राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेको पक्राउपछि उहाँको पार्टीका नेता कार्यकर्ता तथा समर्थकहरू विरोधमा उत्रिएका छन् । उनीहरू अब नीलो क्रान्तिको सुरुवात भएको बताइरहेका छन् । रविलाई काठमाडौंबाट पक्राउ गरी सूर्यदर्शन सहकारी संस्था रहेको कास्की जिल्लाको पोखरा लगिएको छ र त्यहीँबाट उहाँलाई मुद्दा चलाइने भएको छ । अदालतले उहाँलाई अरू थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । त्यसो भएको कारण उहाँका पार्टीका नेता कार्यकर्ता पोखरामा केन्द्रित हुन पुगेका छन् । पोखरामा केन्द्रित भएको उक्त भीडबाट त्यहाँ कुनै अप्रिय घटना नहोस् र त्यहाँको जनजीवनको दैनिकीमा बाधा नपरोस् भनेर कास्कीको जिल्ला प्रशासनले निश्चित ठाउँहरूलाई निषेधित क्षेत्र तोकेको छ ।
निषेधित क्षेत्र भन्नासाथ त्यहाँ भेला हुन, जम्मा भई नाराजुलुस गर्न र तोकिएको संख्या चार-पाँचजनाभन्दा बढी मानिस हिँड्डुल गर्नसमेत नपाइने गरी प्रतिबन्ध लगाइन्छ । आइतबार पोखरामा भएको विरोध प्रदर्शनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यासको प्रयोग ग¥यो र प्रदर्शनकारीले भने आफ्नो आन्दोलनलाई शान्तिपूर्ण प्रदर्शन भनेका छन् । आफूले कुनै प्रकारको हिंसात्मक प्रदर्शन नगर्ने भने पनि विपक्षीहरूले घुसपैठ गरी प्रदर्शनकारीतर्फ ढुंगा प्रहार गरेको बताएका छन् । केही यथार्थ र केही अतिरञ्जनाका बीच यस्ता चर्चा फैलिने गर्छन् तर अहिलेका पचास वर्षमाथिका नेपालीहरूले थाहा पाएको कुरा चाहिँ के हो भने २०४६ सालको जनआन्दोलनका बेलादेखि नाराजुलुस, विरोध प्रदर्शन जस्ता कार्य एकपक्षले गर्न नदिने र अर्को पक्ष जसरी पनि नगरी नछोड्ने गर्दागर्दै हामी आजको अवस्थासम्म आइपुगेको छौं ।
यो लुकामारी दोहोरिन छोड्दैन र भोलिका पुस्तालाई यस्तो अवस्थाबाट मुक्त गराउने प्रयासमा पनि कोही लाग्दैनन् । हामी यस्तो अवस्थाबाट गुज्रिरहेका छौं । जुन कुरालाई आन्दोलन भन्ने गरिन्छ तीमध्ये केही आन्दोलन नै हुन् तर सबै आन्दोलन होइनन् र केही विरोध प्रदर्शनमात्र हुन् । आन्दोलनको कुनै निश्चित लक्ष हुन्छ । माग हुन्छन् । प्रदर्शन तत्कालको आबेगपूर्ण प्रतिक्रियाका रूपमा देखापर्छ र साम्य हुन्छ, अहिले भइरहेको रवि लामिछानेका पक्षको प्रदर्शन कुनै प्रणाली हटाउन वा स्थापित गर्न भइरहेको छैन । आफ्ना नेतालाई अनियमितताको आरोप लगाउन र कारबाही गर्न पाइँदैन भनेर भइरहेको प्रदर्शनमात्र हो यो । अरू ठूला र स्थापित दलहरूका वरिष्ठ नेताहरू पनि भ्रष्टाचारको अरोपमा लामो समयसम्म जेल बस्नुभएको छ र केही नेताहरू त अझैसम्म जेलमै रहनुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेताहरू गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्ताहरूलाई पनि भ्रष्टाचारको अभियोग लागेको थियो । उहाँहरू लामो समयसम्म जेलमा बस्नुभयो । खुमबहादुर खड्काको निधन भइसकेको छ । गोविन्दराज जोशीको बाँकी मुद्दाको फैसला हालैमात्र भएर उहाँ दोषी प्रमाणित हुनुभएको छ । कुनै पनि रोगी मानिसको उपचारपछि उसको रोग निको हुन्छ र ऊ पुनः निरोगी मानिस जसरी नै आफ्ना काममा फर्किन्छ । त्यसरी नै आपूmलाई लागेको अभियोगको दण्ड र जरिवाना तिरिसकेपछि पुनः ऊ राजनीतिमा फर्किन पाउनुपर्छ भनेर पनि आवाज उठेको हो तर त्यसलाई मान्य गरिएन । नेपाली कांग्रेसका धेरै नेताहरू भ्रष्टाचारको अभियोगमा पक्राउ पर्दा उहाँहरूको बचाउ गर्दै हाम्रा नेताहरूलाई छोडिदेऊ भनेर कोही सडकमा आएनन् ।
माओवादीका कृष्णबहादुर महरालगायतका नेताहरू पटकपटक पक्राउ पर्नुभएको थियो भने एमाले समर्थक टोपबहादुर रायमाझीहरू हाल यस्तै अभियोगमा जेलमा हुनुहुन्छ । उहाँहरूको गिरफ्तारीका बेला अहिले रवि लामिछानेलाई छोडिदे भनेको झैँ कोही सडकमा आएनन् । भ्रष्टाचारको अभियोग लागेर समातिएका व्यक्तिलाई छोडिदे भन्नु, सडकमा ओर्लिनुको अर्थ भ्रष्टाचार र अनियमितता गर्न छुट हुनुपर्छ भन्ने अर्थ लाग्छ । कोही दोषी छैन भने भोलिका दिनमा अदालतले त्यस्तो व्यक्तिलाई निर्दोष सावित गरेर छोडिदिइहाल्छ भन्ने कुरा सामान्यभन्दा सामन्य मानिसले बुझ्ने कुरा हो । रवि लामिछानेको पार्टी नेपालको राजनीतिमा पछिल्लो पटक उदाएको राजनीतिक शक्ति हो । पार्टी र नेता रविलाई नयाँ पुस्ताको समर्थन छ ।
यस पार्टीमा युवाहरूको बाहुल्य छ, यसो भन्दैमा रवि दोषी छैनन् भनेर सबैजनाले उहाँलाई अन्ध समर्थन गर्नाले भोलिका दिनहरूमा भ्रष्टाचारमा संलग्नहरूलाई बचाउ गर्दै अन्य पार्टीका समर्थकहरू सडकमा ओर्लिन सक्छन् । त्यस्तो बाटो खनिदिँनाले अन्य पार्टीका भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने बाटोसमेत बन्द हुन्छ । न्यायपालिकाको भरोसा गर्ने कि नगर्ने भन्ने सवाल हो यो । पञ्चायत कालमा जोगमेहर श्रेष्ठलाई बचाउन उहाँका समर्थक ‘हाम्रा नेतालाई छोडी दे’ भन्दै सडकमा आएको इतिहासको यो पुनरावृत्ति हो ।
अझै राष्ट्रिय स्वतन्त्र पार्टीले त प्रत्येक जिल्लाबाट १५० जनाका दरले आन्दोलनस्थलमा आउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
भ्रष्टाचारीलाई जोगाउन भिड देखाएर नारा जुलुस नै गर्नुपर्नेरहेछ भन्ने सन्देश संप्रेषण हुनपुगेको छ । पोखरामै जसरी रास्वपाको प्रदर्शन भइरहेको छ त्यहीँ सहकारी पीडितको आन्दोलन सुरु भएको छ । आम्नेसाम्ने भएर प्रदर्शन गर्दा भोलि कुनै अप्रिय घटना नहोला भन्ने प्रत्याभूति गर्न सकिँदैन । कानुनी राज्यमा कानुनको सम्मान गर्नु सबैभन्दा उचित हुन्छ । सभ्य र सालीन व्यवहार त्यसैलाई मान्न सकिन्छ । अहिले जति प्रदर्शन गरे पनि भोलि कसैलाई दोषी र निर्दोष सावित गर्ने अन्तिम आलम्ब भनेको त न्यायपालिका नै हो । यसलाई सबैले ख्याल गर्नु बुद्धिमत्तापूर्ण हुनजान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच