काठमाडौं । बडा दशैँको छेको पारेर यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा-५’ को अग्रिम बुकिङ अमेरिकामा खुला भएको छ । वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
नेपालसहित अन्य मुलुकभन्दा अमेरिकामा सबैभन्दा पहिले बुकिङ खुला भएको वितरक प्याट्रिक सुवेदीले जानकारी गराउनुभयो । न्यू इङ्ल्याण्ड क्षेत्र र न्यूयोर्कमा केन्द्रित एप्पल सिनेमाजले आफ्ना सबै चेनमा अग्रिम बुकिङ खोलेको छ । यो बुकिङ ‘छक्कापञ्जा-५’को पहिलो बक्स अफिस बुकिङ हो ।
बोस्टनमा मुख्यालय रहेको उक्त चेनले बोस्टन, न्यू हृयाम्पसायर, न्यूयोर्कका दुई थिएटर, कनेक्टिकट र रोड आइल्याण्डमा फिल्मका ५८ शोज खुला गरेको छ । सिनेपोलिस सिनेमाजले पनि १० अक्टोबरको साँझदेखि युलेस, टेक्सासमा अग्रिम बुकिङ खोलेको छ, जसमा पहिलो हप्ताका लागि २३ शो हुनेछन् । वितरकका अनुसार डलास क्षेत्रमा मात्र थप तीन थिएटरमा यो फिल्म प्रदर्शन हुनेछ ।
टेक्सास राज्यका कुल १२ थिएटरले यो चलचित्र प्रदर्शन गर्ने पुष्टि गरेका छन् । पहिलोपटक यति धेरै थिएटरले नेपाली चलचित्र प्रदर्शन गर्न लागेका हुन् ।
चलचित्र १० र ११ अक्टोबरमा ७० भन्दा बढी हलमा प्रदर्शन हुने जनाइएको छ । अमेरिकाको ठूलो सिनेमार्क चेनले ३७ थिएटरमा चलचित्र प्रदर्शन गर्ने जनाएको छ । माक्र्स थिएटर चेनले १२ भन्दा बढी स्थानमा प्रदर्शन गर्न सहमति जनाएको छ । रेगल सिनेमाजले कम्तीमा १२ हलमा रिलिज गर्नेछ । केही स्वतन्त्र हलमा समेत चलचित्र लाग्ने वितरक सुवेदीले जनाउनुभयो । ‘छक्कापञ्जा-५’ले अमेरिकाको अलास्का राज्यमा रिलिज हुने पहिलो नेपाली चलचित्रको कीर्तिमान रच्नेछ ।
वितरकका अनुसार यो चलचित्र न्यूयोर्कमा पाँच स्थान, टेक्सासमा १२ स्थान, क्यालिफोर्नियामा ६ स्थान, ओहायोमा पाँच स्थान, पेन्सिल्भेनियामा तीन स्थान, नर्थ क्यारोलिनामा तीन स्थान र डेनभर, कोलोराडोमा तीन स्थानमा प्रदर्शन हुने निश्चित भइसकेको छ । यी सबै थलोमा नेपालीको बाक्लो बसोवास छ ।
त्यससँगै यो चलचित्र शिकागो, एटलान्टा, टेनेसी, मिसौरी, एरिजोना, आयोवा, विस्कन्सिन, मिशिगन, युटा, नेभाडा, वासिंटन, ओरेगन र अलास्कामा पनि प्रदर्शन हुनेछ । अमेरिकी दर्शकले अग्रिम बुकिङ फनडान्गो र सम्बन्धित हलको वेबसाइटबाट निश्चित गर्न सक्ने जनाइएको छ ।
अष्ट्रेलियाका ५० भन्दा बढी हलमा
चलचित्र ‘छक्कापञ्जा-५’ अष्ट्रेलियाका विभिन्न शहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुने अष्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी दिनुभयो । अष्ट्रेलियामा ‘छक्कापञ्जा’का अघिल्ला सिरिज हल भाडामा लिएर प्रदर्शन गरिँदै आएको भए पनि यसपटक नियमित रिलिज हुने उहाँको बताउनुभयो । ‘हामीले यसअघि पनि चलचित्र ‘फर्की फर्की’को पनि बक्स अफिस रिलिज गरेका थियौं’, गिरीले भन्नुभयो, ‘यहाँ रहनुहुने नेपालीहरूको सहजता र सुझाबलाई ध्यानमा राखेर ‘छक्कापञ्जा-५’ को पनि बक्स अफिस रिलिज गर्न लागिएको हो ।’
यो चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार रगडेल ब्वाइज, नमस्ते इन्टरटेनमेन्ट र ग्रिस इन्टरटेनमेन्टले संयुक्त रूपमा खरिद गरेका हुन् ।
दीपाश्री निरौलाको निर्देशन रहेको यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री, आर्यन सिग्देल, निर्मल शर्मा, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित, रामेश्वर केसी, तेज गिरीलगायतको अभिनय छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हरि हुमागाईंको डिओपी तथा उत्तम हुमागाईंको छायांकन छ ।
चलचित्रमा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उहाँलाई केदार घिमिरे र दीलिप तामाङले सघाउनुभएको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।
‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सफल भएका थिए । पाँचौं सिरिज पनि सफल हुनेमा निर्माणपक्ष आशावादी रहेको छ । तर, यसपटक यही मितिमा दुई ठूला स्वदेशी चलचित्र ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आउन लागेका छन् । यसले ‘छक्का पञ्जा–५’लाई असर गर्नसक्ने आंकलन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच