नमागिएको सल्लाह :
नेपालमा गत असोज ११ र १२ गते अर्को विपद् आइलाग्यो । २०७२ वैशाखमा आएको भूकम्पभन्दा यो फरक किसिमको थियो । भूकम्प पूर्वानुमान बेगर आएको थियो तर अहिलेको पानीजन्य विपद्का बारेमा भने सम्बन्धित निकायले सतर्क गराएका थिए । भारी वर्षाको पूर्वानुमान गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डपोष्टले गरेको निर्णयका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैलाई उच्च सतर्कता अपनाउँन सूचना सम्प्रेषण गरेको थियो । यसैको आधारमा सकभर घरबाट बाहिर ननिस्कन, निस्कनु परेमा उच्च सतर्कता अपनाउँन, रात्रिबस नचलाउँन सूचना र आदेशहरू जारी भएका थिए ।
यसलाई राष्ट्रियस्तरका सञ्चारमाध्यमहरूले प्राथमिकतापूर्वक प्रचारप्रसार पनि गरेका थिए । धेरै मानिसहरूको पहुँचमा रहेको सामाजिक सञ्जालमा पनि यस्तो सूचना व्यापक रूपमा छाएको थियो । तर, पूर्वानुमानविना आएको २०७२ को भूकम्पभन्दा गतसाता आएको पानीजन्य प्रकोपले बढी क्षति ग¥यो । आज नेपाली समाजमा बहस भइरहेको विषय हो-सम्बन्धित निकायले मौसमको पूर्वानुमान गरेर सतर्क गराउँदा-गराउँदै किन यति धेरै क्षति भयो ? यसमा सरकारी पक्ष अरूभन्दा बढी जिम्मेवार पक्कै होला तर नागरिक र अरू पक्ष पनि कम जिम्मेवार छैनन् ।
पूर्वी पहाडी जिल्लाको मुख्य जीवनरेखा बीपी राजमार्ग सुचारु हुनमात्र पनि समय लाग्ने देखिन्छ भने पूर्ववत् अवस्थामा पुग्न त लामो प्रतीक्षा गर्नुपर्ने अवस्था छ । पछिल्ला वर्षहरूमा राजधानी छिर्ने सबै नाका बन्द भएको यो पहिलो घटना हो ।
सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा रहेका बेला आएको यो विपद्को घडीमा कार्यबाहक प्रधानमन्त्रीले समुचित समन्वय गर्न नसकेको, गृहमन्त्री आवश्यक मात्रामा सक्रिय र चुस्त रूपमा काममा उत्रन नसकेको, सरकारका मुख्य सचिव फूलमाला र खादालगायतका सम्मान थाप्न लागेको, विपद्लाई व्यवस्थापन गर्नुपर्ने अधिकारी विदेश भ्रमणमा लागेको भनेर सरकारको आलोचना भइरहेको छ । सामाजिक कर्तव्यबोध खासै नभएका सस्तो लोकप्रियताको पछि लागेर सरकार र राज्यका संस्थाप्रति अनास्था फैलाएर आफ्नो स्वार्थको रोटी सेक्नेहरूका लागि यो ठूलो विषय भएको छ ।
विपदमा परेका जनता, विपद् ग्रस्त समुदाय, टोल बस्तीलाई मुलुकका मुख्य कार्यकारी प्रमुख प्रधानमन्त्रीले सालिन कुरा राखेर कमीकमजोरी स्वीकार गरेर जनतासँग कमजोरी सुधार गरी राहत र उद्धारमा लाग्ने बाचा गर्दै सहानुभूतिशील भावमा प्रकट हुनुको साटो संयुक्त राष्ट्रसंघ महासभामा र दुई विश्वविद्यालयमा भाषण दिएको अहंकारजन्य रवाफ देखाएर भैंसीको दूध लिन गएको होइन जस्ता गैरजिम्मेवार कुरा गरेर नेपाली जनताको आहत भएको मनलाई राहत पुर्याउँनुभन्दा झन् आघात पुर्याउने काम भएको छ । भोलिपल्ट उहाँले यो किसिमको विपद्को तयारी थिएन भने तापनि उपयुक्त समयमा अनुपयुक्त वचन चिप्लेपछि त्यसलाई जति सच्याए पनि धेरै अर्थ राख्दैन । यो आलेखमा सरकारको विपद् चासो, विपदमा नागरिक दायित्व, नेपाली समाजका आशाका दियो चाणिकलालहरू, आगामी दिनमा विपद् व्यवस्थापनलगायत विषयमा चर्चा गर्नेछौं ।
विपद् र सरकारको चासो
असोज ११ गते बिहानैबाट परेको पानी १२ गते अपरान्हतिरमात्र रोकिएको थियो । नेपालमा सन् १९७० देखि वर्षामापनको अभिलेख राख्ने गरेदेखि हालसम्मको अधिक वर्षा थियो यसपालिको वर्षा । अभिलेख राख्न सुरु गरेको ५४ वर्षपछि २४ घण्टामा ३२३ मिलिमिटर सर्वाधिक वर्षा भएको थियो । यसभन्दा अगाडि सन् २००२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रमा २४ घण्टामा १७७ मिलिमिटर रेकर्ड भएको थियो भने यसपटक २३९.७ मिलिमिटर । उपत्यकाका नौवटा वर्षा मापन केन्द्रमा सबैमा हालसम्मको बढी वर्षा अभिलेखीकरण भएको छ भने देशभरिका २२२ मापन केन्द्रमध्ये ७७ मा २०० मिलिमिटरभन्दा अधिक वर्षा भएको छ ।
यो आलेखलाई अन्तिम रूप दिँदासम्म प्राप्त सरकारी तथ्यांकको आधारमा २३२ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १५८ जना घाइते छन् । ४३३१ जनालाई उद्धार गरी सुरक्षित बनाइएको, खोज तथा उद्धारमा ३० हजार ७३१ जना सुरक्षाकर्मी परिचालन गरिएको, खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । यो अतिवृष्टिको कारण करिब १७ अर्ब बराबरको क्षति भएको सरकारी भनाइ रहेको छ । क्षतिको पूर्ण विवरण आइनसकेको अवस्थामा वास्तविक क्षतिको मूल्यांकन गर्दा यो रकम धेरै बढ्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । यस अतिवृष्टिको कारण राजधानी छिर्ने सबै नाका ठप्प भए । केहीमात्र आपत्कालीन कामका लागि खुलेका छन् भने धेरै नाका खोल्ने क्रममा नै छन् ।
पूर्वी पहाडी जिल्लाको मुख्य जीवनरेखा बीपी राजमार्ग सुचारु हुनमात्र पनि समय लाग्ने देखिन्छ भने पूर्ववत् अवस्थामा पुग्न त लामो प्रतीक्षा गर्नुपर्ने अवस्था छ । पछिल्ला वर्षहरूमा राजधानी छिर्ने सबै नाका बन्द भएको यो पहिलो घटना हो । मृतकका परिवारलाई राहत वितरण प्रारम्भ भइसकेको, मृतक परिवारलाई राहतस्वरूप जनही दुई लाख रूपैयाँ रकम उपलब्ध गराउने, घरवास गुमेका परिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै अनुदान रकम उपलब्ध गराइने, बाढीपहिरोबाट अबरुद्ध तथा क्षतिग्रस्त खानेपानी, रणनीतिक सडक, टेलिफोन तथा विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने, बगेका महत्वपूर्ण सडकका पुलमा बेलिब्रिज जडान गरिने, अन्य अबरुद्ध सडकमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट समेत तत्काल यातायात सञ्चालन गरिने, अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजार नियमन र अनुगमनलाई प्रभावकारी बनाउने जानकारी सरकारले सार्वजनिक गरेको छ ।
सरकारले विपद् व्यवस्थापनका लागि लिएका माथि उल्लेख गरिएका कामहरूलाई समस्याको पहिचान गर्न सकेको भन्न सकिए तापनि नेपालको समस्या भनेको कार्यान्वयनको समस्या हो । सरकारले पहिचान गरेका समस्या र गर्ने भनिएका कामहरू गर्न अहिले अरू बेलाभन्दा अनुकूलता छ । ठूला दुई पार्टी मिलेर बनेको सरकार भएको कारण एक दुई सांसदको कारण सरकर गिर्ला भन्ने पिरलो छैन । सरकार दत्तचित्त भएर काममा लाग्न सक्ने अवस्था छ । यस्तो अवस्थामा विपदमा परेका जनतामा सरकरले अभिभावकत्व देखाउन सकेन भने जनतामा बढ्दै गएको निराशाको चाँङ अझ अग्लो बन्न सक्दछ ।
राजधानी छिर्ने नाका नागढुंगाबाट २.७ किलो मिटरमात्र टाढा रहेको झ्याप्ले खोलामा बस र माइक्रो बस पहिरोले पुरेको थाहा नपाउनु, पुरिएको १६ घण्टापछि थाहा पाएर खोज तलास सुरु गर्नु, नख्खुखोलाको घरको छतमा बसेर हारगुहार गरिरहेका सर्वसाधारण जनताको लामो समयसम्म उद्धार हुन नसक्नु, बीपी राजमार्गको रोसी खोला क्षेत्रलगायत अन्य क्षेत्रमा अलपत्र परेका जनतालाई उद्धार गर्न सार्थक पहल नगर्नु जस्ता विषयलाई लिएर सरकारको व्यापक आलोचना भइरहेको छ । रात्रिकालीन समयमा सवारीसाधन चलाउन नदिने, नपाउने भनेकोमा कसको कारणले यो निर्देशनको पालना हुनसकेन ? यस्ता विषयमा सरकारसँग प्रश्न गर्नुपर्ने अवस्था छ ।
विपद् व्वस्थापनमा सरकारी संयन्त्रको आलोचना भएपछि विपद् प्रतिकार्यका लागि चाहिने डोरी, लाइफ ज्याकेट जस्ता प्रकोपसँग लड्ने सामान्य किसिमका उपकरण पनि नभएको भन्ने भनाइ आएको छ । यसो हुनु भनेको विपद्प्रति राज्यको कमजोर संवेदनशीलता हो । हाम्रो जस्तो विकट र विविध भौगोलिक संरचना, कमजोर पूर्वाधार भएको अवस्थामा विपद्सँग सम्बन्धित सामग्रीको अभाव हुनुभनेको राज्यको जिम्मेवारी बोधको अवस्था होइन । सरकार विपद्बाट जनतालाई जोगाउने काममा चुक्यो तर जनताको दायित्व छ कि छैन ? समुदाय, निजी क्षेत्रलगायत असंगठित क्षेत्र पनि यसमा चुके कि ?
विपद्को बेला नागरिक दायित्व र चाणिकलालहरू
विपद्को समयमा नागरिक दायित्व कस्तो हुनुपर्दछ, सरकारलाई दोषी करार गरेरमात्र उन्मुक्ति पाउन सकिएला ? यस्ता विषयमा पनि विमर्श गर्नुपर्ने हुन्छ । सरकारी निकायले अत्यावश्यक कामबाहेक सकभर घरबाट बाहिर ननस्किनु, रात्रिबस नचलाउनु जस्ता सूचना सम्प्रेषण गरेको अवस्थामा नागरिकहरू स्वयं पनि सतर्क रहनुपर्ने थियो । लामो दूरीको यात्राको कार्यक्रम परिवर्तन गर्नुपर्ने अवस्था थियो । तर नागरिकले हिँडेपछि पुगिहालिन्छ भन्ने अरू सामान्य अवस्थाको जस्तो परिस्थितिको आँकलन गरिदिनाले पनि यस्तो दुःखद् अवस्था आएको हो । मुलुकका प्रधानमन्त्रीले नै यो किसिमको विपद् आउला भनेर तयारी नगरेको भनेको अवस्थामा सर्वसाधारण नागरिक तहमा त्यो तहको गम्भीरता नदेखिनुलाई अन्यथा लिन मिलेन तर नागरिक तहमा पनि बुझ्नुपर्ने विषय के हो भने नेपालको भौगोलिक बनौट, पूर्वाधारहरूको लाजमर्दो अवस्थाको कारण वर्षायामको यात्रा धेरै जोखिमपूर्ण छ ।
सरकारका गृहमन्त्रीले भिजिबिलिटी नभएको भनेर सरकारको प्रतिरक्षा गरिरहेको, विपद् प्रतिकार्यका लागि भनेर तालिम र सुविधा लिएका लापता बनेको अवस्थामा घरनजिकको सुनकोशीमा बालापनदेखि नै पौडी खेल्न सिकेका रंगरोगनको काम गर्ने मजदुर चाणिकलाल पानीको भेलमा पसेर दुईजनाको उद्धार गर्न सफल बनेका छन् ।
अहिलेको अतिवृष्टिको बारेमा त सरकारी निकायले सुसूचित गरेको अवस्था थियो । नख्खु खोलामा बाढीले घेरिएर अलपत्र परेका नागरिकहरूलाई उद्धार नगरिएको विषयमा धेरै आलोचना भएको छ । गृहमन्त्रीको भिजिबिलिटी नभएको भन्ने भनाइ सरकारको लाचारीपन त हुँदै हो हेलिकप्टरलाई भिजिबिलिटी नपुगेको हो कि सरकारको भिजिबिलिटी नभएको हो भनेर व्यंग्य पनि गरिएको छ । तथापि, सरकारको सतर्कताको सूचना, अतिवृष्टिको परिस्थिति, खोला किनारको घरनजिक बढ्दै गएको पानीको सतहलाई बेवास्ता गरी बसिरहनु र अन्तिम अवस्थामा मात्र हारगुहारमा उत्रनुमा पनि सरकारकै दोष छ त ? आफ्नो ज्यानको सुरक्षामा नागरिक स्वयं नै सचेत बन्नु आवश्यक छ, झन् हाम्रो जस्तो सरकारी संयन्त्र गफाडीहरूको अखडा भएको देशमा त स्वयं सचेत हुनुको विकल्प छैन ।
विपद्को बेला ज्यानको बाजी लगाएर बगाउन लागेको पुलमा बसेर रमाइलो हेरेको दृश्य पनि देखिएकै छ । अरूलाई आपत् पर्दा दर्शक बनेर रमाइलो मान्नेको पनि कमी छैन यस समाजमा । नदी किनारको घर गल्र्यामगुर्लुम लड्दा खोलाले आफ्नो स्थान खोजेको भनेर परपीडामा रमाउनेहरूको त व्यापकता नै छ । आफ्नो जीवनकालमा केही गर्न नसकेर बाउबाजेले आर्जेको सम्पत्तिसमेत दुव्र्यसनमा सकेर घरको न घाटको भएकाहरूले यस्तो बेलामा सबै आफूजस्तै भए हुने भनेर कल्पनामा रमाउनेहरूको पनि कमी छैन होला । यसको नकारात्मक सोचमात्र समाजमा छैन, नागरिकका रूपका भगवान् पनि यसै समाजमा छन् भन्ने उदाहरण भएका छन्-काभ्रेपलान्चोक जिल्ला तिमाल घर भएका चाणिकलाल तामाङ ।
सरकारका गृहमन्त्रीले भिजिबिलिटी नभएको भनेर सरकारको प्रतिरक्षा गरिरहेको, विपद् प्रतिकार्यका लागि भनेर तालिम र सुविधा लिएका लापता बनेको अवस्थामा घर नजिकको सुनकोशीमा बालापनदेखि नै पौडी खेल्न सिकेका रंगरोगनको काम गर्ने मजदुर चाणिकलाल पानीको भेलमा पसेर दुईजनाको उद्धार गर्न सफल बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् भने राष्ट्रियस्तरका सञ्चारमाध्यममा चर्चाका पात्र बनेका छन् । समाजमा चाणिकलाल जस्ता सहयोगी पात्र पनि छन् है ।
हाम्रो समाज निर्दयी बनिसकेको छैन भन्ने कुराको बिम्ब बनेका छन्- चाणिकलाल । रोसीको विपलमा परेकालाई उद्धार गर्न, झ्याप्ले खोलालगायतका स्थानमा आपत्कालीन उद्धार गर्न पनि कति अभिलेखमा नभएका चाणिकलालहरू थिए होलान्, समाजमा त्यस्ता पात्र धेरै होलान्, ती सबै नेपाली समाजका पुँजी हुन् । मानवता, बन्धुत्व र सहृदयताका उदाहरण हुन् । समाजमा चाणिकलाल प्रवृत्तिको प्रबद्र्धन जरुरी देखिएको छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच