पश्चिम एसिया अर्थात् मध्यपूर्वमा युद्धको डढेलो लागेको छ । संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती मनाएकै दिनमा इरानले इजरायली भूमिमाथि गरेको प्रहारले आगोमा घ्यू थपेको छ । अन्तर्राष्ट्रिय समुदायको बहुहिस्सा शान्ति र अहिंसाका पक्षमा देखिए पनि युद्धलाई अनिवार्य ठान्ने अर्को विश्व र देशहरू छन् । तिनीहरूका कारण पृथ्वी नामको भूगोलका शान्तिकामी जनता आहत हुन लागेका छन् । परमाणु अस्त्रको भण्डार दिनप्रतिदिन विकास भइरहेको छ । आमनागरिकलाई भोक र शोकमा पारेर सत्तासीनहरू अहंकारको ज्वाला बाल्न सिपालु छन् र उनीहरू परमाणु अस्त्रको विकास गर्ने होडबाजीमा लागेका छन् । इरानले यतिखेर इजरायल र पश्चिमविरुद्ध तिनोटा समूहलाई आफ्नो छायाँ प्रतिनिधि बनाएर युद्ध भड्काई रहेको पश्चिमको दृष्टिकोण देखिन्छ । हिजवुल्लाह, हुतु, हमास तिनोटै समूहलाई फरक देशमा आतंक फैलाउन इरानी सरकारले योगदान गरिरहेको समाचारहरुमा पढ्न पाइन्छ । इजरायलको पिलोजस्तो भएको यी तिनोटै समूहविरुद्ध गत एक वर्षदेखि इजरायल आक्रामक छ । इजरायली भूमिमा पसेर अत्यन्त निर्ममतापूर्वक १२ सय निर्दोष नागरिकको एउटै चिहान बनाउने हमासले दुई सयभन्दा बढीलाई अपहरण गरी कब्जामा राखेपछि इजरायल भड्एिको थियो । अहिले खाडी क्षेत्रको निकै शक्तिशाली इरान खुलेर इजरायलविरुद्ध क्षेप्यास्त्र प्रहार गर्न लागेको छ । इरानको यो कदमले युद्धलाई विस्तार गर्न र शान्तिलाई सुदूर गराउन सहयोग पुग्नेमा शंका छैन ।
पश्चिम एसिया लामो समयदेखि तनावमा रहेको छ । सन् १९४७ मा इजरायल स्वतन्त्र देश बनेपछि त्यस वरिपरिका इस्लामिक राष्ट्रहरू क्रमशः विपरीत हुँदै गएका थिए । यद्यपि इरान राजा रेजा पहल्वीको शासनकाल सन् १९७८ सम्म इजरायलको अत्यन्त निकट सहयोगी रहेको थियो । इजरायलको स्थापनालगत्तै यस देशको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरी मान्यता दिने पहिलो देश इरान नै थियो । तर राजा पहल्वीको शासनलाई कट्टर धार्मिक नेता आयो तोल्लाह रुलह खोमेनीको नेतृत्वले विस्थापित गरी इस्लामिक गणराज्य स्थापपना गर्नासाथ इजरायलविरुद्ध आरमभ घृणा र आक्रमणको सिलसिला करिब ४५ वर्षदेखि निरन्तर चलिरहेको छ । यो क्षेत्रले यसबीचमा अनेकपटक युद्धको डढेलोको सामना गरेको छ । गृहयुद्ध उत्तिकै छ । सउदी अरेबिया र इजिप्टमा भने राजनीतिक स्थायित्व देखिन्छ ।
लेवनान, इरान, इराक, सिरिया हुँदै दक्षिण एसियाका पाकिस्तान र अफिगानिस्तानले पनि गृहयुद्ध र युद्धको सामना गरिसकेका छन् । कुनै समयमा इराक र इरानबीचको युद्धले जर्जर बनाएको यो क्षेत्रमा सिरियाको गृहयुद्ध अझै समाप्त भएको छैन । यमनको हालत त्यस्तै छ । हुतु र तुत्सीको कथा पनि यही क्षेत्रको हो । अलिकति उत्तरतिर युरोप र एसियाकै नजिक दुई वर्ष पहिले सुरु भएको रुस र युक्रेनबीचको युद्ध पनि चलिरहेको छ । ठूलो देश रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको सामना गर्दा सानो देशले धेरै क्षति व्यहोरिरहेको स्पष्ट छ । तर, महाशक्ति राष्ट्र भए पनि रुसको क्षति कम छैनजस्तो सबैको अनुभव छ । सन् १९७९ मा चीनले आफ्नो छिमेकी देश भियतनामलाई पाठ सिकाउन खोज्दा जस्तो क्षति भोगेको थियो अहिले रुसले पनि त्यस्तै क्षति भोगिरहेको देखिन्छ ।
महाशक्ति राष्ट्र अमेरिका र युरोपको शक्ति प्रोक्सी वारमा व्यस्त छ । यो शक्तिले रुसविरुद्ध युक्रेन र इरानविरुद्ध इजरायलको समर्थन गरिरहेको छ । युद्धको डढेलोमा अनगिन्ती नागरिकको जीवन लीलामात्रै होइन शस्त्रास्त्रको प्रतिस्पर्धाले सम्पूर्ण प्रकृतिलाई आहत गरेको छ । वातावरणमा आएको परिवर्तन चुनौती हुनुको पृष्ट कारण क्षेप्यास्त्र परीक्षण र आणविक भट्टीको विस्तार आदि प्रमुख भएको छ । औद्योगिक विस्तारले पनि वातावरणलाई क्षति तुल्याएको छ । तर, त्यो भन्दा निकै बढी शस्त्र प्रतिस्पर्धाको योगदान छ । अन्तर्राष्ट्रिय समुदायले जति प्रतिबद्धता प्रकट गरे पनि र जति सम्बद्ध देशले प्रतिज्ञा गरे पनि ती सबै निष्फल भएका छन् । पृथ्वी र वातावरणलाई असन्तुलित गराउने आणविक होड, युद्ध र प्रकृतिको दोहन रोक्न नसक्ने हो भने भविष्य झन् भयावह हुनेमा कुनै सन्देह छैन । युद्धको परिणाम कसै लागि पनि सुखद् हुँदैन । जय पराजयको उन्माद वा पीडा अवस्य हुन्छ । तर मानवतालाई यसले गराउने क्षति अतुलनीय हुन्छ । अर्थात् गौतम बुद्धले परिकल्पना गरेको अशिहंसा र शान्ति, गामहात्मा गान्धीले अवलम्बन गरेको राजनीतिमा सत्य र शान्ति आजको आवश्यकता हो । यसलाई विश्वव्यापीकरण गर्नै पर्ने भएको छ ।
नेपालीहरू युद्धलाई अन्तिम सत्य मान्दैनन् । हिंसाको भविष्य हुँदैन शान्तिको कुनै विकल्प छैन भन्ने मान्यतामा नेपालीहरु विश्वस्त छन् । तत्कालीन राजा वीरेन्द्रले २०३२ सालमा शान्ति क्षेत्रको प्रस्ताव त्यसै ल्याएका थिएनन् भनेर यतिखेर प्रमाणित हुँदैछ । यद्यपि त्यो रणनीतिक थियो र नेपालमा लोकतन्त्रको आन्दोलनविरुद्ध चालिएको योजनाजन्य प्रस्ताव थियो भन्ने अनुभव नगरिएको होइन । जनताका अधिकारलाई निस्तेज गरी नियन्त्रणकारी सत्ता सञ्चालनको प्रयास थियो त्यो भन्ने मूल्याँकन हामी सबैको थियो । तर, शान्तिको विकल्प हुँदैन भन्ने कुरामा दुई मत हुनसक्दैन । ०४६ सालपछि नेपालले शान्ति क्षेत्रको प्रस्तावालाई मूर्तरूप दिएर युद्ध र हिंसाविरुद्ध अभियान नै चलाउनुपर्ने थियो । त्यसो भएन । सहमति वा असहमति जे भए पनि शान्ति क्षेत्रको प्रस्तावालाई अघि नबढाउनु गलत हो भन्नेमा विवाद गर्नु आवश्यक छैन ।
नेपालीहरू यति युद्धको जस्तै घाउ बोक्न विवश छन् । प्रकृतिको निर्मम प्रहारले आहत भइरहेको अवस्था छ । अनपेक्षित तर आफ्नै अनेक दुष्कर्मको परिणाम संभावित रहेको प्राकृति प्रहारले देशको समग्रतालाई नै चुनौती दिइरहेको अवस्था छ । यस्तो समय नेपालीहरूको महान् चाड आरम्भ भएको छ । यो चाडलाई सामाजिक परम्परासँग जोडेर अत्याधिक हिंसात्मक बनाउने प्रचलन छ । हिंसा पशुको होस् कि मानिसको त्यो हिंसा नै हो । हाम्रो आदि पुर्खाहरुले यसको सुरुवात कसरी र कुन रूपमा गरेका थिए सदा विवादकै विषय रहेको छ । परम्पराको रुपमा अनुशीलन भइरहेको छ । अन्तर्राष्ट्रिय तहमा युद्धको भयावह स्थिति र आन्तरिक रूपमा प्राकृतिक प्रकोपको क्षणमा हाम्रा चाडपर्व उत्साहपूर्ण हुन्छन् भन्ने देखिँदैन । इजरायल, युक्रेन, इरान जता पनि धेरै नेपालीहरु पुगेका छन् । उनीहरूको बसाई त्यहाँ सुखद् छैन भन्ने सबैलाई थाहा छ । घरमा बाढीपहिरो र डुबान परदेशमा युद्धको अवस्थामा मन विचलित हुन्छ नै । तैपनि विश्वशान्तिको कामना गरौं, युद्धविरुद्ध आफ्ना विचार राखौं, युद्ध अन्त्य गर्न आग्रह गरौं र शान्तिपूर्ण अवस्थामा आफ्ना पीडाहरू भुल्ने प्रयत्न गरौं । फेरि भनौं : हिंसा समाधान होइन, शान्तिको विकल्प हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच