवश्यक रहेको उहाँले बताउनुभयो । यस्तो समस्यामा परेका देशहरूलाई दिगो विकासका लागि सहयोग बढाउन मन्त्री डा. राणाले आग्रह गनुृभयो ।
उहाँले भन्नुभयो, ‘एकातर्फ प्राकृतिक विपत्तिमा छौँ भने अर्कातर्फ अहिले पनि विश्वका विभिन्न ठाउँमा मानवसिर्जित हिंसा र द्वन्द्वको सिकार बनिरहेका छौँ । विभिन्न नाम र बहानामा बढ्दो हिंसा तथा द्वन्द्वले सिंगो मानवतालाई नै क्षति गरिरहेको छ । जसको परिणामस्वरूप देशहरू र मानिस बीचमै आर्थिक, प्राविधिक असमानता तथा ‘डिजिटल डिभाइड’ को अवस्था सिर्जना भइरहेको छ ।’ यस्तो अवस्थामा एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली देश र जनताबीचको सहकार्यको खाँचो अझ बढी महसुस भइरहेको उहाँले बताउनुभयो । मन्त्री डा. राणाले एशियाली देशहरूले यस्ता समस्यासँग जुध्न कस्तो रणनीति बनाएर कसरी अगाडि बढ्ने र सबै किसिमका समस्याको सामना गर्ने भन्ने बारेमा सोच्नुपर्नेमा पनि जोड दिनुभयो । नेपाल सन् २०१६ देखि एशियाली सहकार्य संवादसँग जोडिँदै आएको छ ।
ओलीको उच्चस्तरीय भेटघाट
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्युयोर्क पुगेसँगै महासभामा भाग लिन आएका विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरू र शीर्ष नेताहरूसँगको भेटवार्तामा व्यस्त हुनुहुन्छ । प्रधानमन्त्री ओलीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री वाङ यी, पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ, संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटरेज लगायतका शीर्ष नेताहरूको भेटवार्ता भएको छ ।
यस क्रममा बिहीबार चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गर्नुभएको थियो । नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनका विदेशमन्त्री वाङले नेपाल चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताउनुभएको छ ।
यस्तै, प्रधानमन्त्री ओली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत सोमबार भेटवार्ता भएको थियो । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको बताउनुभएको थियो । भेटमा सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नै नेपालको भ्रमण गर्ने जानकारी दिनुभएको थियो ।
यसैगरी, प्रधानमन्त्री ओेली र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा दुई प्रधानमन्त्रीबीच नेपाल र भुटानबीच जनस्तर र व्यापारिक स्तरमा सम्बन्ध विकासका लागि छलफल भएको थियो । भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । भुटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँग आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो ।
यसैगरी, प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफ, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साई सिफानदोन, फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब, सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि सोमबार भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच स्थानीय समयअनुसार शनिबार साँझ भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीसँग संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले पनि शिष्टाचार भेट गर्नुभएको छ । उच्चायुक्त टर्कले राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेट गर्नुभएको हो । भेटमा मानव अधिकार उच्चायुक्त टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रूप दिने विषयसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआइडी) का प्रमुख सामन्थ पावर, संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उपकार्यकारी प्रमुख निशा विस्वालले पनि छुट्टाछुट्टै भेट गर्नुभएको छ । ओलीले बिहीबार राति अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्नुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीसँगै र प्रथम महिला राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने तालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच