झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृति विपत्ती पछिको पुनःनिर्माण, स्वास्थ्य तथा शैक्षिक प्रगति र देशलाई ऋणमुक्त बनाउन बाहेक अरुबेला व्यवसायीसँग दान लिन नहुने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत पार्टी कार्यालय बनाउन व्यवसायीसँग दान लिन नहुने मत अघि सार्नु भएको हो ।
नेकपा एमालेको केन्द्रीय कार्यालय व्यवसायी मीनबहादुर गुरुङले बनाइदिने गरी शिलान्यास गरिएपछि महामन्त्री शर्माको त्यस्तो भनाइ सार्वजनिक भएको हो । शर्माले यस्तो दानले सकारात्मक सन्देश नदिने भाव व्यक्त गर्नुभएको छ ।
महामन्त्री शर्माले लेख्नु भएको छ," भूकम्प प्रभावितलाई हजार घर बनाइदेउ, अनि बाढीले नबग्ने सय पुल, गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी बनाउन अपील गर्न सकिन्छ । "
सामाजिक सञ्जाल एक्समा एमाले अध्यक्षसमेत रहनु भएको प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै उहाँले स्पष्ट पार्नुभएको छ, " सम्माननीय पिएम नेपाल राज्यले ठूला व्यवसायीलाई अपील गर्न मिल्छ। "
महामन्त्री शर्माले "अझ ठूलो दान लिनेदिने भए, देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देउ ,यस्तो पनि त भन्न र गर्न मिल्छ" भन्नुभएको छ । उदाहरण दिँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रीय कार्यालयको तस्वीरसमेत पोष्ट गर्दै लेख्नुभएको छ," स्वदेश र विदेशमा रहेका हरेक कांग्रेस सदस्य गर्व गर्छन्- हाम्रो केन्द्रीय कार्यालय "हामीले" बनाएका हौँ ।"
महामन्त्री शर्माले कांग्रेस केन्द्रीय कार्यालय निर्माणमा कयौँ व्यवसायीको धन जोडिएको स्वीकार्नु भएको छ । तर त्योभन्दा बढी चाहिँ पार्टी सदस्यको मन जोडिएको जिकिर गर्नुभएको छ ।
दशैँ मनाउन गृहजिल्ला झापामा रहनु भएको महामन्त्री शर्माको पोष्टमा लेखिएको छ," हो, कयौँ व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ l तर, मुलत: पार्टी सदस्यको `मन´ जोडिएको छ l यो बन्दै गर्दा उसबेलाका ४ लाख बढी कृयाशील सदस्यताको रकम यसमा प्रयोग भएको छ l"
महामन्त्री शर्माले प्रधानमन्त्री केपीओलीको समेत गृहजिल्ला रहेको झापाबाटै उहाँलाई व्यवसायीबाट यसप्रकारको दान नलिन सचेत गराउनु भएको चर्चासमेत राजनीतिक वृत्तमा सुरु भएको छ ।
कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा बन्ने पार्टीको केन्द्रीय कार्यालय भवनको फूलपातीको दिन एमाले अध्यक्ष ओलीले शिलान्यास गरिसक्नु भएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले निर्माण जिम्मेवारी लिनुभएको पार्टी कार्यालय भवन अत्याधुनिक हुने एमालेले जनाएको छ ।
भवनको लागत र विस्तृत पक्ष तर्जुमाकै क्रममा रहेकोे बेला अध्यक्ष ओलीले शिलान्यास गरेपछि पार्टी पंक्तिबाट पनि विरोध भइरहेको छ । तर, एमालेको शीर्ष नेतृत्व भवन बनाउने पक्षमा दृढतापूर्वक उभिएको छ । व्यवसायी मीनबहादुर र सावित्री गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दान गर्नुभएको छ ।
मीनबहादुर "खराब छवि" भएको व्यवसायी मानिनु हुन्छ । उहाँ ललिता निवास प्रकरणमा मुछिएका व्यक्ति हुनुहुन्छ । उहाँलाई २०८० असार १२ गते अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट नियन्त्रणमा लिएर छाडेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच