लण्डन । इजरायल-हमास युद्ध तत्काल रोक्न युद्धविराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन् । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र हमासबीचको एक वर्ष लामो द्वन्द्व अन्त्य गर्न सबै पक्ष संयमित बन्नुपर्ने र गाजामा युद्धविराम गरिनुपर्ने बताउनुभएको छ । गाजा युद्धको प्रभावले बेलायतमा पनि सामुदायिक सम्बन्धमा असर पारेको उहाँले बताउनुभयो । उहाँले युद्धविरामको विकल्प नरहेका बताउनुभयो ।
प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अकल्पनीय आक्रमणको एक बर्ष पुग्नुभन्दा एक दिनअगाडि आफ्नो धारणा राख्दै स्टार्मरले सन्डे टाइम्समा लेख्नुभएको छ, ‘यसले हाम्रो आफ्नै समुदायमा पनि विवाद सिर्जना गरेको छ ।’
‘इजरायल र मध्यपूर्व हाम्रो देशको इतिहासबाट अविभाज्य मात्र होइनन्। उनीहरूको हाम्रो बहुसांस्कृतिक समाजसँग गहिरो सम्बन्ध छ’, स्टार्मरले भन्नुभयो, ‘लाखौंको यस क्षेत्रसँग पारिवारिक सम्बन्ध छ ।’ अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी गर्दै आएको छ । पछिल्लो दुई हप्तामा लेबनानमा इजरायलले हमासको इरान समर्थित लडाकु समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमण र इरानले इजरायलमाथि प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रका कारण द्वन्द्व थप चर्किएको छ ।
स्टार्मरले ‘इरानी आक्रमणको सामना गर्न बेलायत इजरायलको साथमा उभिने’ बताए पनि उहाँले ‘अर्को पुस्तालाई आघात, अनाथ र विस्थापित गरेर राम्रो भविष्यको सुनिश्चितता नहुने बताउनुभयो । ‘अक्टोबर ७ को आक्रमणको वर्षगाँठले हामीलाई राजनीतिक असफलताको मूल्यको सम्झना दिलाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘ठूलो अस्थिरतामा कुनै सुरक्षा फेला पर्नेछैन ।’ गत वर्ष हमासले गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो ।
इजरायलले गाजामा हमासविरूद्ध चलाएको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ । दुवै पक्षको आक्रमणमा ज्यान गुमाएका व्यक्तिमध्ये अधिकांश सर्वसाधारण थिए । हमासको आक्रमणको एक वर्षको पूर्वसन्ध्यामा लण्डनलगायत विश्वभरि युद्धविराम गर्न दबाब दिन विश्वका अधिकांश प्रमुख शहरमा प्रदर्शन गरिएको छ ।
पछिल्लो एक वर्षमा बेलायतमा यहुदी र मुस्लिम समुदायविरुद्ध ‘घृणित हिंसा’ बढेको भन्दै स्टार्मरले भन्नुभयो, ‘हाम्रो भिन्नता र विविधताले हामीलाई अलग्याउने होइन अझ बलियोसँग बाँधेर राख्नुपर्छ ।’
बेलायतस्थित धार्मिक संघसंस्था तथा तीनका नेताहरूले पनि आइतबार सन् २०२४ को अगष्ट ७ (आक्रमणको एक वर्ष पुगेको दिन) जनताका लागि ‘सबै प्रकारका पूर्वाग्रह र घृणा’लाई अस्वीकार गर्ने अवसर हुनुपर्ने बताएका छन् । क्यान्टरबरीका आर्कबिशप जस्टिन वेल्बी, प्रमुख रब्बी एप्रैम मिरविस र मस्जिद र इमामहरूको राष्ट्रिय सल्लाहकार बोर्डका अध्यक्ष इमाम कारी असिमले एक संयुक्त पत्र लेख्दै भनेका छन् कि उनीहरू ‘सर्वसाधारण इजरायली र गाजाबासीको दुःखलाई अन्त्य गर्न ऐक्यबद्ध छन् ।
संयुक्त पत्रमा भनिएको छ, ‘यो चुनौतीपूर्ण समयमा हामीलाई विभाजन गर्न खोज्नेहरूलाई पनि हामीले अस्वीकार गर्नुपर्छ । यहुदीविरोधी घृणा र मुस्लिमविरोधी घृणाको आज बेलायतमा कुनै स्थान छैन ।’
जर्मनी
गाजा युद्धको सोमबार एक वर्ष पुग्ने र यसको पूर्वसन्ध्यामा आइतबार फेरि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युद्धविरामको आहृवान गर्नुभएको छ । ‘दुर्भाग्यवश, इजरायलमा हमासले गरेको आतंककारी आक्रमणको यो पहिलो वर्षगाँठमा मध्यपूर्वमा शान्ति वा मेलमिलाप पहिलेभन्दा धेरै टाढा देखिन्छ’, स्कोल्जले एक भिडियो सन्देशमा भन्नुभयो ।
जर्मन सरकारले युद्धविरामका लागि निरन्तर वकालत गरिरहेको छ । उहाँले भन्नसुभयो, ‘द्वन्द्वरत पक्षले अब अरू ढिला गर्नुहुन्न युद्धविरामको घोषणा गरिहाल्नुपर्छ ताकि गाजा पट्टीमा नागरिक जनसंख्यालाई अझ राम्रो संरक्षण गर्न सकियोस् र निःसन्देह, अझ राम्रो हेरचाह गर्न सकियोस् र इजरायली बन्धकलाई रिहा गर्न सकियोस् ।’
फ्रान्स
यसअघि, शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायललाई गाजामा प्रयोग गर्नका लागि हतियार वितरणमा रोक लगाउन आहृवान गर्नुभएको थियो । म्याक्रोँले लेबनानमा स्थल कारबाहीका लागि नेतन्याहूले सेना पठाउने निर्णयको पनि आलोचना गर्नुभएको थियो ।
म्याक्रोंले फ्रान्सेली प्रसारक फ्रान्स इन्टरसँग भन्नुभयो, ‘मलाई लाग्छ आजको प्राथमिकता भनेको हामी राजनीतिक समाधानमा फर्कनु हो र हामीले गाजामा लड्नका लागि हतियार आपूर्ति गर्न बन्द गर्छौं ।’ युद्धविरामका लागि पटक-पटक आहृवान गरिए पनि गाजामा जारी द्वन्द्वप्रति म्याक्रोँले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मलाई लाग्छ हाम्रो कुरा सुनिएको छैन । मलाई लाग्छ यो इजरायलको सुरक्षासहित गल्ती हो । युद्धले ‘घृणा’ निम्त्याइरहेको छ ।’
इजरायल
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा भन्नुभएको छ, ‘इजरायलले इरानको नेतृत्वमा बर्बरताविरुद्ध लडिरहेको अवस्थामा सबै सभ्य देशहरू इजरायलको पक्षमा दृढताका साथ उभिनुपर्छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति म्याक्रोँ र अन्य पश्चिमा नेताहरूले अहिले इजरायलविरुद्ध हतियार प्रतिबन्धको माग गरिरहेका छन् । यो निर्णयले उनीहरूलाई लज्जित पार्नेछ ।’ इजरायलले इरानसमर्थित समूहविरुद्ध विभिन्न मोर्चामा युद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ । एएफपी/रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच