काठमाडौं । सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ४४औँ विश्व खाद्य दिवस मनाइने भएको छ । खाद्यका लागि कृषि अभियानले सरकारलगायत विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा आगामी कात्तिक २६ गते विभिन्न कार्यक्रम आयोजना गरी विश्व खाद्य दिवस मनाउने भएको हो । यस वर्ष पनि खाना र खेतीपातीको विषयमा तयार पारिएको नाटक सट्टापट्टाको प्रदर्शनी, रैथाने बिउबिजन र प्रविधिका साथै रैथाने खाद्य साँझको आयोजना गरिने अभियानका संयोजक उद्धव अधिकारीले जानकारी गराउनुभयो ।
अभियानद्वारा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा जस्तै यस वर्ष पनि खाद्य सुरक्षा र भोकमरीका सवालहरूमा संवाद र अन्तरक्रिया गरिने जानकारी दिनुभयो । अभियानले खाना र खेतीपातीको वासलात २०८१ र खाना र खेतीपातीको विषयमा तयार पारेको दोहोरी गीत पनि सार्वजनिक गरेको छ । चर्चित लोकदोहोरी गायक राजु परियार र गायिका शिला आले मगरसहितको संंलग्नतामा सारंगी संसारले तयार पारेको गीत युट्युब डिजिटल प्लेटफर्ममा उपलब्ध हुनेछ ।
विश्वभरका ११ जनामध्ये एकजना भोकै रहने तथ्यलाई ध्यानमा राख्दै अभियानले वर्तमान खाद्य संकट र यसको समाधानमा गम्भीर चर्चा गर्ने अधिकारीको भनाइ थियो । कृषि र खाद्य उत्पादनको परिस्थिति र दिगो विकासमा ध्यान केन्द्रित गर्दै अभियानले जलवायु परिवर्तन, माटोको संकट र मानव स्वास्थ्यका मुद्दामा प्रभावकारी नीति तर्जुमामा जोड दिँदै आएको छ । अभियानले किसानलाई केन्द्रमा राखेर जैविक खेती प्रवद्र्धन गर्न र विषाक्त उत्पादनमा निर्भरता कम गर्ने योजना बनाएको अधिकारीले बताउनुभयो ।
सबैलाई खाद्य र कृषि प्रणालीको दिगो विकासका लागि एकजुट भएर लड्न आहृवान गर्दै उहाँले स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा विज्ञहरूले कृत्रिम रासायनिक र विषादीरहित खेतीपाती र खानाको सुनिश्चितता आवश्यक भएको बताएका थिए । अभियानले सबै तहका सरकार, नागरिक समाज र किसान समुदायलाई अभियानमा जुट्न आहृवान गरेको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को आहृवानमा प्रत्येक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ । सरकारीस्तरमा असोज २१ गते नै दिवस मनाइएको थियो । नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । नेपालमा अझै पनि १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको स्थितिमा रहेको सरकारी तथ्यांकले देखाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच