काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता सडक प्रदर्शनमा उत्रिएका छन् । सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दाको अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ता सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले राजनीतिक प्रतिशोधका लागि सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाएका छन् । पूर्व-गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेलाई शुक्रबार रास्वपा पार्टी कार्यालय वनस्थलीबाट नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको थियो । स्थलमार्गबाट पोखरा पुर्याउने क्रममा रास्वपा र रवि लामिछानेका कार्यकर्ताले ठाउँ-ठाउँमा विरोध प्रदर्शन अवरोध गरेका थिए । पक्राउ परेको भोलिपल्ट शनिबार पनि रास्वपाले काठमाडौं पोखरा र वीरगञ्ज लगायतका ठाउँमा विरोध प्रदर्शन गरेको छ । शनिबार रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलको सडकमा भेला भएर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् । पोखरामा पनि रास्वपाले विरोध प्रदर्शन गरेको छ । प्लेकार्ड, ब्यानर लिएर सडकमा उत्रिएका रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध चर्काे नाराबाजी गरेका थिए । वीरगञ्जमा भेला भई रास्वपाका नेता/कार्यकर्ताले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रमा गरेका थिए । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाइने बताइएको छ ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन लगायतका सहकारी ठगी र संगठित अपराधको अभियोग छ । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा हुनुुहुन्छ ।
रास्वपा सिध्याउने कांग्रेस/एमालेको दिवास्वप्ना : अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागेको आरोप लगाउनुभएको छ । लामिछाने पक्राउको विरोधमा पोखरामा शनिबार भएको सडक प्रदर्शनमा उहाँले पुराना दलले रास्वपा सिध्याउने दिवास्वप्न मात्र देखेको उल्लेख गर्नुभयो । रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सकाउन नदिन सबैलाई आग्रह गर्दै अर्यालले भन्नुभयो, ‘आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको छ । संसदीय छानविन समितिले समेत सहकारीको रकम ऋण लिएको ठहर गरेको छैन । दुई तिहाइको दम्भका आधारमा पक्राउ गरिएको छ । सरकार मरे पनि न्यायालय नमरेकोले न्याय पाउने विश्वास छ ।’ कसैको राजनीति बचाउनका लागि रवि लामिछानेलाई आहुति दिन खोज्नु पुराना दलहरूलाई महँगो पर्ने उहाँको चेतावनी छ ।
मन्त्रिपरिषद्मा भुटानी शरणार्थी प्रकरणका संगठित अपराधीहरू छन् : वाग्ले
रास्वपाका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाउनुभएको छ । शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उहाँले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधीहरू अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाउँदै भन्नुभयो, ‘संगठित अपराधीहरू अहिलेको मन्त्रिपरिषद्मा छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधीहरू अहिलेको मन्त्रिपरिषद्मा छन् । उनीहरूबाट ध्यान मोड्नका लागि सभापति लामिछानेलाई पक्राउ गरिएको छ ।’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उपसभापति वाग्लेले भन्नुभयो, ‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिध्याएरै छोड्नु थियो । कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो । कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो । कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो । कसैलाई ललिता निवासलाई दक्षिणमा बदलेर गोजी भर्नु थियो । यो सबै सेटिङको लागि हो ।’ उपसभापति डा. वाग्लेले सहकारी ठगी प्रकरणमा फरार रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जिबी राईलाई पक्राउ गरेर ल्याउनसमेत सरकारलाई चुनौती दिनुभएको छ ।
रवि पक्राउ सरकारको कुण्ठा र प्रतिशोध : झा
रास्वपाले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको टिप्पणी गरेको छ । रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्नभन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको आरोप लगाउनुभएको हो । सहकारी बचत अपचलन संसदीय छानविन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको देखाएको तर सरकारले गोर्खा मिडिया प्रालिमा सहकारीबाट गएको ६५ करोडको विषयलाई मात्र उछालेको आरोप लगाउँदै झाले भन्नुभयो, ‘एउटामा मात्र लक्षित हुँदै गर्दा, यो क्षेत्रगत समस्यामा सरकारको प्राथमिकता छैन, यो एउटा कुण्ठा हो, प्रतिशोध हो । यो त एक प्रतिशत पनि होइन, ९९ प्रतिशतको किन चर्चा गर्नुहुन्न ?’
सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं : श्रेष्ठ
पूर्व-मन्त्रीसमेत रहनुभएका रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व रास्वपाले गर्ने दाबी गर्नुभएको छ । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने उल्लेख गर्नुभयो । उहाँले अरू दलले जस्तो ढुंगा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिनेगरी आन्दोलन नगर्ने स्पष्ट पार्दै अरू दल र रास्वपामा फरक रहेको दाबी गर्नुभयो । आन्दोलनमा नक्कली सहकारी पीडित घुसेर बिथोल्न आउने सूचना पाए पनि रास्वपाले शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि उनीहरू पछि हटेको उहाँको दाबी छ । गुमाउन केही चिज पनि बाँकी नभएकोसँग राज्यसत्ता डराउनु नपर्ने श्रेष्ठको जिकिर छ । रास्वपा सांसद तोसिमा कार्कीले पार्टीको सभापतिलाई जेल हालेर रास्वपा सिध्याउन सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभयो ।
नागरिकलाई दुःख दिने विरोधको पक्षमा छैनौँ : कार्की
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्ने बताउनुभएको छ । सहकारीमा भएको रकम अपचलनको विषयमा अनुसन्धान गर्न सभापति रवि लामिछाने पक्राउ परेपछि भएको विरोध प्रदर्शनलाई लक्षित गर्दै कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ । यस्ता किसिमका आन्दोलन गर्ने रास्वपाका या रवि लामिछानेका समर्थक हुनै सक्दैनन् । यसैले, रचनात्मक र शान्तिपूर्ण रूपमा भइदिनु हुन आग्रह छ ।’
रास्वपाको जिल्ला भेला स्थगित
रास्वपाले जिल्ला अधिवेशनहरू तत्काललाई स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । गत बिहीबारदेखि रास्वपाले जिल्ला भेला सुरु गरेको थियो । रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न सर्कुलर गरेको छ । र, पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा भनिएको छ, ‘राजनीतिक प्रतिशोध साँधेर सरकारले दोषीलाई च्याप्ने निर्दोषलाई न्याक्ने गरी अराजनीतिक कदम चालेको विरोधमा देशैभर जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्नसमेत यसै सूचनामार्फत अनुरोध गर्दछौँ ।’
वर्षमानको प्रश्न : रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिनुभएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहनुभएका प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गर्नुभएको छ । प्रेस सेन्टरले गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा उपमहासचिव पुनले भन्नुभयो, ‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ । यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस् ।’
रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छ : थापा
नेकपा एमालेका नेता सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको पक्राउलाई लिएर भएको विरोधप्रति असन्तुष्टि जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले रवि लामिछाने पक्राउको विरोध हुनुलाई नाटकको संज्ञासमेत दिनुभएको छ । लामिछानेको नयाँ नाटक सुपरफ्लप हुने दाबी गर्दै सांसदसमेत रहनुभएका थापाले लेख्नुभएको छ, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ । ‘प्रतिशोध’ सुपरफ्लप हुने बाटो-प्रतीक्षा गरौँ ।’ थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानविन समितिले नै रविलाई सहकारीको पैसा गोर्खा नेटवर्कमा ल्याएपछि भएको खर्च गर्नमा जिम्मेवार ठहर गरेको थियो ।
रवि लामिछानेको पक्राउबारे सभामुखलाई जानकारी
रास्वपाका सभापतिसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई पक्राउ गरिएको बारे नेपाल प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । शुक्रबार काठमाडौंबाट पक्राउ पर्नुभएका सभापति लामिछानेलाई फौजदारी कसुरको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरिएको जानकारी गराएको सभामुख घिमिरेको सचिवालयले जानकारी गराएको छ । लामिछानेलाई प्रहरीले शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय, कास्की लगेर हिरासतमा राखेको छ । प्रतिनिधिसभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई जानकारी गराउनुपर्ने प्रावधानअनुसार प्रहरीले जानकारी गराएको हो । रवि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज (आइतबार) अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार पक्राउ पर्नुभएका लामिछाने कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले आज (आइतबार) लामिछानेलाई अदालतमा उपस्थित गराउन लागिएको हो । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार लामिछाने काठमाडौंबाट पक्राउ पर्नुभएको थियो । पक्राउ परेसँगै प्रहरीले रातारात लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगेको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच