✍️ रमेशप्रसाद गौतम
जीवनका अनेक कालखण्डका अनुभव र अनुभूतिहरू सँगालेर मेरा अन्तरङ्ग मित्र पुण्यप्रसाद न्यौपानेले लेख्नु भएको पुस्तक ‘हिँडिएका पाइलाहरू’ मा उहाँको व्यक्तिगत र पेशागत जीवनका विभिन्न आयामहरूको यथार्थ चित्रण छ । झण्डै चार दशक अगाडिसम्म शिक्षण पेशामा संलग्न थियौँ हामी दुबैजना । जिल्ला शिक्षा अधिकारी पदमा हाम्रो नियुक्ति पनि सँगसँगै भएको हो । उहाँ सल्यान जानु भएको थियो त्यस बखत । म सिन्धुली पुगेको थिएँ । यसरी हाम्रो परिचय शिक्षा क्षेत्रले नै गराएको हो । पछि उहाँ प्रशासन सेवामा प्रवेश गर्नुभयो ।
जीवनको प्रारम्भिक कालदेखि नै सङ्घर्ष गरेर अगाडि बढ्दै जाँदा उहाँ नेपाल सरकारको उच्चतम सचिव पदसम्म पुग्न सफल हुनुभएको हो ।
हिँडिएका पाइलाहरू’ मा लेखकले ‘आफ्नो गाउँठाउँको भूगोल, समाज र संस्कृतिका सुन्दर पक्षको वर्णन गरेका छन् । सानै उमेरदेखि बुबा पण्डित बद्रीनाथ न्यौपानेबाट नैतिक शिक्षा हासिल गरेका उनले बाल्यकालमा शिक्षा प्राप्तिका लागि गरेका संघर्षको कथा चाखलाग्दो छ । प्राथमिक तहको शिक्षा बुबाबाट प्राप्त गरेपछि १० वर्षको उमेरमा आफ्नो गाउँ पीपलडाँडाबाट डेढ घण्टाको बाटो हिँडेर चौताराको मिडिल स्कुलमा भर्ना भएर पढ्न थालेका रहेछन् उनले । स्कुल जीवनमा उनले पढाइका साथै साहित्य सिर्जना, खेलकुद, वादविवाद आदि गतिविधिमा अभिरुचि राखेको पाइन्छ ।
लेखकले पस्केका विद्यार्थी जीवनको दिनचर्या, सङ्घर्षमय पलहरू, पढाइमा प्राप्त भएका सफलताहरू, एसएलसी पास गरे लगत्तै शिक्षण पेशामा आबद्ध भएको र आफ्नो गाउँमा शिक्षा साक्षरता फैलाउन वाचनालय स्थापना, प्रौढ कक्षा सञ्चालन, स्कुल सुधार आदि कार्यमा संलग्न रहँदाका रोचक प्रसङ्गले पाठकको ध्यान आकर्षित गर्छन् ।
बुबा बद्रिनाथले दिने नैतिक उपदेश र प्रायः सुनाइरहने संस्कृतका श्लोकहरू, ब्रतवन्ध गर्दाको प्रसङ्ग र त्यसले दैनिक जीवनमा पारेको प्रभाव आदिका रोचक संस्मरणहरू पढ्दा पाठकहरूलाई आफ्नै अतिततर्फ फर्काउँछन् । लेखक असल विद्यार्थी रहेछन् भन्ने कुरा विभिन्न सन्दर्भहरूमा आफ्ना गुरुहरूप्रति प्रकट गरिएको आदर सम्मान र कृतज्ञभावले स्पष्ट पार्दछ । सरकारी सेवाका आफ्ना अग्रजलाई सम्मान दिन पनि चुकेका छैनन् उनी । विभिन्न सिलसिलामा आफ्ना गुरु र अग्रजहरूको नामै किटेर श्रद्धाभाव व्यक्त गर्छन् ।
लेखकले पस्केका विद्यार्थी जीवनको दिनचर्या, सङ्घर्षमय पलहरू, पढाइमा प्राप्त भएका सफलताहरू, एसएलसी पास गरे लगत्तै शिक्षण पेशामा आबद्ध भएको र आफ्नो गाउँमा शिक्षा साक्षरता फैलाउन वाचनालय स्थापना, प्रौढ कक्षा सञ्चालन, स्कुल सुधार आदि कार्यमा संलग्न रहँदाका रोचक प्रसङ्गले पाठकको ध्यान आकर्षित गर्छन् । सामाजिक क्षेत्रमा काम गर्दा प्रतिकूल परिस्थितिको सामना गर्नुपरेको तर विचलित नभई काम गरेका प्रसङ्गहरू पुस्तकमा उल्लेख भएका छन् । उनले नेपालका सामाजिक र राजनीतिक पाटाहरूलाई नजिकबाट अध्ययन गरेको विषय पनि पुस्तकले उजागर गरेको पाइन्छ । पुस्तकको यो एउटा महत्वपूर्ण पक्ष हो ।
पछि आफूले पढेकै विद्यालयमा हेडमास्टर भएर काम गरेका अनुभवहरू र विद्यार्थी अवस्थादेखि नै सरकारी सेवाप्रति रुचि बढेको यथार्थ लेखकले रोचक ढङ्गले प्रस्तुत गरेका छन् पुस्तकमा । त्यसै गरी हाईस्कुलको प्रधान अध्यापक भएर कार्यसम्पादन गरिरहेको अवस्थामा सरकारले उनलाई सल्यानको जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी दिएको र नयाँ जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरेर नीति निर्माताहरूको विश्वास जितेको सन्दर्भहरू पढ्न पाइन्छ ।
लोकसेवा आयोगको परीक्षा पास गरेर शाखा अधिकृतको नियुक्ति पाएपछि लेखकले करार सेवाको जिशिअ पदबाट राजीनामा दिएर निजामती सेवामा प्रवेश गरेपछि मालपोत अधिकृत, स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी जस्ता महत्वपूर्ण पदको जिम्मेवारी सम्हालेका हुन् । उनले ती पदमा काम गर्दाको समयमा प्राप्त भएका अनुभव र भएका अविस्मरणीय घटनाहरू पुस्तकका अलग-अलग परिच्छेदमा उल्लेख गरेका छन् । त्यस्तै गरी सहसचिव र सचिव हुँदाका महत्वपूर्ण घटना र सम्पादन गरेका कार्यहरूको विवेचना पनि छुट्टाछुट्टै परिच्छेदमा पढ्न पाइन्छ ।
अछाम जिल्लाबाट सरुवा भई मकवानपुरको मालपोत अधिकृत पदमा कार्यरत अवस्थामा मेरो लेखकसँग दोस्रो पटक भेट भएको हो । मालपोतसम्बन्धी काम लिएर हेटौंडा पुगेको थिएँ म । मालपोत जस्तो धेरै जनगुनासो हुने कार्यालयमा आएका सेवाग्राहीहरूलाई सोधपुछ गरेर कार्यालय प्रमुखप्रति कुनै गुनासो भए/नभएको बुझ्दा उनीप्रति कसैको असन्तोष रहेको पाइएन । बरू जिल्ला प्रशासनलगायत कार्यालयका प्रमुखहरूले उनको कार्यशैलीको प्रशंसा गरेका थिए । यस्तो प्रतिक्रिया सुन्दा मलाई पनि गर्व लाग्थ्यो । त्यस समयमा म पर्साको जिल्ला शिक्षा अधिकारी थिएँ ।
पञ्चायती शासनमा दल नभए तापनि अनेकौं गुट, उपगुट र इतर राजनीतिसँग फेस गर्नुपथ्यो । केन्द्रमा पनि अलगअलग शक्ति समूहसँग तिनीहरू आबद्ध हुनेहुनाले कर्मचारीमाथि दवाव पथ्यो । कतै संलग्न नभइकन निष्पक्ष किसिमले काम गर्न सहज थिएन । लेखकले आफ्नो पुस्तकमा यस पक्षमा पनि प्रकाश पारेका छन् । यो समीक्षकले पनि विभिन्न जिल्लामा काम गर्दा यस्तो अनुभव गरेको थियो । काभ्रेको प्रमुख जिल्ला अधिकारी हुँदा न्यौपानेले काठमाडौं विश्वविद्यालयको समस्या स्वयं अग्रसर भएर स्थानीय सहयोग परिचालन गरी समाधान गरेको सन्दर्भ पुस्तकमा उल्लेख भएको छ । सरोकारवाला पक्षबाट सो कार्यको अझै प्रशंसा भएको पाएको छु ।
स्थानीय विकास मन्त्रालयको सचिव छँदा अदालतको स्टे अर्डर उल्लङ्घन हुनेगरी मन्त्रीले गरेको तोक आदेश कार्यान्वयन गर्न अस्वीकार गरेको र अर्को कुनै मन्त्रालयमा रहँदा मन्त्रीले मनपरी किसिमले कर्मचारी भर्ना गर्न दिएको दबाबलाई नटेरेको कारणले क्रुद्ध भएर मन्त्रीहरू सचिव फेर्न उद्यत भएको तर लेखकले त्यसको किन्चित परवाह नगरेको प्रसंग पढ्न पाइन्छ । मन्त्रीहरूमा ‘आफू खुशी कर्मचारी सरुवा गर्न पाउनु अधिकार हो भन्ने गलत धारणा पछिल्लो समयमा झन्झन् बलियो बन्दै आएको छ । कुनै स्पष्ट आधार र कारणविना छिटोछिटो कर्मचारीको फेरबदल गर्ने परम्पराले सार्वजनिक प्रशासन अस्थिर र प्रभावहीन बन्न पुगेको छ’ न्यौपाने लेख्छन् ।
मन्त्रालयमा काम गर्दा अग्रज सचिवहरू डमरुबल्लभ भट्टराई, पोषणनाथ नेपाल, विद्याधर मल्लिक, चुमानसिंह बस्नेत भरतबहादुर थापाहरूसँग धेरै कुरा सिक्न पाएको स्मरण गर्छन् । जस जति आफूलाई र अपजस जति अरूलाई पन्छाउने पवृत्ति हावी भइरहेको वर्तमान स्थितिमा न्यौपाने फरक पात्रका रूपमा उभिएका छन् । अग्रजहरूलाई सम्मान दर्शाउन कन्जुस्याइँ गर्दैनन् । प्रशासनमा भइरहेको चरम राजनीतिक हस्तक्षेपको टिप्पणी गर्न पनि हिच्किचाएका छैनन् ।
कुशल प्रशासकका रूपमा चिनिएका न्यौपाने आफ्नो पुस्तकमा लेख्छन् ‘सार्वजनिक प्रशासन तहसनहस हुने क्रम तीव्र छ । निजामती सेवामा पेशागत क्षमता र निष्ठाभन्दा अपारदर्शी र अपरिभाषित मापदण्डका आधारमा कर्मचारीको पाँडेपजनी भइरहेको छ ।’ आजको कटु सत्यलाई कुनै आवरण नदिइकन जस्ताको तस्तै प्रकट गरेका छन् । जागिरमा हुँदा यस्तो भेदभावपूर्ण व्यवहार उनीमाथि पनि पटक–पटक भएको उल्लेख गर्न छुटाएका छैनन् ।
लेखकले जहाँसुकै र जुनसुकै पदमा बस्दा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको पाइन्छ । उनले विभिन्न समयमा पाएका मानपदवी (विभूषण) र ग्रेड वृद्धिले यसलाई पुष्टि गरेका छन् । उनले हिमाल, पहाड, मधेसका जिल्लामा काम गरेपछि मात्र केन्द्रीय निकायमा सरुवा हुन पाएको प्रसङ्ग पनि किताबमा उल्लेख भएको छ । यसरी जिल्लामा काम गरेर हासिल गरेका ज्ञान र अनुभवले नीति निर्माण तहमा काम गर्ने क्षमता वृद्धि गरेको अनुभव बाँढ्दै नीति निर्माण तहका महत्वपूर्णमहत्वपूर्ण पदको जिम्मेवारी दिँदा पहिले काम गरेको ट्य्राक रेकर्ड मिहिन ढङ्गले विश्लेषण गर्न आवश्यक हुन्छ र यसले व्यक्तिको क्षमता र दक्षता मूल्याङ्कन गर्न सहयोग पुग्छ भनेर सुझाव दिएका छन् ।
विभिन्न कारणले थला परेको सो संस्थालाई आफ्नो नेतृत्वमा पुनः सशक्त र प्रभावकारी बनाउने सफलता प्राप्त भएको देखिन्छ । शिक्षण, प्रशिक्षण र अनुसन्धान संस्थाहरूप्रतिको सरकारी दृष्टिकोणको सन्दर्भमा लेखकले सटिक र सारगर्भित टिप्पणी गरेका छन् ।
सचिव पदमा बहाल रहँदाकै बखत नेपाल सकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी लिइदिन आग्रह गरेपछि लेखकले सचिव पदबाट राजीनामा दिएर प्रतिष्ठानको कार्यकारी निर्देशक भएर दुई कार्यकाल पूरा गरेको देखिन्छ । ‘स्टाफ कलेजको रूपान्तरण’ पुस्तकको सबैभन्दा लामो परिच्छेद हो । यस परिच्छेदमा उनको नेतृत्वअन्तर्गत १० वर्षमा स्टाफ कलेजले प्राप्त गरेका सफलता र उपलब्धिको सविस्तार चर्चा भएको छ ।
विभिन्न कारणले थला परेको सो संस्थालाई आफ्नो नेतृत्वमा पुनः सशक्त र प्रभावकारी बनाउने सफलता प्राप्त भएको देखिन्छ । शिक्षण, प्रशिक्षण र अनुसन्धान संस्थाप्रतिको सरकारी दृष्टिकोणको सन्दर्भमा लेखकले सटिक र सारगर्भित टिप्पणी गरेका छन् । यस्ता संस्थाको निम्ति विनियोजन हुने बजेटलाई केवल खर्चमात्र ठान्ने, लगानी नठान्ने सोचलाई ‘गलत दृष्टिचेतना’ भनी आलोचना गरेका छन् । यस्तैगरी प्राज्ञिक संस्थाहरू मन्त्रालयका शाखा महाशाखा हुन् भन्ने सरकारी मनोविज्ञानप्रति उनको कडा टिप्पणी छ ।
लेखक न्यौपाने ‘संथागत विकास : धारणा र विश्वास’ उपखण्डमा सबल संस्था बन्न सर्बप्रथम सक्षम जनशक्ति अपरिहार्य हुने कुरा उल्लेख गर्छन् । यस्तैगरी हाम्रो देशमा प्रशिक्षणलाई वृत्ति विकासको खुड्किलो मात्र बनाइएको विषयमा चर्चा गर्दै प्रशिक्षणको बहु उपयोग बुझेर काम गर्न र बाटो बिराएको राजनीतिलाई लिगमा फर्काउनका लागि राजनीतिकर्मीलाई पनि प्रशिक्षण दिने प्रणाली बसाल्न नीति निर्माताहरूलाई सुझाब दिन्छन् ।
‘बिट मार्ने क्रममा’ शीर्षकको अन्तिम परिच्छेदमा लेखकले आफ्ना पारिवारिक कुरा, जन्मस्थान रहेको गाउँ र जिल्लासँगको सम्बन्ध, लेखनप्रतिको अभिरुचि आदि विषयमा पाठकलाई जानकारी गराएका छन् । वस्तुतः पढ्दै जाँदा पुस्तकका सबै परिच्छेद उत्तिकै चाखलाग्दा भएकाले पाठकहरूले रुचि लिएर पढ्ने अपेक्षा गरेको छु । सानै उमेरदेखि शिक्षक बन्नुभएका न्यौपानेमा आफ्नो देश र समाजप्रति गहिरो माया देखिन्छ । ‘जिल्लाको विकासमा सहभागिता’ उपखण्डले यस पक्षको उजागर गरेको छ । माथिल्लो ओहदामा पुग्नासाथ आफ्नो मूल र माटो बिर्सनु हुँदैन भन्ने सन्देश पनि दिएको छ यस पुस्तकले ।
किताब पढ्दै जाँदा लेखकले पञ्चायत, संवैधानिक राजतन्त्र, प्रत्यक्ष राजतन्त्र र गणतन्त्र गरी चारैवटा काल खण्डमा विभिन्न ओहदामा बसेर काम गर्दाका अनुभवहरू पाठकहरूलाई इमानदारीपूर्वक बाँड्न चाहेको अनुभूत हुन्छ । काम गर्दाखेरी देखेका विकृति र विसङ्गतिहरू निर्धक्कसँग औंल्याएका छन् लेखकले आफ्नो पुस्तकमा । ‘साहित्य पोष्ट’ प्रकाशक रहेको न्यौपानेको ‘हिँडिएका पाइलाहरू’मा नेपालको समसामयिक सार्वजनिक प्रशासन व्यवस्थाको सजीव चित्रण छ । तसर्थ सार्वजनिक प्रशासनमा रुचि राख्ने सबै पाठकका निमित्त यो पुस्तक उपयोगी हुने विश्वास लिएको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच